कर्णाली डेभलपमेन्ट बैंकका सिईओ निरज बिक्रम शाह बेपत्ता
काठमाडौं । समस्याग्रस्त कर्णाली विकास बैंकका सिईओ निरज बिक्रम शाह फरार भएका छन् । गत पुस ११ गतेदेखि नेपाल राष्ट्र बैंकले व्यवस्थापन नियन्त्रणमा लिएपछि सो बैंकका सिईओ पक्राउ पर्ने डरले फरार भएका हुन् । बैंकभित्र एक अर्ब २६ करोड रुपैयाँ निक्षेप अपचलन गरेको प्रारम्भिक प्रतिवेदन नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।
अपडेटः केहीबेरअघि कर्णाली डेभलपमेन्ट बैंकका सिईओ निरज बिक्रम शाहले ९८४८….. ०३२ बाट टेलिफोन गरी बीमापोष्टमा सम्पर्क गरी आफू कतै नगएको र अनुसन्धानमा सघाउन नेपालमै रहेको जानकारी दिएका छन् ।
नेपाल राष्ट्र बैंकले पुस ११ गतेदेखि कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन नियन्त्रणमा लिने निर्णय गर्दै बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा वित्तीय संस्था सुपरिवेक्षण विभागकै उप निर्देशक बिष्णु कुमार विश्वकर्मा र कानुन महाशाखाका उप निर्देशक जुगल किशोर कुशवाहसहित तीन सदस्यीय समितिलाई कर्णाली डेभलपमेन्ट बैंकमा पठाएको थियो ।
सो समितिले छानविनको क्रममा पूर्व अध्यक्ष तथा सिईओ राजेन्द्र वीर राय, पूर्व सिईओ दिनेश कुमार रावत, पूर्व वित्त प्रमुख वेद प्रकाश सिंह ठकुरी र हालका सिईओ तथा तत्कालिन वित्त विभाग प्रमुख निरज बिक्रम शाहको मुख्य संलग्नता भेटिएको छ । शाहले छानविनमा सहयोग गर्न आनकानी गरिरहेका छन् ।
कर्णाली डेभलपमेन्ट बैंकका वर्तमान अध्यक्ष ओम प्रकाश मिश्रले नै ठूलो मात्रामा रकम अपचलन भएको र सो रकम सिईओ तथा पूर्व अध्यक्षबाट भएको जानकारी राष्ट्र बैंकलाई दिएका छन् । कर्णाली डेभलपमेन्ट बैंकले अन्य बैंकका खातामा रकम राखेको भन्ने नक्कली ब्यालेन्स सर्टिफिकेट बनाएर बैंकका पूर्व अध्यक्ष तथा सिईओहरुले रकम लगेको अनुमान गरिएको छ । उक्त रकम कहाँ र कसरी लगे भन्ने विस्तृत विवरण आउन बाँकी नै छ ।
*यसअघि सिईओ निरज बिक्रम शाह भारत भागेको भन्ने समाचार सम्पादन गरिएको छ ।