कर्णाली डेभलपमेन्ट बैंकले निक्षेप भुक्तानी सुरु, पहिलो चरणमा विशेष समूहलाई प्राथमिकता
काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकले निक्षेप भुक्तानी सुरु गर्ने जानकारी दिएको छ। नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहको नेतृत्वमा सञ्चालन भइरहेको बैंकले हालको तरलता अवस्थालाई मध्यनजर गर्दै प्राथमिक चरणमा पुष १७ गतेदेखि १६ वटा शाखाबाट निक्षेप भुक्तानीको व्यवस्था गरेको हो।
बैंकले विशेषत बिरामी, वृद्ध र बालबालिकाको औषधी उपचार प्रयोजनका लागि अधिकतम २५ हजारका दरले प्रति शाखा ५० जनासम्म निक्षेप भुक्तानी दिने जनाएको छ। यसका लागि ग्राहकहरूले आवश्यक कागजात पेश गर्नुपर्नेछ।
भुक्तानी प्रदान गरिने शाखाहरूमा नेपालगंजस्थित केन्द्रीय कार्यालयसहित तुल्सीपुर, लमही, गुलरिया, बाँसगढी, भुरीगाउँ, घोराही, कोहलपुर, खजुरा, सानोश्री, भालुवाङ, गढवा, राजापुर, ठाकुरद्वारा, नारायणपुर र सिसहनिया शाखा रहेका छन्।
भुक्तानी प्रक्रिया बिहान ११ बजे सुरु हुनेछ। बैंकले ग्राहकहरूको असुविधा प्रति क्षमा माग्दै, तरलता व्यवस्थापन सुधारसँगै भुक्तानीको दायरा क्रमशः विस्तार गर्दै जाने बताएको छ।