एलआईसी नेपालका तिमिल्सीनाले हासिल गरे एमडीआरटीको आजीवन सदस्यता
काठमाडौँ । “केही हासिल गर्न सपना देख्न जरुरी छ” भन्ने भनाइलाई साकार पार्दै, एलआईसी नेपालका बीमा सल्लाहकार विष्णु तिमिल्सीनाले सन् २०१६ मा पहिलो पटक प्रतिष्ठित मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) सदस्यता हासिल गरे।
त्यसपछि उनले विश्वव्यापी प्रवृत्ति र परिस्थितिहरू अध्ययन गर्दै एमडीआरटीको मार्गदर्शन पालन गर्न थाले। यस क्रममा उनले यो पेशाको सुन्दरता पहिचान गरे र बिमा पेशाप्रतिको सोचमा ठूलो परिवर्तन ल्याए।
तिमिल्सीनाले एमडीआरटीको आजीवन सदस्य बन्ने सपना देखे र प्रत्येक वर्ष नियमित सदस्यता हासिल गर्न सफल हुँदै गए। अन्ततः निरन्तरता, मेहनत, समर्पण र स्पष्टताका कारण उनले आफ्नो सपना साकार पार्दै सन् २०२५ मा आजीवन सदस्यता प्राप्त गरे। यो उपलब्धि तिमिल्सीनाको करियरको एउटा महत्वपूर्ण सफलता हो, जसले लगातार १० वर्षसम्म एमडीआरटी सदस्यको मान्यता प्रमाणित गर्दछ।
एमडीआरटीको महत्त्वपूर्ण उपलब्धि
एमडीआरटी को आजीवन सदस्यता विश्वभरका जीवन बीमा र वित्तीय सेवाका उत्कृष्ट व्यवसायिकहरूको सूचीमा समावेश हुने प्रतिष्ठित अवसर हो। यो सदस्यताले तिमिल्सीनालाई अन्य शीर्ष व्यवसायिकहरूसँग नवीनतम विचार र उत्कृष्ट अभ्यासहरूको आदानप्रदान गर्ने विशेष अवसर प्रदान गरेको छ।
तिमिल्सीनाको प्रेरणादायी यात्रा
एलआईसी नेपालको पोखरा शाखाबाट १२ वर्षदेखि निरन्तर उत्कृष्ट व्यवसाय गर्दै आएका तिमिल्सीना विभिन्न देशमा आयोजना हुने एमडीआरटी सम्मेलनहरूमा सहभागी हुँदै आएका छन्। सन् २०१९ मा सिड्नी, अस्ट्रेलियामा आयोजित एमडीआरटी ग्लोबल सम्मेलनमा उनले नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रिय झण्डा फहराएका थिए। नेपालमा हालसम्म मात्र पाँच जनाले एमडीआरटी को आजीवन सदस्यता हासिल गरेका छन्, र तिमिल्सीना काठमाडौँ उपत्यका बाहिरबाट यो सम्मान प्राप्त गर्ने पहिलो व्यक्ति बनेका छन्।
तिमिल्सीनाले आफू बीमा सल्लाहकार पेशाबाट सन्तुष्ट रहेको र जीवनभर यसै पेशामा समर्पित रहने दृढ अठोट व्यक्त गरेका छन्। उनले भने, “बीमा सल्लाहकारहरूले आर्थिक सुरक्षा मात्र नभई वित्तीय व्यवस्थापन र जीवन बीमाको महत्त्वबारे समाजलाई सचेत बनाउने महत्त्वपूर्ण भूमिका खेल्छन्।”
उनले नयाँ पुस्तालाई जीवन बीमा क्षेत्रमा भविष्य खोज्न सुझाव दिँदै भने, “यस क्षेत्रमा राम्रो आयआर्जनको सम्भावना छ। सफलताको लागि लगनशीलता, इमान्दारी, मेहनत र जोश आवश्यक छ। म मेरा ग्राहकहरूको हितका लागि सँधै उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध छु। मेरो यो यात्रामा सहयोग गर्ने सम्पूर्ण बिमित र शुभचिन्तकलाई धन्यवाद दिन चाहन्छु।”
एमडीआरटीको महत्त्व
एमडीआरटी जीवन बीमा र वित्तीय सेवाका व्यवसायीकहरूको लागि विश्वको अग्रणी संस्था हो। यस सदस्यताले उच्च व्यावसायिक ज्ञान, नैतिक आचरण र उत्कृष्ट ग्राहक सेवाको प्रतीक मानिन्छ। एमडीआरटीले व्यवसायिकहरूलाई नवीनतम विचार र अवधारणामा आधारित रहन प्रेरित गर्दछ, जसले ग्राहकहरूलाई लाभदायक समाधान र उत्कृष्ट सेवा प्रदान गर्न सक्षम बनाउँछ।
विष्णु तिमिल्सीनाको यो उपलब्धिले नेपालको बीमा क्षेत्रको प्रतिष्ठा बढाएको छ। उनको यो यात्रा अन्य बीमा व्यवसायिकहरूका लागि प्रेरणाको स्रोत बन्नेछ।