बजारमा झिनो सुधारः २५९१ बिन्दुमा परिसूचक, उतार चढाबमा माफिया खेलि रहेका हुन् ?
काठमाडौँ । पुँजी बजारमा आज दिनभरि उतार चढाव देखिएको छ । बजारमा सामान्य सुधारको संकेत देखिए पनि लगानीकर्तामा भने उत्साह र रौनकको अभाव छ। लगानीकर्ताहरु अझै पनि बजारको स्थिरता र सुधारको प्रतीक्षामा छन्। यसै बीच, खराब कर्जा उच्च भएका र वित्तीय रुपमा संकटग्रस्त कम्पनीहरूको शेयर मूल्यमा उतार चढाव जारी छ ।
पुँजी बजारमा माफियाहरु सक्रिय छन् र उनीहरुले शेयर बिक्री गरेर सोझा लगानीकर्तालाई फसाउने काम गर्दैछन्। रातारात धनी बन्ने सोच बोकेका धेरै लगानीकर्ताहरु माफियाको जालमा फस्दै खराब कर्जा भएका कम्पनीका शेयरमा लगानी गर्दै आइरहेका छन्। यस्तो लगानी खरानीमा पानी जस्तै हुने निश्चित छ, र त्यसले लगानीकर्तालाई ठूलो नोक्सान पुर्याउन सक्छ।
नेपाल राष्ट्र बैंकले कमजोर सूचक भएका कम्पनीहरुमा कारबाही गर्न सुरु गरेपछि माफियाहरुका लगानीकर्ता आत्तिएका छन्। यसले बजारमा बढोत्तरी ल्याएको छ, तर यसका कारण साना लगानीकर्तालाई फसाउने काम भइरहेको देखिन्छ। बजारमा लगानीकर्ताहरुका लागि अझै पनि अनिश्चितता कायम रहेको छ।
कर्णाली डेभलपमेन्ट बैंकको कारबाहीपछि, राष्ट्र बैंकले यसलाई समस्याग्रस्त संस्था घोषणा गरेपछि माफियाले चलाएका कम्पनीका शेयरमा उतार चढाव बढेको छ। यसले पुँजी बजारमा थप तनाव र जोखिम सिर्जना गरेको छ, र लगानीकर्ताहरुलाई सावधानी अपनाउन आवश्यक बनाएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३२ अकंले बढेर २५९१.५६ बिन्दुमा आएको छ । बजारमा ३२७ कम्पनीको ९३ लाख ८६ हजार ७२१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८६ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
आज आठ कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ । यसदिन विकास बैंकको ०.०२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६० प्रतिशत, हाइड्रोपावर समूहको १.६७ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.३९ प्रतिशत, जीवन बीमा समूहको ०.२७ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज १४१ कम्पनीको शेयर मूल्य बढ्दा ९४ कम्पनीको घटेकोछ ।