नेपालमा बीमा अभिकर्ता पेशा उत्कृष्ट छ, बिदेशमा झन धेरै सम्मानित छः नमिता न्यौपाने
काठमाडौं । लाखौंको बीमा अभिकर्ताको बीचमा फरक पहिचान बनाउन सफल नाम हो, चिफ एजेन्सी म्यानेन्जर बिराटनगरकी नमिता न्यौपाने । सानिमा रिलायन्स लाइफमा चिफ एजेन्सी म्यानेजरको रुपमा आबद्ध न्यौपाने अहिले टिओटी लक्ष्य पुरा गर्ने उत्कृष्ट महिला बीमा व्यवसायी समेत हुन् ।
लामो समयदेखि समाज सेवा, राजनीति र व्यवसायमा सक्रिय नमिता न्यौपाने घरायसी कामको जिम्मेवारीका साथै बीमा अभिकर्ता बनेर गाउँ गाउँमा पुगेर बीमा व्यवसाय चम्काइरहेकी छिन् ।
नेपालमा बीमा अभिकर्ता पेशा उत्कृष्ट पेशा भएको बताउने नमिता न्यौपाने नेपालमा भन्दा विदेशमा अझै बीमा अभिकर्ताहरुले सम्मान र इज्जत दुवै पाइरहेको धारणा राख्छिन् । थुप्रै अन्तर्राष्ट्रिय प्लेटफर्महरुमा बीमाकै माध्यमबाट सहभागी न्यौपाने बीमा अभिकर्ता भएर सम्मानजनक जीवन यापन गर्न सकिने धारणा राख्छिन् ।
राजनीति र समाजसेवामा समर्पित नमिताले पार्ट टाईमको बीमा अभिकर्ताको पेशाले जीवनलाई नयाँ उचाईमा त पुर्याएको त छ नै, अन्य बीमा व्यवसायमा लागेकाहरुका लागि पनि सफल उदाहरण बन्न भ्याएकी छिन् ।
स्कुल, कलेजदेखि नै विभिन्न पार्टी, संघ–संगठनमा आवद्ध हुन रुचि राख्ने नमिता सफल. राजनीतिज्ञ पनि हुन् । उनै न्यौपानेसँग बीमा अभिकर्ता पेशासँग सम्बन्धित रहेर बीमापोष्टकी रिना खत्रीले गरेको कुराकानीः
० बीमा क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
– म बीमा क्षेत्रमा २०७४ सालदेखि आवद्ध भएकी हुँ । मैले शुरुका दिनहरूमा आर्थिक वर्ष २०७४७५ र २०७५/७६ सम्म बीमा कम्पनीमा काम गरेकी थिएँ । अहिले म सानिमा रिलायन्स लाइफ इन्स्योरेन्मा आवद्ध छु ।
शुरुमा यति धेरै सफल हुन्छु जस्तो लागेको थिएन । साथीहरूको लहैलहैमा लागेर यो क्षेत्रमा प्रवेश गरेकी थिएँ । तर अहिले यो पेशाबाट पनि आफ्नो पहिचान बनाउनु पाउँदा निकै खुसी लागेको छ ।
० बीमा क्षेत्रमा कसरी स्थापित हुनभयो ?
– कुनै पनि काम गर्न त्यति सजिलो छैन । हामी कुनै क्षेत्रमा लागिसकेपछि कसरी अगाडी बढ्ने भन्ने कुराको निर्धारण आफैँले गर्नुपर्छ । अझ यो जीवन बीमा क्षेत्रमा बजारमा गएर अनेकौं व्यक्तिलाई सम्झाएर, बुझाएर बीमा गराउनु अत्यन्तै चुनौंतीपूर्ण काम हो । म आफू शुरूमा योजना बनाउछु र बनाएको योजना पूरा गर्न म आफैँसँग प्रतिस्पर्धा गर्छु । म आफ्नो लक्ष्य प्राप्तिका लागि सफल हुन्छु भनेर विश्वस्त छु । मेरो प्रतिस्पर्धा अरुसँग होइन आफैसँग हो । यही सूत्रले मैले आजको सफलता हासिल गरेको हुँ ।
० आज जुन स्थानमा हुनुहुन्छ शुरूवाती दिनमा यहाँसम्म पुग्छु भन्ने कल्पना गर्नु भएको थियो कि थिएन ?
– जब म बीमा अभिकर्ताको पेशामा लागेँ शुरूमा ९१ हजार प्रिमियम तिरेर छोरीलाई १५ लाखको बीमा गराएकी थिएँ । मैले काम शुरू गर्दा आर्थिक वर्ष सकिनै लागेको थियो, त्यो बेलामा ऐजेन्सी मेनेजर बन्न पनि ७÷८ लाख रुपैयाँ प्रिमियम राख्नुपथ्र्यो । मलाई त्यति धेरै पैसा बीमाबाट गर्न गर्न सक्दिनँ कि भन्ने लागेको थियो । तर काम गर्दै जाँदा तीन महिनाको दौरानमा करोडभन्दा माथिको सेल्फकोडबाट बिजनेश गरेर त्यो आर्थिक वर्षकै सबैभन्दा धेरै बिजनेश गर्ने पहिलो बीमा अभिकर्ता बन्न सफल भएकी थिएँ । शुरूमै सफल अभिकर्ता बनेको कुरा सुन्दा म आफैँलाई अचम्म लाग्यो, कसरी सफल गर्ने होला यसो गर्न भन्ने लाग्थ्यो । तर, काम गर्दै जाँदा निश्चित अठोट लिएर अघि बढेमा सजिलै सफलता पाइने रहेछ भन्ने कुरा थाहा भयो । काम गर्न महत्वकांक्षा चाहीँ अवश्य हुनु पर्दोरहेछ भन्ने महशुस त्यसबेला देखि हुनु थाल्यो ।
शुरूमा म एउटा सामान्य अभिकर्ता जसलाई शाखाले मात्र चिन्दथ्यो, अहिले यहाँसम्म पुग्न सफल भएको छु । बीमा क्षेत्रमा मिहिनेत गर्ने हो भने सफलता अवस्य पाइन्छ । म सन् २०२० को एमडीआरटी हुँ । २०२१ मा सिओटी भए, २०२२ मा टीओटी भए, २०२३ मा एमडीआरटी भए, २०२४ मा फेरी टीओटी भएँ र २०२५ मा पनि टीओटी नै भएँ । काम प्रतिको इमान्दारिता र लगावले यो सम्भव भएको हो भन्ने मलाई लागेको छ ।
० तपाई सफल अभिकर्ताको रुपमा परिचित हुनुहुन्छ, यसको श्रेय कसलाई दिन चाहनु हुन्छ ?
– शुरूमा त म आफैँ हुँ । म आफैँले आफूलाई अघि बढ्न प्रेरित गरेर यहाँसम्म आइपुगेकी हुँ । दोस्रोमा मेरो टिम जसले मलाई सँधै साथ, सहयोग र हौसला प्रदान गर्यो अनि तेस्रोमा मेरो परिवार जसको साथ सहयोग पाएर यो क्षेत्रमा आफूलाई निरन्तर रुपमा उभ्याउन सफल भएँ ।
काम गर्दै जाँदा अवरोधहरु आउँने रहेछ, खुट्टा तान्नेहरु पनि धेरै नै भेटिन्छन् तर त्यस्ता कुराहरु सोचेर बस्न थालियो भने अघि बढ्नै सकिन्न । सफल बन्नका लागि १० वटा विकल्प बनाउनुपर्छ, एउटा विकल्प असफल भए अर्काे विकल्पमा जानुपर्छ र त्यसले पनि सफललता दिन सकेन भने अर्कै विकल्पमा जानुपर्छ । एउटै कुरामा रुमल्लिएर बस्नु हुँदैन । यही कुरा मैले सिके र लागू पनि गर्दै आएको छु ।
० एउटा महिला घर छोडेर व्यवसायका लागि बाहिर निस्किदा केही समस्या त पक्कै हुन्छ होला, तपाईँले कत्तिको भोग्नुभएको छ ?
– समस्याहरू त धेरै नै हुन्छन् समस्यासँगै समाधानको उपाय पनि हुन्छ । म राजनीतिकर्मी महिला पनि हो, मैले पार्टीमा पनि समय दिनुपर्छ, म गृहिणी पनि हुँ, म आमा पनि हुँ । मेरा बालबच्चाहरु पनि छन् । परिवारलाई पनि समय दिनुपर्छ व्यापारलाई पनि समय दिनुपर्छ । सबैभन्दा ठूलो कुरा समय व्यवस्थापन कसरी गर्ने भन्ने हो । र, त्यसपछि परिवार र सँगै काम गरेको टिमले कत्तिको समर्थन गरेको छ भन्ने पनि हो । मलाई यी सबै कुरा मिलेको कारणले यहाँसम्म आइपुग्न सफल भएको छु ।
० बीमा अभिकर्ता पेशामा निश्चित समय नहुने भएकाले महिलाका लागि बहुउपयोगी छ भनिन्छ नि, यसमा तपाईको धारणा के छ ?
– हामीले जुनसुकै व्यवसाय गर्दा पनि समयलाई ध्यान दिनुपर्छ । अभिकर्ता पेशा त आफ्नो पृष्ठभूमिले पनि धेरै सहयोग पुर्याउँछ । जस्तै म राजनीतिक पृष्ठभूमिको भएकाले राजनैतिक कार्यक्रममा जाँदा साथीहरूलाई बीमाको बारेमा बताएर बीमा गर्न हौसला दिन्छु, समाजसेवीको पनि आफ्नै क्षेत्र हुन्छ, त्यहाँ आफ्ना साथीभाइलाई बुझाएर बीमा गराउन सकिन्छ । बीमितहरू यसरी नै जोडिने हुन् । आफ्नो छुट्टै पृष्ठभूमि भएका अभिकर्ताहरू सोही पृष्ठभूमीबाट बीमित तान्ने हो । त्यस्ता व्यक्ति नै सफल हुन्छन् ।
० आम बीमितबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
– प्रतिक्रिया मिश्रित रुपमा आउँछ । कसैले बीमा भनेको राम्रो हो, बीमा त गर्ने नै हो भन्नु्हुन्छ, कसैले बीमा भनेको कामै छैन, यो एजेन्टलाई मात्र फाइदा हुन्छ, भन्नुहुन्छ, कसैले ठीकै छ म बुझेर निर्णय गर्छु भन्नुहुन्छ । हामी अभिकर्ताले यी सबै धारणालाई सकारात्मक रुपले मनन् गरेर बीमा गराउने योजना बनाउनुपर्छ । बजारमा तीन प्रकारका बीमितहरु हुन्छन् । थोरै प्रतिशतमा हामी जस्ता व्यवसायिक अभिकर्ता छौं, जसले यसलाई व्यवसायिक रुपमा लिएर निरन्तर काम गरिरहेका छौं । अर्काे प्रेसरको भरमा काम गर्ने अभिकर्ताको जमात पनि छन् । अर्काे आफ्नो घरपरिवारको बीमा गरेर छाडिदिने अभिकर्ताहरु पनि छन् । बीमा अभिकर्तालाई नै व्यवसाय बनाएर, नेपाल सरकारलाई करोडौं कर तिरेर कानूनी रुपमै आयआर्जन गर्ने अभिकर्ताहरु झन् थोरै छन् ।
बजारमा बीमा अभिकर्तालाई हेर्ने नजर पनि फरक छ । यही कुरा भारत, चाइना जस्तो देशमा फरक छ । हामी एमडीआरटी भएर अन्तरर्राष्ट्रिय कार्यक्रममा जाँदा अन्य देशका बीमितहरूको धारणा सुन्दा आहा, कति राम्रो त्यहाँ अभिकर्तालाई गर्ने व्यवहार भन्ने लाग्छ । नेपालमा भने त्यसको ठीक विपरित छ । यसमा नेपाल सरकार र बीमा प्राधिकरणले सुधारको काम गनु पर्छ ।
० सरकारले जारी गर्न लागेको बीमा नियमावलीमा बीमा अभिकर्ताको माग सम्बोधन भएन भन्ने छ नि ?
– बीमा नियमावलीको कुरा हामीले सम्बन्धित ठाउँमा आवाज उठाएका पनि छौं । हामी दलाल होइनौं मध्यस्तकर्ता मात्र हो । बीमित र कम्पनीलाई जोड्ने पुलको रुपमा काम गर्ने हामीलाई कसरी दलाल भन्न मिल्छ र ? यो कुरा नियमनकारी निकायमा रहने अधिकारीमा भर पर्ने कुरा हो । यसमा अभिकर्ता संघले पनि सुधारका लागि पहल गरिरहेको छ । सम्भवत् सच्चिएर आउँछ होला ।
यो क्षेत्रलाई सुधानुपर्नेमा नीति नियम बनाउने स्थानमा भएकाले यो विषयलाई सम्वेदनशील रुपमा नलिएको देखिन्छ ।
० बीमा प्राधिकरणबाट लाइसेन्स लिएका सबै बीमा अभिकताहरु सक्रिय रुपमा काम गरिहरहेका छैनन्, यस विषयमा के भन्न चाहनु हुन्छ ?
– जुनसुकै कम्पनीका काम गर्ने अभिकर्ताको आँकडा सम्बन्धित कम्पनीले नै निकाल्नुपर्छ । एउटा अभिकर्ताले निश्चित समयमा कसरी काम गरिरहेको छ र त्यो अभिकर्ता व्यावसायिक अभिकर्ता हो वा हैन ? भनेर एकिन गर्नुपर्दछ । परिवारको मात्र बीमा गराउन र प्रेसरको आधारमा मात्र अभिकर्ता बनेको हो की भनेर छानविन गर्नुपर्छ । अभिकर्ताले गरेको व्यापारले पनि यो कुरा थाहा पाउन सकिन्छ । अहिले बीमा प्राधिकरणले अभिकर्ताका लागि परीक्षा प्रणाली लागू गर्नु सकारात्मक कदम पनि हो । पहिले त एसएलसी पासको सर्टिफिकेट पेश गरेर दस्तुर तिरेपछि घरमै अभिकर्ता लाइसेन्स आउँथ्यो । अहिलो यसलाई सुधार गरेर कम्तीमा केही प्रश्न भएपनि सोध्ने नियम लागू भएको छ, यो सकारात्मक छ ।
यो पेशालाई थप मर्यादित बनाउन अन्य मापदण्ड पनि बनाउनुपर्ने देखिन्छ, बीमा प्राधिकरणका नयाँ अध्यक्षज्युले बीमा अभिकर्ताहरुलाई बार्षिक रुपमा पुनर्ताजगी तालिम अनिवार्य भन्नु भएको छ । जुन सकारात्मक छ ।
० हरेक सेक्टरमा पदहरूको तह हुन्छ तर अभिकर्ता पेशामा प्राधिकरणले यस्को नीति नियम तोकेको छैन ?
– अन्य पदहरूमा तह वा स्तर भएजस्तो अभिकर्ताको पनि ए क्लास बि क्लास सी क्लास जस्ता तहको व्यवस्था प्राधिकरणले गर्नुपर्छ भन्ने मलाई लाग्छ । यो विषयलाई प्राधिकरणले प्राथमिकता दिनुपर्ने हो । केही बीमा कम्पनीहरूले चाही ग्रेड वा क्लब छुट्टाएर तहगत वर्गीकरण गर्न प्रयास गरेका पनि छन् । इन्टरनेशनल मापदण्ड अनुसार एमडीआरटी, टिओटी, सीओटी जस्ता तह हुन्छन् तर यसलाई प्राधिकरणले नै नयाँ मापदण्ड बनाएर वर्गीकरण गर्नुपर्छ । ९० प्रतिशत मार्केटको भार बोक्ने अभिकर्तालाई प्राधिकरणले हौसला दिँदै वर्गीकरण गर्नु जरुरी भन्ने ठान्छु ।
० अभिकर्ता बन्न इच्छुक नयाँ पिँढीलाई कसरी आकर्षित गर्न सकिन्छ ?
– सबैभन्दा पहिला त बीमा अभिकर्ता पेशालाई पनि अन्य क्षेत्रमा जस्तो सुविधा दिने व्यवस्था गर्नुपर्छ । अभिकर्ता भएर १० वर्ष २० वर्ष यो क्षेत्रमा काम गरिसकेपछि अवकाश लिने बेलामा कम्तीमा एउटा कर्मचारी संचय कोषको स्थापना गरेर सरकारी सेवामा जसरी एकमुष्ट रकम दिने व्यवस्था हुनुपर्छ । यो क्षेत्रमा गर्न सकुञ्जेल हुन्छ सकिएन भने रोजीरोटी खोसिन्छ भन्ने धारणा भएका कारण पनि यो क्षेत्रमा त्यति रुचि छैन । यसको व्यवस्था गर्न बीमा प्राधिकरणले नै पहल गर्नुपर्छ । त्यसोभए मात्र नयाँ पिँढीहरू यसतर्फ आकर्षित हुन्छन् । प्राधिरकणले ठिक उल्टो अभिकर्तालाई दिइरहेको सेवा सुविधामा पनि कटौती गरिरहेको छ । यस्तो कदमले सक्रिय अभिकर्ता नै यो क्षेत्रबाट पलायन हुने स्थिति आउछ भने नयाँ पिँढी कसरी आकर्षित हुन सक्छन् र ?
० बीमा प्राधिकरणले कम्पनीसँग लगातार अन्तरक्रिया गरिरहन्छ । अभिकर्तासँग खासै छलफल गरेको पाइदैन । यसले कस्तो असर पर्छ ?
– पहिले त बीमा अभिकर्ता संघले कत्तिको प्रभावकारी भूमिका खेलिरहेको छ भनेर प्रश्न तेर्सिन्छ । त्यसपछि कम्पनीले पनि अभिकर्तासँग समन्वय गरेर प्राधिरकणमा समस्या राख्नुपर्नेमा त्यो पनि गरेको देखिँदैन । अर्काे हामी सबै कम्पनीका अभिकर्ता एकजुट भएर आवाज उठाएमा प्राधिकरण हाम्रो माग सम्बोधन गर्न बाध्य हुन्छ । अहिले त अझ नयाँ अध्यक्ष आउनुभएको छ, उहाँले सबैसँग मिलेर यो क्षेत्रमा देखापरेका समस्या चिर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको पनि छ । त्यसैले क्याविनेटमा रहेको बीमा नियमावलीमा अर्थ मन्त्रालय र सम्बन्धित पक्षले अभिकर्ताको माग सम्बोधन गर्छ भन्नेमा हामी आशावादी छौं ।
० बीमा अभिकर्ताहरुको हित र बीमा क्षेत्रको समृद्धिका लागि बीमा प्राधिकरणमा नयाँ आउने अध्यक्ष कस्तो हुनुपर्छ जस्तो लाग्छ?
– अब आउने नयाँ अध्यक्षले कसैको फाइदा भन्दा पनि बजारको माग र मनोविज्ञान अनुसार समग्र बीमा क्षेत्रको समृद्धि चाहने, नीति नियम बनाउने अध्यक्ष आउनुपर्छ ।
बीमाको बजार बुझेको व्यक्तिले बीमा प्राधिकरणको अध्यक्षको काम कर्तव्य र अधिकारसहित प्राधिकरणलाई पद हाक्नुपर्ने हुनेपर्छ भन्ने लाग्छ ।
० आर्थिक मन्दीले बीमा क्षेत्रमा कस्तो प्रभाव पार्यो ?
सम्रग अर्थतन्त्रमा परेको आर्थिक मन्दीबाट बीमा क्षेत्र अछुतो रहन सकेन । बीमा कम्पनीमा यसले प्रत्यक्ष असर पारेको छ ।तर नकारात्मक मात्रै भन्दा सकारात्मक पक्ष पनि हामीले कोलाउनु पर्छ भन्ने मलाई लाग्छ ।
आर्थिक मन्दीले ठूला बीमा पोलिसी बिक्रिमा गिरावट आएपपनि, बीमा अभिकर्ताहरु साना बीमा पोलिसी बिक्रि गराउनतर्फ बाध्य भएर लागेको देखिन्छ ।
हिजोको दिनमा एक दर्जन ठूला बीमा पोलिसी सेल गरेर टार्गेट पुराउने बीमा अभिकर्ताहरु आज साना बीमा पोलिसी कलेक्ट गर्न लागिपरेका छन् । ग्रास रुट लेभलसम्म पुगेर बीमा गराउने बानीको विकास भएको छ।
व्यवसाय विस्तारमा कमी भएपनि गा्रउन्ट लेभलको बीमामा अभिकर्ताहरु सक्रिय भएका छन् । आर्थिक मन्दीपछिको सकारात्मक सुधार त्यस पक्षलाई पनि लिन सकिन्छ ।
० हाल बजारमा बिक्री वितरण भइरहेको बीमा पोलिसीहरुबारे भन्नुपर्दा के भन्नुहुन्छ ?
– एकल बीमा गणना गर्ने हो भने नेपाली बीमा बजार खाली छ । नत्र प्रायः दोहोरिएका बीमित हुन् । अझ हामीले पनि ठूला–ठूला प्रिमियमको मात्र बीमा गराउन लागिपरेका छौं । हामीले न्यूनतम् मूल्यको बीमा गराउन पनि उत्तिकै अग्रसर हुनुपर्छ र बजार स्वस्थ प्रतिस्पर्धामा चल्नुपर्छ ।
० हिजो र आज बीमाप्रति बीमितहरुको बुझाईमा के फरक छ ?
– पहिले नेपालको अर्थतन्त्र राम्रो थियो । जग्गा व्यवसाय, होटल व्यवसाय, पर्यटन व्यवसाय, ठेक्कापट्टा लगायतबाट मानिसले मनग्य आम्दानी गरेका थिए । अहिले बजारमा तरलता छ तर लगानीको क्षेत्र छैन । हिजो अर्थतन्त्र राम्रो हुँदा मैले एकैजनाबाट ५ देखि ७ करोडको पोलिसी ल्याएको थिएँ । अहिले अर्थतन्त्र सुस्त हुँदा हिजो करोडौंको बीमा गर्नेले अहिले ५० लाख प्रिमियम ल्याउन सक्दैन ।
यसको एउटा फाइदा चाहीँ के हो भने यस्तो भएपछि हामी गाउँघर मै जानुपर्ने हुन्छ । १० हजार २० हजार प्रिमियम उठाउन पनि जानुपर्ने भएको छ । यसले सकारात्मक सुधार पनि ल्याएको छ । मैले सबैभन्दा बढी बीमा ७ करोडसम्मको एकैजनाबाट बीमा गरेको छु । सबैभन्दा सानोमा ७५ हजार जसको ७ हजारसम्मको प्रिमियम हुन्छ त्यस्तो बीमा पनि गरेको छु ।
० एमडीआरटी, टीओटी, सीओटीमा कतिपटक सहभागी हुनु भयो ? यस विषयम भ्रम पनि सिर्जना भएको छ के भन्न चाहनु हुन्छ ?
– म बीमा क्षेत्रमा जोडिएपछि एउटा भर्चुअल समेत गरी सातवटा कार्यक्रममा सहभागी भएकी छु । मैले बुझे अनुसार यो विश्वका अनेक देशमा हामीले जस्तै काम गर्ने अभिकर्ताहरूको सामाजिक संगठन हो । यसको केन्द्रीय कार्यालय यूकेमा छ । यसमा लाखौं अभिकर्ता सदस्य बन्ने होडमा लागेका हुन्छन् यसको मापदण्ड देशअनुसार फरक–फरक रहेको छ । नेपालको लागि भिन्नै मापदण्ड छ । जनवरी फस्टदेखि डिसेम्बर अन्तिमसम्मको व्यवसाय गणना गरिन्छ । प्रत्येक वर्ष यसको टार्गेट बढेको हुन्छ । यसका तीनवाट स्टेप हुन्छ ।
अहिले २०२५ को लागि एमडीआरटी बनेको भनेर जति पनि विवरण आइरहेका छन् ति अभिकर्ताहरूले जनवरीदेखि डिसेम्बरसम्ममा निश्चित लक्ष्य पूरा गर्न सफल भएका हुन् । यो पहिलो स्टेप हो ।
दोस्रोमा अब सम्भवतः छिटै एमडीआरटीको रजिष्ट्रेसन खुल्छ, त्यसमा एमडीआरटीको ६०० डलर, सीओटीको अलिकति बढी र टीओटीको लगभग १०००/११०० डलर तिरेर रजिष्टर्ड हुनुपर्छ । त्यसपछि चिठी आउँछ र बल्ल सदस्यता पाउने हो । जबसम्म क्वालिफाइड भएको प्रमाण मिल्दैन तबसम्म कोही एमडीआरटी हुन सक्दैन ।
तेस्रोमा हामी कार्यक्रममा सहभागी हुने हो । एमडीआरटी पूरा गर्ने साथीहरू धेरै हुनुहुन्छ अनि रजिष्ट्रेशन थोरैले गर्नुहुन्छ र सहभागी अत्यन्त न्यून् साथीहरू मात्र भएका हुन्छन् । हामीले यसलाई अवसरको रुपमा लिनुपर्छ । मेरो भनाइ के छ भने एमडीआरटी बनेपछि रजिष्ट्रेशन गर्नुहोस् र कार्यक्रममा सहभागी अवस्य हुनुहोस् त्यहाँ अनेक अभिकर्ताको अनुभव सुन्न पाइन्छ त्यसले व्यवसायिक रुपमा धेरै नै मद्दत पुर्याउँछ ।
० अन्त्यमा, बीमितले बीमा गर्दा कस्तो पोलिसी चयन गर्नुपर्छ ?
– अभिकर्ताहरूले धेरै प्रकारका पोलिसी लिएर बीमितकहाँ जानुभएको हुन्छ । १४ वटा कम्पनीबाट आएका अभिकर्ताले ल्याएको पोलिसी फरक–फरक हुने भएपनि सबै पोलिसको एउटै उद्देश्य भनेको जोखिम बहन र बचत नै हो । जुन पोलिसी लिएपछि फरक पर्ने होइन । बीमितले आफ्नो आर्थिक अवस्था अनुसार बीमापोलिसी परिपक्व हुँदासम्म प्रिमियम तिर्न सक्छु भन्ने लाग्ने पोलिसी मात्र खरिद गर्न म सु्झाव दिन्छु ।
साथै अभिकर्तालाई पनि बीमितको अवस्था बुझेर र बीमितले बीमालेख परिपक्व हुनेबेलासम्म प्रिमियम तिर्न सक्ने आधार केलाएर मात्रै बीमा गराउन सुझाव दिन्छु ।
भिडियो संवाद
https://www.youtube.com/watch?v=aooRsVvQqlU