गार्डियन माइक्रो लाइफको आइपीओमा २ अर्ब संकलन, १५ लाखले दिए आवेदन
काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओमा १ अर्ब ९९ करोड ९१ लाख ८९ हजार रुपैयाँ संकलन भएको छ । सिडिएस एण्ड क्लियरीङ्ग लिमिटेडका अनुसार आज (पुष २३ गते) साँझ ०५ः०६ बजेसम्मको अवधिमा कम्पनीको आइपीओमा १४ लाख ९२ हजार ७६९ जनाले १ करोड ९९ लाख ९१ हजार कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १८ लाख ४५ हजार कित्ता शेयर निष्कासन गरेको हो । यसबाट कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ संकलन गर्ने छ ।
आईपीओ खरिदका लागि आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १ लाख कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था गरिएको छ । यसमा पुस २४ गते अर्थात् भोलिसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो।
कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।