सबै बीमा कम्पनीका सिईओहरुसँग बीमा प्राधिकरणले गर्यो छलफल, दावी भुक्तानीमा ढिलाई नगर्न चेतावनी
काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले नेपालमा सञ्चालित सबै बीमा कम्पनीमा कार्यरत प्रमुख कार्यकारी अधिकृतहरुसँग आज गम्भिर छलफल गरेको छ । प्राधिकरणका अध्यक्ष तथा उच्च तहका अधिकारीहरु सहभागी भएर जीवन तथा निर्जीवन बीमा कम्पनीका सिईओहरुसँग छलफल गरिएको हो ।
बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले निर्जीवन बीमा कम्पनीहरुलाई बीमा दावी भुक्तानीमा ढिलाई नगर्न कडा चेतावनी दिएका छन् । आजको छलफलमा निर्देशन दिँदै बाढी पहिरोको दावी भुक्तानी सहज बनाउन बीमा प्राधिकरणले थुप्रै सहुलियत दिएको भएपनि १२ अर्ब दावी परेकामा जम्मा एक मात्रै भुक्तानी भएको बिषयमा निकै कडा रुपमा जवाफ मागेका थिए । बीमा कम्पनीका सिईओहरुले दावी भुक्तानी छरितो बनाउने प्रतिबद्धता जनाएका छन् ।
प्राधिकरणले आजै सबै बीमा कम्पनीका सिईओहरुसँग सम्पत्ति शुद्धिकरण सम्बन्धी छलफल पनि गरेको छ । एएमएल सेफ्टी सम्बन्धी पाँच वर्षे वर्कप्लानमाथि छलफल भएको हो । पछिल्लो समय बीमा क्षेत्रमा पनि सम्पत्ति शुद्धिकरणको बिषयमाथि बहस भइरहेको छ ।
प्राधिकरणले बीमा क्षेत्रमा पनि सम्पत्ति शुद्धिकरण सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन गर्न सिईओ तहमै छलफल चलाएको हो । आजको कार्यक्रममा करिब २५ जना सिईओ प्राधिकरणमा पुगेका थिए । उपत्यका बाहिर भएका सिईओहरुले भने डेपुटी सिईओहरुलाई पठाएका छन् ।