कैफियतको भारी र अडिटरको रायबिना नै राष्ट्रिय बीमा कम्पनीको साधारणसभा आज बस्दै, सञ्चालकको बैठक भत्ता बढाउनेमा मुख्य जोड

२४ पुष २०८१, बुधबार ०५:५१

काठमाडौं । कैफियतको भारी र अडिटरको राय बिना नै सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको साधारणसभा आज बस्दैछ ।

कम्पनीको मंसिर २८ गते बिहीबार बसेको सञ्चालक समितिको निर्णयले दोस्रो वार्षिक साधारण सभा आज अनमोल क्याटरिङ्ग सर्भिस प्रालि, शंखमूल काठमाडौंमा आयोजना हुने भएको हो । अर्थमन्त्रालयको प्रेसरमा हतार हतार बार्षिक प्रतिवेदन पारित गरेर एजीएम सक्ने तरखर गरिरहेको कम्पनीले अन्य बिषयलाई थाती राख्दै संचालकको बैठक भत्ता बढाउने बिषयलाई मुख्य एजेण्डा बनाएको छ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३ / ७४ र आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ। जुन लेखापरिक्षणको सिद्धान्त विपरित पारित भएको वार्षिक प्रतिवेदन हुन् ।

अर्थमन्त्रालयका कर्मचारी मात्रै नभई अर्थमन्त्री विष्णु पौडेलको प्रत्यक्ष निर्देशनमा पारित भएको अडिट रिर्पोट नेपाल बीमा प्राधिकरणले समेत स्वीकृत भइसकेको छ ।

अर्थको दवावमा राष्ट्रिय बीमाकम्पनीभित्रका करोडौं रुपैयाँको हर हिसाब नमिलाई तयार पारिएको र प्राधिकरणले समेत ‘कैफियत’ जनाएर पास गरेको अडिट रिर्पोटमा दर्जनौं कैफियतहरु भेटिएको छ।सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी चरम घोटाला र भ्रष्टाचार रहेको हालै पारित गरिएको आव २०७३ देखि ०७५ सम्मका अडिट रिपोर्टहरु लेखामान विधि र वित्तीय अनुशासन विपरित तयार पारिएको छ ।

यतिसम्म घोटाला गरिएको छ कि बीमा शुल्क नै नलिई करोडौं रुपैयाँको बीमाको जोखिम वहन गरिएको छ । उधारो जारी गरिएको बीमा पोलिसीको हिसाब समेत नमिलेकै अवस्थामा लेखा परिक्षण सम्पन्न गरिएको छ । सोही लेखा परिक्षणलाई बीमा प्राधिकरणले अर्थमन्त्रालयको दबाबको कारण बाध्य भएरस्वीकृत गरिएको भेटिएको छ ।

पुनर्बीमा कम्पनीबाट प्राप्त गरेको दाबी वापतको रकमलाई प्राप्त गरेको समयमा लेखाङ्कन नगरी सिधै ग्राहकलाई भुक्तानी गर्ने समयमा मात्र लेखाङ्कन गर्ने गरेको र जसले गर्दा पुनर्बीमाबाट प्राप्त गर्दा र ग्राहकलाई भुक्तानी गर्दाको समय अवधिमा सिर्जना भएको विनिमय लाभ वा नोक्सानीमा सही लेखाङ्कन हुन नसकेको प्रतिवेदनमा खुलेको छ ।

चार्टर्ड एकाउन्टेन्ट कम्पनीले कम्पनीको राय व्यक्त नगरिनुको आधार भन्ने अनुच्छेदमा राय व्यक्त गर्न नकिसनेका लागि वर्णन गरिएका बिषयवस्तुहरुको महत्वको कारणले हुन जाने कुल प्रभावको पर्याप्त तथा उपयुक्त लेखापरिक्षण प्रमाणहरु प्राप्त गर्न असमर्थ भएको कारण नगरिएको धारण उल्लेख गरिएको छ । जुन लेखापरिक्षणको सिद्धान्त विपरित हो ।

आज बस्ने सभाले राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३/७४ र आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त नाफा ÷नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू माथि छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ।

महालेखापरीक्षक कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षकको आर्थिक वर्ष २०७३/७४ र आर्थिक बर्ष २०७४/७५ को नियुक्ति एवम् पारिश्रमिक अनुमोदन गर्ने बिषयमा पनि छलफल हुनेछ ।

महालेखापरीक्षक कार्यालयको परामर्श बमोजिम सञ्चालक समितिबाट आर्थिक वर्ष २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७८ / ७९ का लागि नियुक्त लेखापरीक्षकको नियुक्ति एंव पारिश्रमिक सर्मथन गर्ने एजेण्डा रहेको छ ।

सञ्चालकहरुको आर्थिक वर्ष २०७३ /२०७४ र २०७४/७५ को बैठक भत्ता एवं सुविधाहरु अनुमोदन गर्ने । सञ्चालकहरुको बैठक भत्ता रु.६,००० तथा सञ्चार तथा पत्रपत्रिका, इन्टरनेट र इन्धन खर्च मासिक रु.१२,००० प्रदान गर्न स्वीकृत गर्ने तयारी गरेको छ। बर्षैको अडिट रिर्पोट पास गर्न धौ धौ पर्ने कम्पनीले यस साधारणसभामार्फत यस्तो सुविधा पास गर्ने योजना बनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*