सिजि मोटर्सले बेच्दै आएको नेटा र डायुनको भविष्य संकटमा, पाटर्सनै नपाउने डरले सशंकित उपभोक्ता

२२ पुष २०८१, सोमबार १७:५२

काठमाडौँ । नेपाली अटो बजारमा चौधरी ग्रुपले बिक्री वितरण गरि रहेको दुई वटा ईभी गाडी ब्रान्डमा संकट आइपरेको छ । चौधरी ग्रुप अन्तर्गतको सिजि मोटर्सले बिक्री गर्दै आइरहेको नेटा र डायुनको उत्पादन नै बन्द भएपछि उपभोक्ता सशंकित हुनु पुगेका हुन् । सस्तो मूल्य र आकर्षक विशेषतासहित नेपाली बजारमा प्रवेश गरेका यी गाडीहरूले अब उपभोक्ताहरूलाई आवश्यक बिक्रीपछिको सेवा, मर्मत र स्पेयर पाट्र्स उपलब्ध गराउन नसक्ने देखिएको छ ।

चीनको होजोन अटोले नेटा ब्रान्डलाई बन्द गर्ने निर्णय गरेपछि यो समस्या झनै गम्भीर बनेको हो । २०१८ मा स्थापना भएको होजोन अटोले झेजियाङस्थित आफ्नो मुख्य उत्पादन केन्द्र गत अक्टोबरमा बन्द गर्यो । कम्पनीले आन्तरिक आर्थिक अस्थिरता, बिक्री गिरावट र कमजोर गुणस्तरका कारण यस्तो निर्णय गरेको बताइएको हो । झेजियाङबाट प्राप्त रिपोर्टअनुसार कम्पनीले कर्मचारीको तलब समयमा भुक्तानी गर्न असफल भएको र उत्पादनमा बाधा उत्पन्न भएको छ ।

कम्पनी वित्तीय अवस्थामा कमजोर भएपछि चीनको स्थानिय सरकारले गरेको सहयोगले समेत कम्पनी माथि सकेन् । गुणस्तरमा नै कमजोर रहेका गाडि उत्पादन हुँदा नेटाले बजार पाउनै छोडेको छ । बिक्री घटेपछि कम्पनी थप टाट पल्टिने अवस्थामा आइपुगेको छ ।

तर, नेटाको नेपालको बिक्रेता सिजि मोटर्सले हालसम्म यो बारे कुनै जानकारी दिएको छैन । नेटा ईभीलाई प्रिमियम इलेक्ट्रिक गाडीका रूपमा प्रचार गरिएको थियो । आधुनिक विशेषतासहित सस्तो मूल्यमा उपलब्ध हुने नेटा गाडीहरू प्रारम्भमा लोकप्रिय भए पनि हाल उत्पादन बन्द भएसँगै ग्राहकले सेवा केन्द्र, पाट्र्स र मर्मतसम्भारका सेवाहरू पाउन कठिनाइ भोग्नुपर्ने अवस्था आएको छ । कम्पनीका पाट्र्स अब पाउनै सकस हुने देखिएको हो । चीनका केही स्टार्टअप निर्माता कम्पनीहरूबाट चौधरी ग्रुपले गाडि खरिद गर्दा उद्योग धरापमा परेको प्रभाव नेपालमा परेको हो ।

डायुन, अर्को ईभी ब्रान्ड जसलाई चौधरी ग्रुपले नेपालमा भित्र्याएको थियो । यो कम्पनी आधिकारिक रूपमा विलय भएको छ । वित्तीय रुपमा सवारी उत्पादन गर्न तथा कम्पनीको नियमित सञ्चालनमा नै संकट आएपछि कम्पनीले चीनको आधिकारिक निकायमा ‘ब्यांकरप्सी’ फाइल गरेको हो ।

डायुन ब्रान्डले नेपाली बजारमा गत वर्षमात्र प्रवेश गरेको थियो । सीजी मोटर्सले डायुनका गाडीलाई सस्तो र नवीन विकल्पका रूपमा प्रचार गरे पनि अहिले उत्पादन बन्द भएपछि ग्राहकले आवश्यक बिक्रीपछिको सेवा र स्पेयर पाट्र्स प्राप्त गर्न समस्या भोगिरहेका छन् । डायुनको ह्याचब्याक मोडल युइहु भदौमा मात्र नेपाली बजारमा भित्रिएको थियो । तर, अब ती गाडीका मालिकले सेवा केन्द्रहरू अभाव तथा मर्मत सामग्रीको अभावका कारण समस्या भोग्नुपर्ने देखिएको छ ।

कम्पनीको कमजोर आर्थिक अवस्थामा सबै उत्पादन प्लान्टहरू प्रभावित भएका छन् । नेपालमा करिब ३० वटा डायुनका गाडि आइसकेका छन् । यसले नेपाली बजारमा कम्पनीको दीर्घकालीन उपस्थिति र ग्राहक विश्वासमा ठूलो धक्का पुर्याएको छ ।

नेपाली बजारमा यसअघि पनि चौधरी ग्रुपले केवाईसी ब्रान्डको विद्युतीय भ्यान बिक्री गरेको थियो । तर, सो ब्रान्डको विश्वसनीयता र सेवा पनि विवादमा परेको थियो । लगातार विद्युतीय सवारीसाधनमा यस्तो समस्या देखिएपछि चौधरी ग्रुपले भित्र्याएका ब्रान्डहरू प्रति ग्राहकको विश्वास कमजोर हुँदै गएको छ ।

नेटा र डायुन सवारी साधन खरिद गरेका ग्राहकहरूले अहिले बिक्रीपछिको सेवा, पाट्र्स उपलब्धता र वारेन्टीका सवालमा ठूलो समस्या झेलिरहेका छन् । नेटा ईभीको उत्पादन बन्द भएपछि गाडीको मर्मत तथा संचालनका लागि आवश्यक सामग्री पाउन नसकिने स्थिति आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*