देशैभरका सार्वजनिक यातायातको भाडा बढाउने सरकारको निर्णय

२२ पुष २०८१, सोमबार १७:३५

काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा बढाउने निर्णय गरेको छ। यो निर्णय आजैदेखि लागू हुनेछ। यातायात व्यवस्था विभागका अनुसार यात्रुबाहक र मालबाहक सवारी साधनका भाडामा वृद्धि गरिएको हो।

ताजा भाडादरअनुसार यात्रुबाहक सवारीको भाडा ३.३० प्रतिशतले बढाइएको छ। यस्तै, पहाडी मार्गमा सञ्चालन हुने मालबाहक सवारीको भाडा ०.८१ प्रतिशत र तराई मार्गका लागि ०.०५ प्रतिशतले बढाइएको विभागले जनाएको छ।

यसपटक दुई वा सोभन्दा बढी प्रदेशलाई जोड्ने राष्ट्रिय स्तरका सार्वजनिक सवारी साधनका भाडामा समायोजन गरिएको छ। विभागका अनुसार यसअघि ३१ साउन २०८० मा भाडा समायोजन भएको थियो।

भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पुस ११ गते भाडा समायोजनका लागि सहमति प्रदान गरेपछि नयाँ भाडादर लागू भएको हो। विभागले सवारी सञ्चालनसँग सम्बन्धित खर्च, लगानी, र सरोकारवाला पक्षहरूसँगको परामर्शका आधारमा यो निर्णय लिएको स्पष्ट पारेको छ।

सरकारको यो निर्णयले सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुहरू र व्यवसायीहरूमा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ। भाडा वृद्धिका कारण यात्रुहरूले थप आर्थिक बोझ व्यहोर्नु पर्ने भए पनि व्यवसायीहरूले यसको स्वागत गरेका छन्। उनीहरूको भनाइमा ईन्धन, मर्मत, र सञ्चालन खर्चमा भएको वृद्धिलाई यसले केही हदसम्म सन्तुलन मिलाउन सहयोग गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*