बैंकिङ प्रणालीबाट आज फेरि ५० अर्ब तान्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै केन्द्रिय बैंकले बजारबाट उक्त रकमको तरलता प्रशोचन गर्ने निर्णय गरेको हो । केन्द्रिय बैंकले २१ दिनका लागि निक्षेप संकलन बोलकबोल मार्फत ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो
निक्षेप बोलकबोलका लागि आज दिउँसो २ बजे सम्मको समय निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार हाल वित्तीय प्रणालीको निक्षेप ६६ खर्ब ७८ अर्ब नाघेको छ भने ५३ खर्ब ६३ अर्ब कर्जा लगानी पुगेको छ । हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसतमा ७९.०१ प्रतिशत कायम रहेको छ ।