मानवसेवा आश्रमको मानवता प्रवद्र्धन महाअभियान सबैका लागि प्रेरणादायी : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मानवसेवा आश्रमको मानवता प्रवद्र्धन महाअभियानलाई मुलुकका तीनै तहका सरकार र सरोकारवालाहरुले सघाउनु पर्ने बताएका छन्।
आइतबार राष्ट्रपति कार्यालयको सभाकक्षमा मानव सेवा आश्रमका पदाधिकारी, अभियन्ता र कर्मचारीका साथमा मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१ को वृत्तचित्र प्रस्तुति कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मावन सेवा जस्तो सत्कार्यले मानव जीवनलाई सार्थक हुने बताएका हुन् ।
उनले मानवता र नैतिकतामा संकुचन देखिँदै गरेको अहिलेको हाम्रो समाजलाई सही बाटोमा हिँडाउन मानव सेवाले प्रेरित गर्ने बताए । उनले आश्रमले सडकआश्रित मानव मुक्त नेपाल मिसन २०८२ अभियान सञ्चालन गरिरहेको कार्य प्रशंसनिय रहेको पनि बताए ।
‘जसका कोही हुँदैनन् र जसको कोही हुँदैन उनैको सेवामा समर्पित हुने’ मानवता प्रवद्र्धन महाअभियानमार्फत सहयोगापेक्षी सडकआश्रित मानवहरूको मानवोचित व्यवस्थापनसहित औषधोपचार, पालनपोषण र जीवन रक्षाका लागि देखाएको सक्रियता सबैका लागि प्रेरणादायी भएको राष्ट्रपति पौडेलले बताए ।
आश्रमकोे यो अभियानले सडकआश्रित मानवको उद्धार, संरक्षण र पुनःस्थापनामा सघाउ पुगेको र सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल घोषणा तथा कार्यान्वयन गर्ने प्रतिबद्धतामा सबैको साथ रहनु पर्ने आवश्यकता औँल्याए ।
कार्यक्रममा मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१ को प्रतिवेदन आश्रमका अध्यक्ष अधिकारीले राष्ट्रपति पौडेललाई बुझाएका छन् । राष्ट्रपति पौडेलले आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी र केन्द्रीय कोषध्याक्ष होमनाथ तिमल्सिनालाई माला लगाएर सम्मान गरेका थिए।