स्वास्थ्य बीमालाई थप व्यवस्थित बनाउँदैछौंः मन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य बीमाले केही राहत र सुविधा उपलब्ध गराएको भए पनि यो प्रणाली व्यवस्थित नभएको र आवश्यकताअनुसार सुधारको आवश्यकता रहेको बताएका छन्। उनले शुक्रबार मन्त्रालयमा स्वास्थ्य बीमा क्षेत्रमा सुधार गर्नका लागि गठित सुधार समितिले प्रस्तुत गरेको प्रतिवेदन ग्रहण गर्दै यो टिप्पणी गरेका हुन्।
मन्त्री पौडेलका अनुसार, हालको स्वास्थ्य बीमा व्यवस्थाले केही हदसम्म राहत पुर्याएको भए पनि त्यहाँका सुविधाहरू आंशिक मात्र छन् र नागरिकका सम्पूर्ण स्वास्थ्य आवश्यकताहरूको पूर्तिका लागि यो पर्याप्त छैन। उनले स्पष्ट पारे, आंशिक सुविधाले मात्र समस्या समाधान हुँदैन, त्यसैले स्वास्थ्य बीमालाई लक्षित समूहलाई सम्पूर्ण लाभ पुग्ने गरी अघि बढाउनका लागि अध्ययन र कार्यदिशा तय गर्न आवश्यक छ।
त्यस्तै, मन्त्री पौडेलले स्वास्थ्य बीमाको पुँजी व्यवस्थापन र स्रोत सुनिश्चितताका बारेमा पनि थप अध्ययन गर्न र प्रतिवेदनमा समेटिएको विचारलाई कार्यान्वयनमा ल्याउन जोड दिए।