सन् २०२५ का लागि एमडीआरटीमा नेपालबाट ६२७ जना छनौंट, कुन कम्पनीबाट कति छानिए ?
काठमाडौँ । जीवन बीमा क्षेत्रमा आवद्ध विश्वभरका करोडौं बीमा अभिकर्ताहरुको एउटा सपना हुन्छ– एमडिआरटीको सीओटी–टीओटी बन्ने । सन् २०२४ भर्खरै सकिएको छ । एमडिआरटी २०२५ को लागि छनौंट हुने समय पनि सकिएको छ । सन् २०२५ का लागि नेपालबाट कुल ६२७ जना अभिकर्ताहरुले एमडीआरटी लक्ष्य पूरा गर्न सफल भएका छन् । जसमा ६ जना टीओटी, २७ जना सीओटी र ५९४ जनाले एमडीआरटी लक्ष्य पूरा गरेका हुन् ।
नेपालमा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुबाट सन् २०२५ को लागि कुल ६२७ जनाले एमडीआरटीको लागि आवश्यक व्यवसाय लक्ष्य पूरा गरेका छन् । व्यवसाय लक्ष्य पूरा गरेर मात्रै हुँदैन । एमडिआरटीमा दर्ता भई कम्पनीले सिफारिस गरेपछि उनीहरुले वार्षिक बैठकमा भाग लिन पाउनेछन् ।
व्यवसायिक बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म हो, एमडिआरटी । बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेवल (एमडिआरटी) नामक संस्थाले सन् २०२५ को टिओटी बिजेताहरुलाई आगामी जुन २२–२५ मा अमेरिकाका मायमीको वार्षिक बैठकमा निमन्त्रणा गर्नेछ । यसअघि नेपालमा धेरै बीमा अभिकर्ताहरुले यस्ता बैठकहरुमा भाग लिइसकेका छन् ।
एमडिआरटीले सीओटीको लागि सन् २०२५ का लागि तोकिएको एक करोड ४० लाख ७८ हजार रुपैयाँ र एमडीआरटीको लागि ४६ लाख ९० हजार रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेर २७ जना सिओटी र ५९४ जना जीवन बीमा अभिकर्ताहरुले एमडीआरटी लक्ष्य हासिल गर्न सफल भएका हुन् । जसमा एलआइसी नेपालका सबैभन्दा बढी अभिकर्ता रहेका छन् ।
दिन–रात अहोरत्र खटिएर एमडीआरटी, सीओटी र टिओटी लक्ष्य प्राप्त गरेकाहरु नेपाल जीवन बीमा व्यवसायमा संलग्न दुई लाख भन्दा बढि बीमा अभिकर्ताहरुको लागि आईडलका रुपमा स्थापित हुन सफल भएका छन् ।
बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म एमडीआरटीमा पुगेको आधारमा सबैभन्दा अगाडि एलआईसी नेपालबाट सन् २०२५ को लागि १३१ जना अभिकर्ता एमडीआरटीका लागि छनौट भएका छन् । जसमा तीन जना टीओटी, १४ जना सीओटी र ११४ जना अभिकर्ताहरुले एमडीआरटी लक्ष्य पूरा गरेका छन् ।
दोस्रो स्थानमा रहेको नेशलन लाइफ इन्स्योरेन्सबाट एक १०० जना अभिकर्ताहरु एमडीआरटीका लागि छनौंट भएका छन् । जसमा दुई जना अभिकर्ताले टीओटी, तीन जना अभिकर्ताले सीओटी र ९५ जना अभिकर्ताहरुले एमडीआरटी लक्ष्य पूरा गरेका छन् । नेशनल लाइफ इन्स्योरेन्सले ऐतिहासीक रुपमा पहिलो पटक दुई जना अभिकर्ताहरुलाई टीओटीको रुपमा पाएको छ ।
तेस्रोमा रहेको नेपाल लाइफ इन्स्योरेन्सबाट कुल ९५ जना अभिकर्ता सन् २०२५ को एमडीआरटीको लागि छनौंट भएका छन् । जसमा एक जना सीओटी र ९४ जना एमडीआरटी छनौंट परेका छन् ।
हिमालयन लाइफ इन्स्योरेन्सबाट ८१ जना अभिकर्ता एमडीआरटीका लागि छनौंट भएका छन् । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सबाट कुल २६ जना अभिकर्ताहरु एमडिआरटीका लागि छनौंट भएका छन् । जसमा एक जना टीओटी, दुई जना सीओटी र २३ जनाले एमडीआरटी लक्ष्य पूरा गरेका छन् ।
आइएमई लाइफ इन्स्योरेन्सबाट एक जना सीओटी र ४३ जना अभिकर्ता एमडीआरटी छनौंट भएका छन् । साथै, सूर्यज्योति लाइफ इन्स्योरेन्सबाट ४० जना अभिकर्ता एमडीआरटी छनौंट भएका छन् । जसमा दुई जना अभिकर्ताले सीओटी लक्ष्य पूरा गरेका छन् ।
प्रभु महाक्ष्मी लाइफ इन्स्योरेन्सबाट १९ जना एमडीआरटी लक्ष्य छनौंट भएका छन् । भने एक जना सीओटी लक्ष्य प्राप्त गर्न सफल भएका छन् । साथै, रिलायवल नेपाल लाइफबाट ३६ जना एमडीआरटी, सन नेपाल लाइफबाट दुई जना एमडीआरटी छनौंट भएका छन् ।
त्यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सबाट ४१ जना अभिकर्ता एमडीआरटी छनौंट भएका छन् । जसमा तीन जना अभिकर्ताले सीओटी लक्ष्य पूरा गरेका छन् । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीबाट सन् २०२५ को लागि एमडीआरटी छनौंट हुने अभिकर्ताको संख्या शुन्य रहेको छ ।
नेपालमा शाखा कार्यालयको रुपमा स्थापित मेट अमेरिकन लाइफ इन्स्योरेन्स नेपालले पूराना आर्थिक बर्षहरुमा एमडीआरटीको लक्ष्यमा कम्पनी सक्रिय भएपनि हाल भने सहभागी नभएको भन्दै तथ्यांक उपल्ब्ध गराएको छैन ।
एमडिआरटीको टिओटीमा नेपालबाट आधा दर्जन अभिकर्ताले पुरा गरे लक्ष्य, आगामी जुनमा अमेरिका जान पाउने