ग्लोबल आईएमई बैंकको १८ वर्षको यात्रा, बैंकिङ्क क्षेत्रमा खडा भयो विशाल साम्राज्य
काठमाडौँ । ग्लोबल आईएमई बैंकले आज आफ्नो १८ औं वार्षिकोत्सव मनाउँदै छ । नेपालमा बैंकिङ क्षेत्रको इतिहास पल्टाउने हो भने, ग्लोबल आईएमई बैंकको यात्रा अद्वितीय छ । बैंकले २०६३ सालमा आफ्नो सुरुवात गरेको थियो । यस अवधिमा आइपुग्दा ग्लोबलले विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरूसँग मर्जर र प्राप्ति प्रक्रियाबाट मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्ने सफलताको कथा लेखेको छ ।
२०६३ साल पुस १८ गते क्षेत्रीयस्तरको वाणिज्य बैंकको रूपमा स्थापना भएको ग्लोबल बैंकको यात्रा २०६५ सालमा आईपीओ निष्काशनको अनुमति पाएपछि नयाँ उचाइमा पुग्यो । ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ जारी गरेपछि बैंकको चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुगेको थियो ।
२०६५।६६ मा २ः१ को अनुपातमा ५० प्रतिशत हकप्रद शेयर जारी गरेपछि बैंकको चुक्ता पुँजी डेढ अर्ब पुगेको थियो । २०६६।६७ देखि बैंकले निरन्तर लाभांश वितरण गर्दै आएको छ । अधिकतम २५।५ प्रतिशतसम्म लाभांश प्रदान गरेको यस बैंकले ३ वटा आर्थिक वर्षबाहेक हरेक वर्ष दोहोरो अंकको लाभांश वितरण गरेको छ ।
मर्जरको इतिहास
ग्लोबल आईएमई बैंकको मर्जरलाई देशकै उदाहरणीय मानिन्छ । आजको ग्लोबल आईएमई बैंकको विशाल साम्राज्यभित्र नेपालका २१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बनेको ग्लोबल आइएमई बैंक लिमिटेडमा ५ वटा (क) वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित भइसकेका छन् ।
वि.सं. २०६३ सालमा १८ औं वाणिज्य बैंकको रूपमा स्थापित ग्लोबल आइएमई बैंक १ अर्ब ५० करोड चुक्ता पूँजीसहित स्थापना भएको थियो । २१ वटा बैंक तथा वित्तीय संस्थासँग गाभिएर बनेको ग्लोबल आईएमई अहिले देशकै ठूूलो बैंक हो ।
तत्कालीन ग्लोबल बैंकले आइएमई फाइनान्सिएल इन्स्ट्यिुटलाई २०६८ माघ २० गते मर्ज गरेको थियो । यो मर्जर बैंक तथा वित्तीय संस्थाहरुमै सबैभन्दा पहिलो मर्जर थियो । उक्त समयमै लर्डबुद्ध फाइनान्सलाई पनि गाभिएको थियो । तीन संस्था गाभिएपछि संस्थाको नाम २०६९ असार २५ गतेदेखि ग्लोबल आईएमई रहेर एकीकृत कारोबार भएको हो ।
त्यसपछि बैंकमा सोसल डेभलपमेन्ट बैंक, गुल्मी विकास बैंक, कमर्स एन्ड ट्रस्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक र रिलायबल विकास बैंक पनि गाभिए । रिलायबल बैंकमा त्यसअघि नै कन्जुमर डेभलपमेन्ट बैंकलगायत तीन वटा विकास बैंक मर्ज भइसकेका थिए । त्यसपछि हाथवे फाइनान्स पनि ग्लोबल आइएमई बैंकमा गाभियो । त्यसपछि अर्को वाणिज्य बैंक जनता बैंकसँग मर्जर भयो । नेपालको बैंकिङ इतिहासमा यस मर्जरलाई पहिलो बिग मर्जर भनिन्छ । जनता बैंक र ग्लोबल आइएमईले मर्जरपछि ०७६ मङ्सिर २० बाट एकीकृत कारोबार सुरु गरेका थिए । त्यसपछि बैंक अफ काठमाण्डूलाई गाभेपछि नेपालकै नम्बर वान बैंक बनेको छ ।
शेयरधनीको लाभ
ग्लोबल आईएमई बैंकले आईपीओ निष्काशनदेखि अहिलेसम्म निरन्तर लाभांश वितरण गर्दै आएको छ । यदि कुनै लगानीकर्ताले बैंकको आईपीओमा १०,००० रुपैयाँ लगानी गरेको भए, हालसम्म उक्त लगानीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । बैंकले १५ वर्षदेखि लगातार लाभांश वितरण गर्दै आएको छ ।
बैंकको लाभांश इतिहास
आर्थिक वर्ष २०६८/७९: १३ प्रतिशत
आर्थिक वर्ष २०६९/७०: १५ प्रतिशत
आर्थिक वर्ष २०७०/७१: २५ प्रतिशत
आर्थिक वर्ष २०७१/७२: २३ प्रतिशत
आर्थिक वर्ष २०७२/७३: १५.७६ प्रतिशत
आर्थिक वर्ष २०७३/७४: २० प्रतिशत
आर्थिक वर्ष २०७४/७५: १६ प्रतिशत
आर्थिक वर्ष २०७५/७६: २५।५० प्रतिशत
आर्थिक वर्ष २०७६/७७: १६ प्रतिशत
आर्थिक वर्ष २०७७/७८: १३.५० प्रतिशत
आर्थिक वर्ष २०७८/७९: १३.६ प्रतिशत
आर्थिक वर्ष २०७९/८०: ९ प्रतिशत
आर्थिक वर्ष २०८०/८१: ५.५ प्रतिशत
व्यवसायिक विस्तार
ग्लोबल आईएमई बैंक हाल मुलुकका सबै ७७ जिल्लामा शाखा सञ्जाल रहेको पहिलो निजी वाणिज्य बैंक हो। बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २३७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयमार्फत १,१०० भन्दा बढी सेवा केन्द्र सञ्चालन गर्दै आएको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई लगायतका मुलुकहरूबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ।
वित्तीय प्रदर्शन
ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ अर्ब ६६ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । बैंकको कुल कारोबार ९ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ ।
कर्जा प्रवाहमा पनि बैंक अग्रस्थानमा छ । १५ महिनाको अवधिमा बैंकले २७ अर्ब रुपैयाँले कर्जा प्रवाह वृद्धि गर्दै ४ खर्ब १० अर्ब रुपैयाँ पुर्याएको छ । बैंकको लागत आय अनुपात ३६.३० प्रतिशत छ भने कर्मचारीमा १ रुपैयाँ खर्च गर्दा ह्यान्डल हुने बिजनेसको आकार १००७ रुपैयाँ रहेको छ । हालसम्मको तथ्यांकअनुसार बैंकको सञ्चित वितरणयोग्य नाफा १ अर्ब ९१ करोड रहेको छ जुन वाणिज्य बैंकहरुमध्ये पाँचौं धेरै हो ।
ग्लोबल आईएमई बैंकको यात्रा नेपाली बैंकिङ क्षेत्रको लागि प्रेरणादायक छ । १८ वर्षको यात्रामा बैंकले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै ठूलो व्यवसायिक साम्राज्य खडा गरेको छ ।