बिद्यार्थी भिषामा अस्ट्रेलियामा पुगेका हजारौं नेपालीको अवस्था जटिल बन्दै, नयाँ भिषा झन् कठिन
काठमाडौं । नेपालमा रहेका शैक्षिक परामर्शकेन्द्रहरुले उचित परामर्श नदिँदा विद्यार्थी भिषामा अस्ट्रेलिया पुगेका हजारौं बिद्यार्थीहरुले अप्ठेरो अवस्थाको सामना गर्नुपर्ने भएको छ । समय समयमा बदलिएको शैक्षिक नीतिका कारण अष्ट्रेलियामा पुगेका करिब एक लाख भन्दा बढि विद्यार्थीहरु सन् २०२५ मा नेपाल फर्कनुपर्ने अपेक्षा गरिएको त्यहाँ रहेका नेपालीहरुले जनाएका छन् ।
अष्ट्रेलियामा प्रोफेशन कोर्स नगर्ने, विश्व विद्यालय कोर्स नगरेका, प्लस टु उत्तिर्ण गरी भोकेशनल कोर्स अध्ययनका लागि त्यहाँ पुगेका विद्यार्थीहरुका लागि अष्ट्रेलियाको नयाँ शिक्षा सम्बन्धी नियमका कारण थप कठिन बन्न लागेको हो ।
त्यस्तै, अस्ट्रेलिया पुगेर कोर्स परिवर्तन गर्दा क्यापिङको गणना नहुने हुँदा अर्को अप्ठेरो आउने अवस्था छ । सरकारले सन् २०२५ मा दुई लाख ७० हजार विदेशी विद्यार्थीलाई आफ्नो देशमा अध्ययन अनुमति दिने उल्लेख गरी कोटा समेत तोकेको थियो । तर उक्त प्रस्ताव पारित नभएकोले अब के हुन्छ ? भन्ने अन्योल सिर्जना भएको छ । विगतमा जस्तो अब अष्ट्रेलिया विदेशी विद्यार्थीहरुका लागि असहज बन्ने देखिन आएको छ ।
गत डिसेम्वर १९ मा मन्त्रिस्तरीय निर्णय अनुसार जारी एमडी १११ निर्देशिका अनुसार विद्यार्थी भिषालाई दुई बर्गमा बिभाजित गरिएको छ । ‘उच्च प्राथमिकता’ र ‘स्टाण्डर्ड प्राथमिकता’ भनेर तोकिएको छ । विश्व विद्यालयहरुलाई ‘उच्च प्राथमिकता’ प्राप्त भिषा आवेदनका लागि धेरै सुविधा दिने निर्णय भएको छ । विश्व विद्यालयहरुलाई उनिहरुले पाएको कोटाका ८० प्रतिशत उच्च प्राथमिकता भिषा दिने भनिएको छ । उक्त प्रक्रिया अनुसारको कोटा भरिएपछि मात्रै स्टाण्डर्ड कोटाको भिषा अन्तर्गत विद्यार्थी भर्ना गर्न पाइनेछ ।
अष्ट्रेलिया सरकारले गत मार्च २४ गतेदेखि विदेशी विद्यार्थी भिषामा कडाई गर्दै नयाँ नियम लागू गरेको थियो । मार्च २४ को निर्णय अनुसार गत जुलाई १ देखि लागू भएको नियम अनुसार अष्ट्रेलियाबाट करिब २५ हजार विद्यार्थीहरु नेपाल फर्किसकेका छन् ।
हाल डिसेम्वर १९ देखि लागू भएको नयाँ नियम अनुसार अब अष्ट्रेलियामा विद्यार्थी भिषा निकै जटिल बन्ने विश्वास गरिएको छ । त्यहाँ रहेका विद्यार्थीहरुलाई हुने कठिनाईसँगै अब अन्य देशहरुबाट अष्ट्रेलिया जाने विद्यार्थीहरुलाई समेत कठिन हुने विश्वास गरिएको छ ।
नयाँ व्यवस्था अनुसार भिजिट भिसा र अस्थायी स्नातक भिसा दुई भिसा क्याटागोरी सबक्लास ६०० र ४८५० मा रहेकाहरूले अबदेखि अनसोर विद्यार्थी भिसाका लागि आवेदन दिन सक्ने छैनन् । यद्यपि त्यस्ता विद्यार्थीहरूले आफ्नो देश फर्किएर पुनः विद्यार्थी भिसामा आवेदन दिन भने पाउनेछन् । सो व्यवस्था अनुसार थुप्रै विद्यार्थीहरु नेपाल फर्कनुपर्ने विश्वास गरिएको छ ।
नयाँ व्यवस्थामा टुरिस्ट भिसामा अष्ट्रेलिया पुगेर त्यसलाई विद्यार्थी भिसामा बदलेर उतै पढ्ने व्यवस्था हटाइएको छ । यसको प्रत्यक्ष मारमा हाल अष्ट्रेलियामै रहेका नेपालीहरु पर्नेछन् ।
अस्थायी भिषा र विदेशी विद्यार्थी भिषा बाहकलाई अनिश्चितकालसम्म अष्ट्रेलियामा बस्न नदिने नीति अनुसार त्यहाँको सरकारले काम गरिरहेको गृहमन्त्री क्लेअर ओनिलले सार्वजनिक मन्तव्य नै दिएका थिए ।
अमेरिकामा बिदेशी आप्रबासी राजनीतिक मुद्दा बन्न थालेपछि अष्ट्रेलियाले पनि विदेशी आप्रबासीमाथि कडाई गर्ने बिषय राजनीतिक मुद्दा बन्ने सम्भावना बढ्दै गएको छ । त्यहाँको लेबर पार्टीले विदेशी आप्रबासीलाई कडाई गर्दै आएको छ भने लिबरल पार्टीले केही नरम नीति लिँदै आएको छ ।