पहिलो दिनमै चार लाख ४८ हजारले भरे गार्डियन माइक्रो लाइफको आइपीओ
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज (पुस २१ गते) देखि सर्वसाधारणको लागि बिक्री खुल्ला गरेको आइपीओमा साढे चार लाखले आवेदन दिएका छन् ।
सिडिएस एण्ड क्लियरीङ्ग लिमिटेडका अनुसार आज बेलुका ०५ः०६ बजेसम्मको अवधिमा कम्पनीको आइपीओमा चार लाख ४८ हजार ५६९ जनाले ६३ लाख ३० हजार कित्ता वापत ६३ करोड ३० लाख रुपैयाँको आवेदन परेको छ ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १८ लाख ४५ हजार कित्ता शेयर निष्कासन गरेका हो । यसबाट कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ संकलन गर्ने भएको छ ।
आईपीओ खरिदका लागि आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १ लाख कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था गरिएको छ । यसमा पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ । तर उक्त अवधिमा पर्याप्त आवेदन नपरेको खण्डमा आवेदन प्रक्रिया माघ १० गतेसम्म लम्बिनेछ ।
कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो।
कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।