९१ मध्ये २१ जलविद्युत् कम्पनीको मात्रै लाभांश घोषणा, २६ कम्पनीको एजीएम टुंगो लागेन

२० पुष २०८१, शनिबार १९:५७

नेप्सेमा सूचीकृत ९१ ओटा जलविद्युत् कम्पनीमध्ये २१ वटा कम्पनीले यस वर्ष लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । हालसम्म ६५ कम्पनीले साधारण सभाको सूचना निकालेकोमा २१ वटाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश दिने भएका हुन् ।

बाँकी ४४ कम्पनीको लाभांश वितरण गर्ने कुनै एजेन्डा नै छैन भने २६ कम्पनीले अझै साधारण सभाको मिति तय गरेका छैनन ।

पुष मसान्तसम्म साधारण सभा गर्ने हाइड्रोपावर कम्पनीहरुमध्ये अरुण भ्याली हाइड्रोपावर, अपि पावर, भगवती हाइड्रोपावर, विन्देबासिनी हाइड्रोपावर, बुटवल पावर, चिलिमे हाइड्रोपावर, ग्रिन भेन्चर, कुथेली बुखारी स्मल हाइड्रोपावर, कालिका पावर, मान्डु हाइड्रोपावर, माउन्टेन इनर्जी नेपाल, मन्दाकिनी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर, राधी विद्युत, रुरु जलविद्युत परियोजना, साहस ऊर्जा, सानिमा माई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, सुपरम हाइड्रोपावर र युनाइटेड इडी मार्दी एन्ड आरबी हाइड्रोपावरले लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् । यी कम्पनीमध्ये कतिपयको लाभांश साधारणसभाबाट पारित भइसकेको छ भने बाँकीले पुस मसान्तभित्रै साधारणसभा बोलाएका छन् । केहीको बोनस शेयर साधारणसभाबाट पारित भएर सूचीकृतसमेत भइसकेको छ।

लाभांश दिएका २१ कम्पनीमध्ये अधिकांशको लाभांशदर गतवर्षको तुलनामा बढेको छ । तीन कम्पनीको लाभांशदर घटेको छ । कालिका पावर, चिलिमे जलविद्युत् कम्पनी र युनाइटेड इदी मर्दी एन्ड आरबीबी हाइड्रोपावरको लाभांशदर गतवर्षको तुलनामा यस वर्ष घटेको हो ।

५ वटा कम्पनीले पहिलोपटक लाभांश दिन लागेका हुन् । ग्रीन भेन्चर्स, कुथेली बुखरी स्मल हाइड्रोपावर, सुपर माई हाइड्रोपावर, सगरमाथा जलविद्युत् कम्पनी र साहस ऊर्जाले पहिलोपटक शेयरधनीलाई लाभांश दिन लागेका हुन् ।

ग्रीन भेन्चर्सले २०७९ चैतमा, कुथेली बुखरीले २०८० असारमा, सुपरमाई हाइड्रोपावरले २०७९ माघमा, सगरमाथा जलविद्युत् कम्पनीले २०७९ चैतमा र साहस उर्जाले २०७८ असोजमा सर्वसाधारणलाई शेयर बाँडफाँट गरेका थिए । गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका कम्पनीमध्ये अरुण भ्याली हाइड्रोपावर र अपि पावर कम्पनीले गतवर्ष लाभांश दिएका थिएनन् ।

जलविद्युत् कम्पनीहरू धेरैजसो भर्खर सर्वसाधारणलाई शेयर निष्कासन गरेर धितोपत्रको दोस्रो बजारमा सूचीकृत भएका छन् । धेरैजसोले विद्युत् उत्पादन पनि गरेका छैनन् । यसकारण पनि उनीहरूले लाभांश दिन नसकेका हुन् ।

लाभांश नदिनेमा पिपुल्स हाइड्रोपावर, मैलुङखोला जलविद्युत् कम्पनी, बलेफी हाइड्रोपावर, मोदी इनर्जी, रसुवागढी हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, बुद्धभूमि नेपाल हाइड्रोपावर, मनकामना इन्जिनीयरिङ हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी, दोर्दी खोला जलविद्युत् कम्पनी, हिमालयन पावर पार्टनर, भूगोल इनर्जी, दोल्ती पावर, मेन्छियाम हाइड्रोपावर र लिबटी इनर्जी छन् ।

त्यस्तै मकर जितुमाया सुरी, सानिमा मिडल तमोर, इङ्वा हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, माथिल्लो मैलुङ खोला, न्यादी हाइड्रोपावर, त्रिशूली जलविद्युत् कम्पनी, अप्पर सोलु हाइड्रो, हिमालयन हाइड्रोपावर, तेह्रथुम पावर, हिमालय ऊर्जा विकास कम्पनी, अपर हेवाखोला हाइड्रोपावर, भिजन लुम्बिनी, राप्ती हाइड्रो कन्स्ट्रक्सन एन्ड जनरल र मिड सोलु हाइड्रोपावरले गत आवको मुनाफाबाट लाभांश नदिने भएका हुन् ।

यी सबै कम्पनीले पुस मसान्तभित्रै साधारणसभा बोलाएका छन् । यी कम्पनीमध्ये मैलुङखोला जलविद्युत् कम्पनीले अघिल्लो आव २०७९र८० को मुनाफाबाट २ दशमलव २३ प्रतिशत बोनस शेयर र शून्य दशमलव १२ प्रतिशत नगद लाभांश दिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*