देशका चार प्रमुख सहरमा वायु प्रदूषण खतरनाक तहमा, धनगढी सबैभन्दा प्रदूषित
काठमाडौँ । देशका प्रमुख सहरहरूमध्ये काठमाडौं, ललितपुर, धनगढी, र जनकपुरमा वायु प्रदूषणको तह खतरनाक अवस्थामा पुगेको छ। वातावरण विभागले आइतबार दिउँसो सार्वजनिक गरेको वायु गुणस्तर मापन (एक्यूआई) विवरणमा यी सहरहरू अस्वस्थकरदेखि अति अस्वस्थकर श्रेणीमा परेको देखिएको छ।
सबैभन्दा प्रदूषित सहर धनगढी रहेको छ, जहाँ एक्यूआई २०३ पुगेको छ। यो स्तर अति अस्वस्थकर मानिन्छ। धनगढीको वायुमा पर्टिकुलेट म्याटर (पीएम) २.५ को मात्रा १४८.४ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ, जुन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा सुरक्षित मानिएको ५ माइक्रोग्राम प्रतिघनमिटरको सीमाभन्दा निकै माथि छ।
यसैगरी, काठमाडौंको रत्नपार्कमा एक्यूआई १८२ रहेको छ, जसमा पीएम २।५ को मात्रा १०७.६ माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ। ललितपुरको खुमलटार क्षेत्रमा एक्यूआई १७७ र पीएम २.५ को मात्रा १०४.१ रहेको छ। धनुषाको जनकपुरमा एक्यूआई १६२ र पीएम २.५ को मात्रा ८५.८ माइक्रोग्राम प्रतिघनमिटर मापन भएको छ।
विश्व स्वास्थ्य संगठनका मापदण्डअनुसार एक्यूआई १५० भन्दा माथि पुगेको वायु अस्वस्थकर मानिन्छ। २०० भन्दा माथि पुगेको वायु अति अस्वस्थकर मानिन्छ। यसैगरी, पीएम २।५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायुलाई अस्वस्थकर मानिन्छ।
वायु प्रदूषणको यो अवस्थाले जनस्वास्थ्यमा गम्भीर असर पार्ने खतरा रहेको विज्ञहरूले बताएका छन्। लामो समयसम्म यस्तो वायुमा सास फेर्दा श्वासप्रश्वाससम्बन्धी समस्या, फोक्सोका रोग र हृदयघातजस्ता जोखिमहरू बढ्न सक्छन्। विशेषगरी, बालबालिका, वृद्धवृद्धा, र पुराना रोगीहरू जोखिममा छन्।