डोटीको दिल्पेश्वर स्पोर्ट्स क्लबद्वारा खुल्ला पुरुष भलिबल प्रतियोगिता, प्रथमलाई साढे एक लाख नगद पुरस्कार
काठमाडौँ । दिपायल सिलगढी नगरपालिका वडा ३ मा रहेको दिल्पेश्वर स्पोर्ट्स क्लबले खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘दिल्पेश्वर भलिबल लिग (डीभीएल–२)’ नामक यस प्रतियोगिता २०८१ साल माघ १० गतेदेखि दिल्पेश्वर खेल मैदान, दीपायलमा सुरु हुनेछ । प्रतियोगिताले क्षेत्रीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न महत्वपूर्ण अवसर प्रदान गर्नुका साथै भलिबल खेलको विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
क्लबले प्रतियोगिताको उद्देश्य खेलकुदको प्रवद्र्धन, युवालाई सकारात्मक क्रियाकलापतर्फ प्रेरित गर्ने र स्थानीय प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म लैजाने अवसर प्रदान गर्ने रहेको बताएको छ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीलाई १ लाख ५१ हजार १११ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने टोलीहरूले क्रमशः ६१ हजार १११ रुपैयाँ र २८ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै, ‘म्यान अफ द म्याच’ पुरस्कारका लागि ५०० रुपैयाँ छुट्याइएको छ भने ‘वेस्ट स्पाइकर’, ‘वेस्ट लिफ्टर’ र ‘वेस्ट डिफेन्डर’लाई जनही ३,५०० रुपैयाँ प्रदान गरिने क्लबले जनाएको छ।
प्रतियोगिताको अनुमानित लागत ७ लाख १० हजार रुपैयाँ रहेको छ । यसमा कार्यक्रम व्यवस्थापन, अतिथि स्वागत, निर्णायक पारिश्रमिक, पुरस्कार वितरण, विज्ञापन र विविध खर्चका लागि रकम छुट्याइएको छ । प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन दुईवटा समिति गठन गरिएको छ ।
प्रतियोगिता ब्यवस्थापन समिति संयोजकको जिम्मेवारी मनोहर माझीले सम्हाल्नेछन् । विष्णु बहादुर खड्का र लाकेन्द्र कठायत सदस्यका रूपमा रहनेछन् । यता, प्रतियोगिता संचालन मुल समितिमा सिताराम नाथ संयोजक, अमर खड्का सह–संयोजक र रामभक्त सुनार, प्रेम खड्का मालिंगा, सुवास विष्ट र गोविन्द राज जोशी सदस्यका रूपमा रहनेछन् ।
प्रतियोगिता दिल्पेश्वर मठस्थित खेल मैदानमा आयोजना हुनेछ । क्लबले यस स्थानलाई खेलकुद गतिविधिहरूको प्रमुख केन्द्रका रूपमा विकास गर्न चाहेको छ । यस क्षेत्रका खेलकुद उत्साहीहरूका लागि यो प्रतियोगिता एक महत्वपूर्ण अवसर मात्र नभई सामाजिक एकताको माध्यमसमेत बन्ने क्लबको विश्वास छ ।
यस क्लबले डोटी जिल्लामा विभिन्न खेलकुदका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । केही समय अगाडि सोही क्लबले क्रिकेट लिग समेत सफल पारिसकेको छ ।
सुदूरपश्चिम प्रदेशको भौगोलिक चुनौतीका बाबजुद पनि यस किसिमका खेलकुद प्रतियोगिताहरूले युवाहरूलाई खेलकुदमा संलग्न गराउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको नाम उजागर गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । खेलकुद क्षेत्रको विकास र युवाको सकारात्मक उन्नयनका लागि दिल्पेश्वर स्पोट्र्स क्लबले आयोजना गर्न लागेको यो प्रतियोगिता क्षेत्रीय खेलकुदप्रेमीहरूका लागि एक महत्त्वपूर्ण अवसर बन्नेछ ।