बिहान ८ बजे सिंहदरवारमा कांग्रेसी मन्त्रीको त्यो गोप्य भेला, साँझ बिद्या भण्डारीको निवासमा प्रम ओलीको अढाई घण्टा

१८ पुष २०८१, बिहीबार २३:१७

काठमाडौं । आज पुस १८ गते नेपालको राजनीतिमा नयाँ तरंग ल्याउन सफल भएको छ । केही समयदेखि सरकार परिवर्तनको चर्को हल्ला त चलिरहेकै थियो । यही बीचमा आज विहानदेखि राति अबेरसम्म पूर्व राष्ट्रपति बिद्यादेवी भण्डारीको निवासमा भएको त्यो गोप्य भेटघाटले नेपालको राजनीतिमा केही अप्ठेरो अवस्था आएको सहजै अनुमान लगाउन सकिन्छ ।

आज विहान ८ बजे नेपाली कांग्रेको तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरु उप प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको कार्यकक्षमा भेला भएका थिए । होटल बसेराबाट प्रतिप्लेट दुई हजार पाँच सय रुपैयाँ पर्ने खाजा खाएर पौने १२ बजेतिर मात्रै कांग्रेसी मन्त्रीहरु बाहिरिएका थिए ।

स्रोतका अनुसार गृहमन्त्री रमेश लेखकदेखि अन्य सबै कांग्रेसी मन्त्रीहरुले आज विहान गोप्य मन्त्रणा गरेका छन् । नेपाली कांग्रेसबाट सरकारमा सहभागी एक मन्त्रीले आज विहान उपप्रधानमन्त्री प्रकाशमान सिंहको कार्यकक्षमा बैठक बसेको स्वीकार गर्दै समसामयिक विषयमा छलफल भएको बताए । बैठकका निर्णयबारे भने ति मन्त्रीले केही बताएनन् ।

उता, सत्ता गठबन्धन कांग्रेससँगै सहमति हुन नसकेपछि दल विभाजन सम्बन्धी अध्यादेशमा लफडा परेपछि मन्त्रिपरिषदको नियमित बैठक समेत आज स्थगित हुन पुग्यो । मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहिबार बस्ने गर्दछ ।

उता, कांग्रेसका मन्त्रीहरुको छुट्टै गोप्य बैठक गरेको मन्त्रिपरिषदको बैठक समेत स्थगित गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुढानिलकण्ठ, भंगालस्थित पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा साढे दुई घण्टा गोप्य छलफल गरेर बालुवाटार फर्केका छन् ।

आजै नेकपा माओवादीले छ महिने अभियान लिएर जनताको बीचमा जाने निर्णय गरेकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति भण्डारीसँग गोप्य भेटवार्ता गरेका हुन् । दुई नेताका बीचमा भएको गोप्य वार्ताको बिषयबस्तु बाहिर आएको छैन । यद्यपि पूर्व राष्ट्रपति र प्रधानमन्त्री बीचको भेटवार्तको तस्विरमा प्रम ओली केही गुमाए झै निराश देखिएका छन् भने पूर्व राष्ट्रपति भण्डारी प्रफुल्ल मुद्राको तस्विर बाहिर आएको छ ।

आज साँझ करिब पाँच बजेतिर ललितपुरको च्यासलस्थित एमालेको मुख्यालयमा आयोजित पार्टीको बैठक सके लगत्तै प्रम ओली भंगाल पुगेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली करिब साँझ ७ः०० बजेतिर मात्रै फर्केका थिए ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली यतिबेला सत्ता जोगाउन भगिरथ प्रयास गरिरहेका छन् । पछिल्लो समय कांग्रेस र माओवादीका बीचमा पटक पटक भेटवार्ताहरु भइरहेका छन् । पछिल्लो पटक माओवादीसँग मिलेर कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन हुन लागेको बिषय पनि निकै चर्चामा छ । उता, रास्वपाका नेता रवि लामिछानेलाई जेलमा कोच्ने निर्णय भएमा त्यसले ल्याउने भुईचालोले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्टिने खतरा बढिरहेको बेला प्रम ओलीले पूर्व राष्ट्रपति बिद्या भण्डारीसँग रणनीतिक रुपमा अढाई घण्टा भेटवार्ता गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*