पुँजी बजारमा उथलपुथलः विकास बैंक र फाइनान्समा फसे लगानीकर्ता, अबको लगानी फण्डामेन्टलमा हो ?

१९ पुष २०८१, शुक्रबार १६:४३

काठमाडौँ । पछिल्लो समय नेपालको पुँजी बजारमा देखिएको सुस्तता, अनिश्चितता र गिरावटले लगानीकर्ताहरूलाई चिन्तित बनाएको छ । शेयर बजारको सूचक नेप्से २६०० को आसपास ओरालो लागेपछि कारोबारमा पनि उल्लेखनीय कमी आएको छ । बजारको अवस्था अहिले साइडवेज प्रवृत्तिमा रहेको छ जसले लगानीकर्तामा नकरात्मक मनोवृत्तिका साथै बजारमा जस्तोतस्तो आशंका र डर पैदा गरेको छ ।

बजारको सूचक र कारोबार रकम दुबैले निरन्तर सुस्तता देखाएको छ । हालको समयमा दैनिक कारोबार रकम ५ अर्बको आसपास मात्र रहेको छ । यसरी बजारको गतिमा कमी आउनु भनेको लगानीकर्ताको मनोबल घट्नु हो र यसले निश्चित समयको लागि बजारमा चहलपहल कम गरेको छ । यस समयमा अधिकांश लगानीकर्ताहरू ’पर्ख र हेर’ को स्थितिमा पुगेका छन् । यसैकारण, कारोबार रकम पनि औसतमा घटेको हो र केवल ५ अर्ब भन्दा तल नै दैनिक कारोबार जारी रहेको छ ।

नेपालको पुँजी बजारमा लगानी गर्ने मापदण्डहरू कस्ता छन् भन्ने सवाल पनि गम्भीर बनेको छ । लगानीकर्ताहरूको उत्साहको कमी भएको र बजारमा देखिएको अनिश्चितता र गिरावटले पनि बिभिन्न अवसर र चुनौतीहरूलाई जन्म दिएको छ । खास गरी, लामो समयदेखि बजारको डाउन ट्रेन्ड रहेकोले धेरै जसो लगानीकर्ताहरूमा उत्साहको कमी देखिएको हो ।

शेयर बजारको गिरावट र अनिश्चितताका कारण नयाँ तथा पुराना दुवै प्रकारका लगानीकर्ताहरूको मनोबलमा गिरावट आएको छ । बजारमा पहिले लगानी गरेका धेरैजसो व्यक्ति हिजोका तुलनामा घाटामा छन् । शेयर बजार ३,००० अंकसम्म पुगेको थियो, जुन समयमा लगानीकर्ताहरुले बजार ३२ सय माथि जाने अपेक्षा गरेको थिए । सो बेला शेयर खरिद गर्ने धेरैजसो लगानीकर्ताले घाटामा परेको अवस्था छ । यस्तो अवस्थामा, लगानीकर्ताले यसलाई बुल रनको समाप्ति भनेर पनि हेर्न थालेका छन् ।

पछिल्लो समय फण्डामेन्टल आधारमा आधारित शेयर बजारमा चलि रहेको छ । यद्यपि, हालको समयमा आधारभूत फण्डामेन्टलको आधारमा मजबूत कम्पनीहरूको मूल्यमा अझै वृद्धि भइसकेको छैन । अझै पनि केहि लगानीकर्ता रातरात धनी बन्ने सोचमा वित्तीय अवस्थामा नाजुक रहेका तथा माफियाले चलाइरहेका कम्पनीमा लगानी गरि रहेको देखिन्छ ।

विशेषगरी कर्णाली डेभलपमेन्ट बैंकलाई केन्द्रीय बैंकले समस्याग्रस्त घोषणा गरेपछि ननफन्डामेन्टल कम्पनीमा लगानी गर्नेहरु निकै आत्तिएका छन् । जसका कारण फाइनान्स, विकास बैंक, हाइड्रोपावर लगायत समूहका सूचक बढी घटेका छन् । यी समूहका कमजोर कम्पनीहरु सर्किट लेबलमा घटिरहेका छन् । सोहि कारण अब लगानीकर्ता फण्डामेन्टल कम्पनीको छिर्नेअनुमान हुन थालेका छन् । पछिल्लो समय नियामक सक्रिय भइरहेको अवस्था फण्डामेन्टल कम्पनीको भविष्य सुनौलो रहेको संकेत आइरहेको छ । अब वित्तीय अवस्था राम्रो रहेको, नेटवर्थ र प्रतिशेयर आम्दानीमा समेत दरिलो बन्दै गएका कम्पनी माथि आउने देखिएको छ ।

बजारको साइडवेज प्रवृत्तिमा रहेको स्थिति केही समय पछि सकारात्मक रूपमा परिवर्तन हुन सक्ने आशा गरिएको छ । अहिले वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था छ । बैंकहरुले खासै कर्जा प्रवाह गर्न सकेका छैनन् । ब्याजदर पनि निरन्तर घटिरहेको छ । अधिक तरलताका कारण केन्द्रीय बैंकले दिनहुँजसो वित्तीय प्रणालीबाट पैसा खिचिरहेको छ । यता, नियामक समेत शेयर बजारलाई लिएर सकारात्मक नै देखिन्छ । नियामकको सक्रियता, प्रधानमन्त्री केपी शर्मा ओलि र अर्थमन्त्रीको चासो, सस्तो ब्याजदर र अधिक तरलताले अन्ततः शेयर बजारमा सकारात्मक प्रभाव पर्दै जाने अनुमान गर्न सकिन्छ ।

यद्यपि, आम लगानीकर्ताले भने सबल वित्तीय सूचक भएका, लगातार लाभांश दिएको वा दिन सक्ने, संस्थागत सुशासन अब्बल रहेका कम्पनीहरुमा सकेसम्म लामो समय होल्ड गर्ने ढंगले लगानी गर्न अनुभवीहरुले सुझाव दिने गरेका छन् ।

कस्तो रह्यो साता ?

चार दिन खुलेको यस साताको शेयर बजारमा २ दिन राताम्य देखिदा २ दिन भने झिनो सुधार देखियो । यस साता विशेषगरी विकास बैंक र फाइनान्सको शेयर मूल्यमा घटेको देखिन्छ । केन्द्रिय बैंकले वित्तीय सूचक नाजुक भएपछि कर्णाली डेभलपमेन्ट बैंक माथि गरेको कारबाहीले कमजोर सूचक भएका कम्पनीहरु त्रसित बने । वित्तीय अवस्थामा टाट पल्टिन लागेका क्षत्रियस्तरका विकास बैंक र फाइनान्स कम्पनीको शेयर मूल्यमा सर्वाधिक घट्न पुगेको छ ।

यो साता ४४.४८ अंकले घटेर २५८६.२३ बिन्दुमा पुगेको छ । यस साता ४ करोड ३७ लाख ९४ हजार ३ सय ३२ कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ३५ करोड २ लाख ८२ हजार ५ सय ६९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो पनि

कर्णालीमा चलेको डन्डाले टाट पल्टिन लागेका विकास बैंक र फाइनान्स त्रसित, ११ कम्पनी संकटको बाटोमा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*