हिमालयन लाइफको नारायणगढ शाखाद्वारा १७ लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नारायणगढ शाखाले मृतक बीमितको परिवारलाई १७ लाख २३ हजार ५०० रुपैयाँ दाबी भुक्तानी गरेको छ। चितवनको भरतपुर महानगरपालिका–१४ निवासी बीमित कुम बहादुर तमाङको मृत्युपश्चात् उनकी श्रीमती यशु तमाङलाई बीमा दाबी बापत उक्त रकम प्रदान गरिएको हो ।
मृतक तमाङले २०७८ असार २१ गते नारायणगढ शाखाबाट सावधिक जीवन बीमा योजना अन्तर्गत बीमा गराएका थिए । उनले चार किस्ता बराबर ४ लाख ७९ हजार ७ सय ४८ रुपैयाँ बीमा शुल्क बुझाएका थिए । गत कात्तिक ३ गते बीमित तामाङको असामयिक निधन भएपछि उनका हकवालालाई बीमा दाबी रकमको चेक हस्तान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ।
बीमा दाबी रकम हस्तान्तरण कार्यक्रममा बागमती प्रदेशका उप–प्रमुख हरि शर्मा पौडेल, शाखा प्रबन्धक शिव शर्मा, एमडीआरटी दत्तप्रसाद, सिनियर एजेन्सी म्यानेजर हिमाल खनाल, एजेन्सी म्यानेजर इन्द्रप्रसाद अधिकारी, ज्ञानहरि खतिवडा, कला खनाल र एकबहादुर सिलुवाल उपस्थित थिए ।
कार्यक्रममा उप–प्रमुख पौडेलले जीवन बीमा बचत मात्र नभई आकस्मिक वित्तीय क्षतिबाट बच्ने सुरक्षित उपायसमेत भएको बताए । बीमा योजना अपनाउनुपर्ने आवश्यकताबारे जानकारी दिँदै उनले आर्थिक स्थायित्वका लागि बीमा महत्वपूर्ण रहेको उल्लेख गरे ।