मधेशको कृषि मन्त्रालयका तत्कालीन सचिवसहि ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १ करोड विगो दाबी
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशका तत्कालीन सचिव डा। नम्रता सिंहसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। यसमा १ करोड विगो दाबी गरिएको छ।
आर्थिक वर्ष २०७९।८० मा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशका जनकपुरधाम स्थित खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखाका प्रमुख र कृषि ज्ञान केन्द्र, धनुषाका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञले सहकार्य प्रस्तावमा आधारित कृषि, पशुपन्छी तथा मत्स्य विकास कार्यक्रमको रकममा व्यापक भ्रष्टाचार गरेको आरोप लागेको छ। सोमबार दायर गरिएको मुद्दामा यी सबै व्यक्तिहरूलाई दोषी ठहर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव एवम् प्रवक्ता नरहरी घिमिरेका अनुसार आयोगमा प्राप्त उजुरीका आधारमा नकली बिल भर्ने र स्पेसिफिकेशन अनुसारको सामान खरिद नगर्ने कार्यमा संलग्न व्यक्तिहरूका विरुद्ध मुद्दा दायर गरिएको हो।
अधिकार प्राप्त प्रस्ताव छनौट समितिले कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, महोत्तरीबाट निर्धारित समयमा प्रक्रिया नहुदा पनि युवरानी मत्स्य तथा कृषि फार्म प्राली, महोत्तरीलाई सहभागी गराउने आदेश दिएको र प्रक्रियाबाहिर रहेका फार्मलाई सूचीमा समावेश गर्ने निर्णय गरेको पाइएको छ।
अख्तियारको अनुसन्धानमा एक आपसमा मिलेमतो गरी युवरानी मत्स्य फार्म र अन्य संलग्न व्यक्तिहरूले भ्रष्टाचारमा संलग्न रहेको देखिएको छ। यस घटनाले मधेश प्रदेशका सरकारी कार्यक्रमहरूको पारदर्शिता र कार्यान्वयन प्रक्रियामा ठूलो प्रश्न उठाएको छ।