पुँजी बजारमा झिनो सुधारः खुम्चियो कारोबार, लगानीकर्ताको मनोबल दरिलो बनाउनु आवश्यक हो ?
काठमाडौँ । शेयर बजारमा झिनो सुधार देखिएको छ । बजारमा सामान्य सुधारले लगानीकर्तामा उत्साह आउन सकेको छैन । नेप्से सूचक लगातार घट्दै २५०० को स्तरमा पुगेको छ, जसको कारण बजारमा अन्योलता कायम छ । यसले लगानीकर्ताहरूको मनोबलमा गिरावट ल्याएको छ र उनीहरू अझै आगामी समयको बारेमा अनिश्चितता व्यक्त गरिरहेका छन् ।
बजारमा आएको गिरावटको प्रमुख कारण नियामक निकायहरूको कडा कदम रहेको छ। हालै नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकमाथि कारबाही गरेपछि बजारमा थप अस्थिरता आएको हो। यसका साथै, फाइनान्स समूहमा देखिएको ठूलो गिरावटले पनि लगानीकर्ताहरूको विश्वासमा कमी ल्याएको छ, जसले बजारलाई थप कमजोर बनाएको छ। विश्लेषकहरूले यसलाई अन्य फाइनान्स कम्पनीहरूसँग जोडेर हेरेका छन्।
यद्यपि, वर्तमान परिस्थितिमा दीर्घकालीन लगानीकर्ताहरूका लागि अवसर बन्न सक्ने संकेत देखिएका छन्। बजार घटेर धेरै कम्पनीका सेयर मूल्यहरू सस्तो भएका छन्। विशेषगरी, वाणिज्य बैंकहरूको सेयर मूल्य कम भएकोले यस क्षेत्रमा लगानीकर्ताहरूको ध्यान केन्द्रित हुने अपेक्षा गरिएको छ। यो अवसरको लाभ लिनका लागि केही लगानीकर्ताहरू सक्रिय भएका छन् भने केही भने अझै पर्ख र हेरको अवस्थामा छन्।
विज्ञहरूको अनुमान छ कि आगामी दिनमा बजारले गति लिन सक्ने सम्भावना रहेको छ। साधारण सभाहरू सम्पन्न भइसकेपछि कम्पनीहरूले लाभांश वितरण सुरु गर्ने प्रक्षेपण गरिएको छ । यसले लगानीकर्ताहरूको मनोबल पुनः बलियो पार्नेछ र बजारमा सकारात्मक प्रभाव पर्न सक्छ ।
नेप्से ५.१० अकंले बढेर २५८१.६० बिन्दुमा कायम भएको छ । आज ३०५ कम्पनीको ९४ लाख ३४ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५९ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
आज आठ उपसूचकमा हरियाली आएको छ । विकास बैंकको १.६८ प्रतिशत, फाइनान्स समूहको ३.८७ प्रतिशतले शेयर मूल्य बढेको छ ।