बिवाईडीको अन्तर्राष्ट्रिय बजारमा गुणस्तर समस्या, बिक्रीमा गिरावटको चुनौती
काठमाडौँ । चिनियाँ विद्युतीय सवारी निर्माता बिवाईडी आफ्नो घरेलु र अन्तर्राष्ट्रिय विस्तारको क्रममा नयाँ चुनौतीहरूको सामना गरिरहेको छ । द वाल स्ट्रिट जर्नलको पछिल्लो रिपोर्टअनुसार युरोप, मध्यपूर्व र दक्षिण एसियामा पठाइएका चिनियाँ–बनावट बिवाईडी मोडेलहरूमा गुणस्तर सम्बन्धी समस्या देखा परेको हो ।
२०२३ मा बिवाईडीले कीर्तिमानी बिक्री गर्दै टेस्लालाई पछि पार्दै विश्वकै सबैभन्दा ठूलो विद्युतीय सवारी निर्माता बन्न सफल भएको थियो । सन् २०२४को अन्त्यसम्म बिवाईडी बजार पुँजीकरणमा टेस्ला र टोयोटापछि तेस्रो स्थानमा रहेको थियो ।
रिपोर्टका अनुसार, चीनबाट निर्यात गरिएका बिवाईडी सवारीहरू गन्तव्यमा पुगेपछि धेरै समस्या देखिएका छन् । जापानमा आएका गाडीहरूमा खरोंच देखिएको छ भने युरोपमा पुगेका गाडीहरूमा ढुसी (मोल्ड) लागेको पाइएको छ ।
विशेषगरी, युरोपमा समस्या थप गम्भीर बनेको छ । लामो समयसम्म आद्र्र मौसममा भण्डारण गर्दा सवारी साधनमा ढुसी लाग्न सक्ने भए पनि बिवाईडीका गाडीहरूमा ढुसी हटाउने उचित प्रक्रिया अपनाइएको थिएन ।
थाइल्याण्डमा, जहाँ चिनियाँ विद्युतीय सवारी साधनहरूले बजारमा प्रभुत्व जमाएका छन्, बिवाईडीका सवारी साधनहरूमा रङ र प्लास्टिक छाला छुट्ने समस्या देखिएको छ । यसैगरी, इजरायलमा बिवाईडीका विद्युतीय सवारी साधनहरूमा छतमा राखिएका सामानहरूको भारले गाडीमा विकृति आएको बताइएको छ ।
युरोपका गोदामहरूमा झण्डै १० हजार बिवाईडी गाडीहरू बिक्रीको पर्खाइमा रहेका छन् । ती गाडीहरू गत वर्षको अन्त्यदेखि नै बिक्रीका लागि तयार अवस्थामा राखिएका थिए । ग्लोबल ढुवानी मार्गमा गुणस्तर नियन्त्रण कायम गर्नु बिवाईडीका लागि नयाँ चुनौती बनेको छ ।