‘ढोग दिया’ शब्दको अर्थ के हो ?

२१ पुष २०८१, आईतवार १७:२५

काठमाडौँ । केहि समय यता समाजिक सञ्जालमा ढोक दिया भन्ने शब्दले निकै चर्चा पाइरहेको छ । सामाजिक सञ्जालमा ‘ढोग दिया’ शब्दको चर्चा टिकटक, फेसबुक र अन्य डिजिटल प्लेटफर्महरूमा व्यापक छ ।

‘नमस्ते ढोग दिया’ शीर्षकमा गायक खेम सेन्टुरी र गायिका कविता खत्रीले गाएको गीतले पनि यो शब्दलाई व्यापक चर्चामा ल्यायो । यस गीतको लोकप्रियता सँगै देउडा संस्कृति संरक्षण प्रतिष्ठानले यसको आपत्ति जनायो । प्रतिष्ठानका अध्यक्ष ध्रुवबहादुर सिंहले सार्वजनिक विज्ञप्ति मार्फत ‘ढोग दिया’ शब्द र यससँग सम्बन्धित गीत–संगीतले मौलिक संस्कृति र परम्परालाई कमजोर बनाएको ठहर गरेका छन् । उनले यस्तो गीत–संगीतले सांस्कृतिक अपमान भएको तर्क गरेका छन् । प्रतिष्ठानले होच्याउने तरीकाले आफ्नो भाषा प्रयोग भएको भन्दै आपत्ति जनायो ।

के हो ढोग दिया शब्दको यर्थात

‘ढोग दिया’ शब्दको उत्पत्ति र यसको सांस्कृतिक महत्वलाई बुझ्न सुदूरपश्चिम नेपालको परम्परा र संस्कृतिलाई केलाउनु आवश्यक छ । डोटेली भाषामा ‘ढोग दिया’ भनेको आदर र सम्मान प्रकट गर्न प्रयोग गरिने अभिव्यक्ति हो । यो विशेषगरी ज्येष्ठ व्यक्तिहरू, गुरुजन र धार्मिक अवसरहरूमा प्रयोग गरिन्छ । नेपाली समाजमा खुट्टा छुने र झुकेर अभिवादन गर्ने प्रचलन परम्परागत रूपमा गहिरो जरो गाडेको छ ।

नेपाली समाजमा आदर र सम्मानका विभिन्न तरिकाहरू छन् । ‘नमस्ते’ र ‘ढोग दिनु’ यी दुई मुख्य अभिवादनका तरिकाहरू हुन् । ‘नमस्ते’ भनेको हात जोडेर अभिवादन गर्नु हो, जुन शारीरिक सम्पर्क बिना गरिन्छ । यो कुनै पनि उमेर समूह र सम्बन्धका व्यक्तिहरूसँग प्रयोग गर्न सकिन्छ । तर, ‘ढोग दिनु’ भनेको शारीरिक रूपमा खुट्टा छुने वा झुक्ने माध्यमबाट आदर प्रकट गर्नु हो ।

‘ढोग दिया’ शब्दले सुदूरपश्चिमको सांस्कृतिक धरोहरलाई प्रतिनिधित्व गर्छ । यो शब्दले केवल अभिवादन मात्र नभएर आदर र श्रद्धाको गहिरो भाव व्यक्त गर्छ ।

किन चर्चा पायो यो शब्दले ?

टिकटकर आयुष सिंह ठकुरी र एलिजे जमाली अहिले सामाजिक सञ्जालमा सर्वाधिक चर्चित जोडीमध्येको एक हुन् । उनीहरू टिकटकमा सर्वाधिक आम्दानी गर्ने नेपालीहरूमध्ये पर्छन् ।टिकटक लाइभमार्फत प्रेम बसेपछि उनीहरूले विवाह गरेका हुन् । आयुष नेपाली हुन् भने एलिजे जमाली पाकिस्तानी मूलकी हुन् ।

आयुषको व्यक्तिगत जीवनले विभिन्न कारणले सामाजिक सञ्जालमा चर्चा पाएको छ । एकपटक, आयुषले आफ्नी आमा नानु सिंह ठकुरीमाथि टिकटकमा बोलेको केही शब्दले ठूलो विवाद खडा ग-यो । त्यसपछि नानु सिंह पनि टिकटक लाइभमा सक्रिय हुन थालिन् र आयुष र एलिजेको खुलेर आलोचना गरिन् । छोरा–बुहारी र आमाबीचको यो विवादले सामाजिक सञ्जाल तातेको थियो ।

यसै क्रममा, सुदूरपश्चिमको अछाम घर भएकी नानु सिंहले एक दिन टिकटक लाइभमा “नमस्ते, ढोग दिया“ भन्दै सम्बोधन गरिन् । यस अभिव्यक्तिले ‘ढोग दिया’ शब्दलाई अचानक लोकप्रिय बनायो ।

यो शब्द थप चर्चित बन्न पुगेको अर्को घटना नेपाल प्रिमियर लिग (एनपीएल) को खेलमा देखियो । सुदूरपश्चिमको टोली पराजित भएपछि केही व्यक्तिहरूले ‘ढोग दिया’ शब्दलाई मजाकका रूपमा प्रयोग गरे । यो शब्द सुदूरपश्चिमका व्यक्तिहरूलाई होच्याउने तरिकाले प्रयोग गरिँदा त्यस क्षेत्रका मानिसहरूले अपमान महसुस गरे ।

शब्दमा गल्ती हो कि बोल्ने शैलीमा ?

‘ढोग दिया’ शब्दले सुदूरपश्चिम मात्र नभई समग्र नेपाली समाजको सांस्कृतिक विविधता र परम्परागत मूल्यलाई झल्काउँछ । यो शब्द आदर, सम्मान र श्रद्धाको प्रतीकका रूपमा प्रयोग हुने परम्परागत अभिवादन हो, जसले हाम्रो समाजको मौलिक पहिचानलाई बलियो बनाउँछ । सुदूरपश्चिममा यो विशेष गरी आफुभन्दा जेठो वा सम्माननीय व्यक्तिलाई श्रद्धा व्यक्त गर्न प्रयोग गरिन्छ ।

तर पछिल्लो समय, यो शब्द सामाजिक सञ्जालमा मजाक र व्यंग्यको विषय बनेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिमको टोली पराजित भएपछि ढोग दिया शब्दलाई होच्याउने हिसाबले प्रयोग गरिनु त्यसको एक उदाहरण हो । यसले सुदूरपश्चिम क्षेत्रका जनताको भावनामा ठेस पुर्यायो र समाजमा असन्तुष्टि उत्पन्न ग¥यो ।

यस्तो व्यवहारले न केवल सुदूरपश्चिमको संस्कृति र मूल्यमा आघात पुर्याउँछ, बरु समग्र नेपाली समाजमा रहेका आदर र सम्मानका परम्परालाई कमजोर बनाउने खतरा पनि बढाउँछ । कुनै पनि भाषा र संस्कृतिलाई मजाकको विषय बनाउनुले त्यस समाजको सांस्कृतिक पहिचानलाई अपमानित गर्न सक्छ ।

‘ढोग दिया’ शब्दले मनोरञ्जनको माध्यम पाएको भए पनि, यसको होच्याउने र व्यंग्यात्मक प्रयोगले गम्भीर सामाजिक र सांस्कृतिक प्रभाव पार्न सक्छ । अरुको भाषा र संस्कृतिलाई होच्याउने अधिकार कसैलाई पनि छैन । कोही कसैलाई होच्याउने शैलीमा प्रयोग गरिने शब्दले समस्या बोल्ने व्यक्तिमा हुन्छ, न कि स्वयं शब्दमा ।

यसरी, ‘ढोग दिया’ शब्दको सही उपयोग र यसको सांस्कृतिक महत्त्वलाई जोगाउन हामी सबैले प्रयास गर्नुपर्छ । यो शब्द आदर, सम्मान र संस्कृतिको धरोहर हो । यसलाई सही तरिकाले प्रयोग गरिनु भनेको हाम्रो सांस्कृतिक सम्पदाको रक्षा गर्नु हो । सामाजिक सञ्जालमा यसको वास्तविक अर्थ र सन्दर्भबारे जनचेतना फैलाउन जरुरी छ ।

यो शब्द सुदूरपश्चिमको मात्र नभई समग्र नेपाली समाजको भाषा र संस्कृतिको अमूल्य सम्पत्ति हो । यसको प्रयोगले आदर र सम्मानको परम्परालाई थप सुदृढ बनाउँछ । तर, यसको गलत र अपमानजनक प्रयोगले समाजमा विभाजन र सांस्कृतिक असमानता निम्त्याउने सम्भावना रहन्छ ।

त्यसैले, हामीले सुदूरपश्चिमको सांस्कृतिक विविधता र सम्पदालाई सम्मान गर्नुपर्छ । ‘ढोग दिया’ जस्तो शब्दले समाजमा सकारात्मक सन्देश दिनुपर्छ, न कि अपमान र विभाजन निम्त्याउने । यसको सही प्रयोग र यसको महत्त्वको संरक्षणमा सबैको भूमिका हुनुपर्छ । यही हाम्रो सांस्कृतिक सम्पदाको रक्षा गर्ने सही मार्ग हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*