बजारमा हरियालीको निरन्तरताः परिसूचक २६४६ बिन्दुमा, फाइनान्समा देखियो चमक
काठमाडौँ । शेयर बजारमा हरियाली यात्राले निरन्तरता पाएको छ । बजारमा आज लगातार पाँचौ दिन समेत सुधार आएको हो । पछिल्लो केही दिनयता देखिएको सुधारले लगानीकर्ताको मनोबललाई मजबुत बनाएको छ र यसले आगामी दिनमा सेयर बजारमा थप सकारात्मक प्रभाव पर्न सक्छ भन्ने आशा गरिएको छ ।
वर्तमानमा, नेपालको वित्तीय प्रणालीमा उच्च स्तरको तरलता रहेको भएपनि बैंकहरूले कर्जा प्रवाहमा विशेष प्रगति गर्न सकेका छैनन् । ब्याजदरहरू निरन्तर घटिरहेको छ र अधिक तरलताका कारण केन्द्रीय बैंकले वित्तीय प्रणालीबाट नियमित रूपमा पैसा निकालिरहेको छ । सस्तो ब्याजदर र तरलतामा सुधारले सेयर बजारमा सकारात्मक प्रभाव पर्ने सम्भावना बढेको छ ।
नियामक निकायले पनि शेयर बजारको नियमनका लागि सक्रिय कदम चालिरहेको छ, जसमा माफियाहरूको गतिविधिमा कडाइ देखाइएको छ । वित्तीय अवस्था कमजोर रहेका केही कम्पनीहरूलाई राष्ट्र बैंकले कारबाही थालेको छ, जसले बजारको व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
साथै, अनुभवी लगानीकर्ताहरूले आम लगानीकर्तालाई सबल वित्तीय सूचक भएका, लगातार लाभांश दिने, र संस्थागत सुशासन राम्रो भएका कम्पनीहरूमा लगानी गर्न सल्लाह दिएका छन्। यस्तो लगानी रणनीतिले केवल लाभांशको लाभ मात्र होइन, बजारमा वृद्धिको समयमा पुँजीगत लाभ पनि प्राप्त गर्न सकिन्छ । यसले शेयर बजारमा दीर्घकालीन सकारात्मक परिणामहरू निम्त्याउने अनुमान गरिएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.१६ अकंले बढेर २६४६.८४ बिन्दुमा कायम भएको छ । आज ३०५ कम्पनीको १ करोड २० लाख ८१ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३८ करोडको शेयर कारोबार भएको हो ।
यसदिन ८ उपसूचकमा हरियाली देखिएको छ । आज फाइनान्स समूहको सर्वाधिक २.६५ प्रतिशत, विकास बैंक समूहको ०.८० प्रतिशत, हाइड्रोपावर समूहको ०.४२ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज ३ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । मंगलबार १२६ कम्पनीको शेयर मूल्य बढ्दा १०७ कम्पनीको घटेको छ ।