दाउन्ने एग्रो फार्मले १० करोड रुपैयाँ आइपीओ जारी गर्ने
काठमाडौँ। नवलपरासी विनयीत्रिवेणी गाउँपालिका–३ को सर्दीमा रहेको दाउन्ने एग्रो फार्म लिमिटेडले सर्वसाधारणलाई १० करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ। कम्पनीको स्थापना पछिको सातौं तथा पब्लिक कम्पनीमा प्रवेश गरेपछिको प्रथम वार्षिक साधारणसभाले यो निर्णय गरेको हो।
करीब ११ बिघा क्षेत्रफलमा फैलिएको दाउन्ने एग्रो फार्म हाल ४ लाख कुखुराको उत्पादन गर्दै आएको छ। कम्पनीका अध्यक्ष रघुनाथ भट्टका अनुसार निकट भविष्यमा कुखुराको संख्या ६ लाख पुर्याउने लक्ष्य रहेको छ।
अध्यक्ष भट्टका अनुसार कम्पनीले उत्पादनको विविधीकरणका लागि आगामी दिनमा थप क्षेत्रहरुमा पनि विस्तार गर्ने योजना बनाएको छ। साथै, सर्वसाधारणलाई सेयर जारी गरेर संस्थागत तथा आर्थिक आधार थप सुदृढ बनाउने उद्देश्यले यो निर्णय गरिएको हो।
दाउन्ने एग्रो फार्मले कुखुराजन्य उत्पादनका क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। हाल कम्पनीले मासु र अण्डा उत्पादन गर्दै आएको छ भने आधुनिक प्रविधिको प्रयोग गर्दै उत्पादन क्षमता विस्तार गरिरहेको छ।