आन्तरिक बढुवामार्फत कार्यकारी निर्देशक नियुक्त गर्ने प्राधिकरणको निर्णय, अन्य पदमा पनि बढुवा एकैसाथ
काठमाडौं । लामो समयदेखि अलपत्र रहेको बीमा प्राधिकरणको कार्यकारी निर्देशकसहितका उच्च तहका पदहरुमा आन्तरिक बढुवा प्रक्रियाद्वारा पदपूर्ति गर्ने बीमा प्राधिकरणले निर्णय गरेको छ । प्राधिकरणलाई लोकसेवा आयोगले नयाँ दरबन्दी स्वीकृत गरेसँगै आजै प्राधिकरणले यस्तो निर्णय गरेको हो ।
लोकसेवा आयोगले स्वीकृति दिएसँगै बीमा प्राधिकरणले रिक्त कार्यकारी निर्देशक, निर्देशक, उप निर्देशक, सहायक निर्देशक र सुब्बा समेत गरी करिब २० भन्दा बढि पदहरु पदपूर्ति गर्ने निर्णय गरेको हो । प्राधिकरणको कार्यकारी निर्देशकमा एक जना नियुक्त हुनेछन् । बीमा प्राधिकरणमा निर्देशकहरु कमल रेग्मी, सुशिल सुवेदी र पुजन ढुंगेल मध्ये सबैभन्दा धेरै नम्वर पाउने एक जना कार्यकारी निर्देशक बन्नेछन् । त्यस्तै, चार जना उप निर्देशकबाट निर्देशकमा बढुवा हुनेछन् ।
बीमा प्राधिकरणमा हाल सहायक निर्देशक पदमा कार्यरत रहेकाहरुबाट उप निर्देशकमा छ जना बढुवा हुनेछन् । जसमा कानुन शाखाबाट दुई जना मध्ये दुवै जनाको फाइल बढुवामार्फत उप निर्देशक हुनेछन् । त्यस्तै, प्रशासनतर्फबाट उप निर्देशक चार जना बढुवा हुनेछन् । जसमा तीन फाइल बढुवा हुनेछ भने एक आन्तरिक प्रतिस्पर्धाबाट हुनेछ ।
सहायक निर्देशक र सुब्बा समेत गरी कूल २० पदहरुमा आन्तरिक बढुवा प्रक्रियामार्फत पदपूर्ति गर्ने निर्णय गरिएको बीमा प्राधिकरणले जनाएको छ । त्यस्तै, केही पदहरुमा खुल्ला प्रतिस्पर्धाबाट समेत पदपूर्ति गर्ने निर्णय भएको छ ।
उक्त पदहरुमा पदपूर्तिका लागि गोरखा पत्रमा सार्वजनिक सूचना प्रकाशित गरी लोकसेवा आयोगको प्रक्रिया पुरा गरेर मात्रै नयाँ नियुक्ती प्रक्रिया पुरा हुनेछ ।