नेपालमा करोडौं पर्ने टेस्लाको मोडेल ३ र वाईमा सफ्टवेयर समस्या रहेको पृष्टि, ७७ हजार गुणस्तरहीन गाडि फिर्ता
काठमाडौँ । चीन सरकारले ७७ हजार ६५० वटा स्वदेशमै उत्पादित टेस्ला इलेक्ट्रिक सवारी साधनमा गुणस्तरहीन भएको पृष्टि गरेको छ । चिनको नियामक निकायले टेस्लाको मोडेल ३ र मोडेल वाईमा सफ्टवेयर समस्या रहेको भन्दै फिर्ता बोलाएको हो ।
टेस्लाका साथसाथै अन्य चार गाडी निर्माता कम्पनीका ८८ हजारभन्दा बढी सवारी साधन फिर्ता गर्ने निर्णय गरेको छ । यी सवारी साधनमा सुरक्षासम्बन्धी समस्या देखिएपछि चीनको बजार नियामक निकाय, स्टेट एडमिनिस्ट्रेशन फर मार्केट रेगुलेसनले मंगलबार (पुष १६ गते) फिर्ता बोलाउने घोषणा गरेको हो । यी सवारी साधनमा रहेको सफ्टवेयर समस्याका कारण टायरको चाप निगरानी प्रणालीद्वारा पत्ता लगाइएका समस्या तत्कालै प्रदर्शनमा नदेखिने सम्भावना रहेको पाइएको छ ।
यसका साथै, अमेरिकी निर्माता टेस्लाका ६३ वटा आयातित मोडेल एस र मोडेल एक्स गाडीहरूमा एयरब्यागसम्बन्धी त्रुटि देखिएपछि ती गाडी पनि फिर्ता गरिएका छन् । यो निर्णय गत अगस्ट महिनामा १६ लाख ८० हजारभन्दा बढी टेस्ला गाडीमा देखिएको फ्रन्ट ट्रंक सम्बन्धी समस्या समाधान गर्न निर्देशन दिइएपछि गरिएको अर्को ठूला फिर्ताको पछिल्लो श्रृंखला हो ।
यता, ग्वाङ्झाउस्थित जिएएसी ट्रम्प्ची कम्पनीले ७४ हजार ४२२ वटा सवारी साधन फिर्ता गर्नुपर्नेछ । सफ्टवेयर समस्याका कारण आपतकालीन अवस्थाहरूमा महत्त्वपूर्ण जानकारी प्रदर्शन गर्न नसक्ने समस्या पाइएको छ । जर्मनीका निर्माता मर्सिडिज–बेन्जले ४,७४८ आयातित सवारी साधनहरूमा इन्जिन परीक्षण सम्बन्धी त्रुटि र खुकुला बोल्टका कारण पर्याप्त रूपमा सुरक्षा सुनिश्चित गर्न नसकिएको समस्या समाधान गर्नुपर्ने भएको छ ।
जर्मनीकै ट्रक निर्माता एमएएन एसई लाई ४१ ट्रकहरूमा उच्च तापक्रम प्रतिरोधी समस्या भएका सकेटहरू मर्मत गर्न निर्देशन दिइएको छ । अमेरिकी निर्माता क्रिस्लरले २,०४० आयातित जिप ग्रान्ड चेरोकी सवारी साधनमा सिग्नल सामग्रीसम्बन्धी त्रुटि समाधान गर्नुपर्नेछ । यसको अभिभावक कम्पनी स्टेलान्टिसलाई पनि २,४५९ आयातित जिप ग्रान्ड चेरोकी ४एक्सइ मा ब्याट्री सम्बन्धी समस्या समाधान गर्न निर्देशन दिइएको छ ।
चीनको बजार नियामक निकायले सुरक्षासम्बन्धी यी गम्भीर समस्याहरू समाधान गर्न विभिन्न गाडी निर्माता कम्पनीहरूलाई निर्देशन दिएको छ । तर नेपालका लागि टेस्लाको गाडि बिक्री गरि रहेको अरिती इन्टरनेशनलले गुणस्तरहीन गाडि धमाधम बिक्री वितरण गर्दै आइरहेको छ । गाडि फिर्ताका लागि कम्पनीले कुनै जानकारी दिएको छैन । उल्टै टेस्ला गाडि बिक्री गरि रहेका कम्पनी सीइओ विकास श्रेष्ठले नेपालमा प्रभाव नपर्ने तर्क दिदै आइरहेका छन् ।
टेस्लाको मोडल थ्री नेपाली बजारमा १ करोड ३५ लाख रुपैयाँ र मोडेल वाई १ करोड ७५ लाख रुपैयाँ बिक्री हुँदै आइरहेको छ ।