राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पदावधी चैत्र २३ मा सकिँदै
काठमाडौं । देशको मौद्रिक नीति निर्माण गर्ने तथा बैंक तथा वित्तीय संस्थाहरुको नियमन गर्ने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पदावधी यही चैत्र २३ गतेबाट सकिदैछ ।
२०७६ साल चैत्र २४ गते बसेको मन्त्रिपरिषदको बैठकले महाप्रसाद अधिकारीलाई पाँच बर्षको लागि नेपाल राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त गरेको थियो । अधिकारीको पाँच बर्षे अवधी आगामी चैत्र २३ गते सकिदैछ ।
नोटमा हस्ताक्षर गर्ने महत्वपूर्ण गभर्नरको पदावधी सकिनै लाग्दा आगामी पाँच बर्षको लागि नयाँ गभर्नर बन्ने आकांक्षीहरु लाइन लाग्न थालेको छ । यद्यपि अन्य निकायमा जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले शक्तिकेन्द्र र व्यापारीका गोजीबाट फुत्त गभर्नर घोषणा गर्ने सम्भावना छ ।
गभर्नर अधिकारीको पदावधी चैत्र २३ गते सकिने भएपनि चालु आवका लागि जारी मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा गरेर विदा हुने सम्भावना छ । नेपाल राष्ट्र बैंक स्रोतका अनुसार फागुनको तेस्रो सातासम्म मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा जारी हुने सम्भावना छ । गभर्नर अधिकारी पदावधी सकिनु एक महिना अघिदेखि महत्वपूर्ण निर्णय नगर्ने हुँदा फागुन २३ अघिसम्म भने दीर्घकालिन निर्णय गर्न सक्नेछन् ।
आफ्नो कार्यकाल चर्को विवादका बीचमा बिताएका गभर्नर अधिकारीमाथि शेयर लगानीकर्ताहरुले सबैभन्दा धेरै गाली गरेका थिए ।
सरकारले नयाँ गभर्नर नियुक्तीका लागि प्रक्रिया सुरु नगर्दै गभर्नरका लागि दौडधुप सुरु भइसकेको छ । सरकारले गभर्नर छनौट समिति गठन गरी सो सिफारिसमा परेका तीन जना मध्येबाट मन्त्रिपरिषदबाट एक जनालाई गभर्नर नियुक्त गर्ने कानुनी व्यवस्था छ ।