पहिलो त्रैमासमा ३.४ प्रतिशतको आर्थिक वृद्धिदर, वित्तीय र बीमा क्षेत्रको योगदान ५.७ प्रतिशत

२३ पुष २०८१, मंगलवार १८:४८

काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३.४ प्रतिशतको आर्थिक वृद्धि भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्ष २०८०।८१ को प्रथम त्रैमासको तुलनामा ३.४ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको हो ।

यो त्रैमासमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा कृषि उत्पादनमा भएको वृद्धि, विद्युत उत्पादन तथा वितरणमा भएको वृद्धि, पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको वृद्धि प्रमुख कारक देखिएका छन्।

यता, यातायात क्षेत्रमा भएको वृद्धि, स्वास्थ्य सेवामा भएको वृद्धि, सार्वजनिक प्रशासनका क्षेत्रमा भएको वृद्धिले समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ उन्मुख रहेको छ।चालु आर्थिक २०८१।८२ को प्रथम त्रैमास र अघिल्लो आर्थिक वर्षको सोही अवधिबीच क्षेत्रगत तुलना गर्दा अर्थतन्त्र मापन गर्ने १८ मध्ये एउटा सूचक मात्रै ऋणात्मक देखिएको छ।

त्यस्तै १७ वटा सूचक धनात्मक देखिएका हुन्। विद्युत तथा ग्याससँग सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै वृद्धिदर (२१.४ प्रतिशत) रहेको छ। यातायात तथा गोदाम क्षेत्र ६.७ प्रतिशत वृद्धिदर सहित दोस्रो धेरै वृद्धि हुने औद्योगिक क्षेत्र रहेको छ।

यी औद्योगिक क्षेत्रलाई पछ्याउँदै आवास तथा भोजन सेवा क्षेत्रले ६।३ प्रतिशत वृद्धिदर कायम गरेको छ। निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा बीमा क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ५.७ प्रतिशत हुने अनुमान गरिएको छ। प्रशासनिक सहयोगी सेवा क्षेत्रको वृद्धिदर ५.४ प्रतिशत र पेशागत वैज्ञानिक तथा प्राविधिक सेवाको वृद्धिदर ५.१ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ।

अर्थतन्त्रको दोस्रो ठूलो क्षेत्र थोक तथा खुद्रा व्यापार क्षेत्रको चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ०.५ प्रतिशतले मात्र वृद्धि हुने प्रारम्भिक अनुमान छ। कृषि तथा व्यापारजन्य वस्तुहरूको स्वदेशी उत्पादनमा भएको सामान्य वृद्धि तथा प्रमुख व्यापारजन्य वस्तुको आयातमा भएको सामान्य वृद्धिका कारणले गर्दा केही सुधार देखिएको उल्लेख गरिएको छ। यो त्रैमासमा औद्योगिक वस्तु उत्पादन क्षेत्रको मूल्य अभिवृद्धि २।३ प्रतिशतले धनात्मक रहन गएको छ।

सरकारले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*