ग्रेटर नेपालका नेता फणिन्द्र पक्राउ

२२ पुष २०८१, सोमबार १३:१८

काठमाडौं । ग्रेटर नेपाल अभियानका प्रमुख नेता फणिन्द्र नेपाललाई सोमबार काठमाडौंको सिंहदरबार दक्षिणी गेटमा धर्ना बस्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको छ। नेपालले भारतीय उपनिवेशी प्रवृत्तिका विरोधमा ६० हजार वर्ग किलोमिटर नेपाली भूमि फिर्ता गर्ने माग गर्दै आन्दोलन चलाई रहेका थिए।

पक्राउ पर्नुअघि, उनले फेसबुकमार्फत धर्ना बस्ने योजना सार्वजनिक गरेका थिए। उनले भनेका थिए, ‘लिपुलेकको नेपाली सार्वभौमसत्तामाथि इन्डियाली ज्यादती देखेर पनि केही नभएजस्तो गर्ने र चीन र इन्डियाले लिपुलेक प्रयोग गर्ने सहमति गर्दा त्यो चीन र इन्डियाबीचको प्राविधिक कुरा हो भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने सरकारको विरोध नगरी हुँदैन।’

नेपालको यस प्रकारको आन्दोलनले राष्ट्रियताको पक्षमा सरकारको जवाफदारी र कदम उठाउनुपर्ने मागलाई थप बल दिएको छ। उनी भारतसँग भएको सुगौली सन्धीमार्फत गाभिएको नेपाली भूमि फिर्ता ल्याउने माग राख्दै आएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*