वित्तीय अवस्था कमजोर आत्मनिर्भरमा माफियाको रजगज: सूचना चुहाएर शेयर मूल्यमा चलखेल, नेप्से मुकदर्शक
काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा ठूलो चलखेल भएको छ। कम्पनीका उच्च व्यवस्थापककै मिलेमतोमा शेयर मूल्यमा चलखेल भएको हो। कम्पनीले लाभांश प्रस्तावसम्बन्धी सूचना लुकाएर बजारमा इन्साइडर ट्रेडिङको आरोप लागेको छ।
कम्पनीले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को व्यवस्थामाथि नै धज्जी उडाउँदै कम्पनीले लाभांश प्रस्तावसम्बन्धी सूचना लुकाएको हो। नगद लाभांश, बोनस शेयर, हकप्रद शेयर वा थप शेयर निष्कासनसम्बन्धी निर्णय भएका सो निर्णय हुनेवित्तिकै सञ्चालक समितिको बैठक बसेको समयसमेत उल्लेख गरी नेप्सेलाई उपलब्ध गराउनु पर्ने व्यवस्था रहेको छ। तर, आत्मनिर्भरले १४.२५ प्रतिशत बोनस र ०।७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव समयमा नै नेप्सेलाई नपठाएर इन्साइडर ट्रेडिङ गरेको आरोप लागेको हो।
कम्पनीको मंसिर ३० गते बसेको सञ्चालक समितिले १५ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो। तर, उक्त सूचना नेप्सेलाई नपठाई नेपाल राष्ट्र बैंकलाई स्वीकृतिका लागि पठाइएको पाइएको हो। लाभांश घोषणा गरेको ७ दिनपछि अर्थात् पुष ७ गते मात्र उक्त सूचना नेप्सेमा गएको हो। सोही दिन कम्पनीले वार्षिक साधारणसभा र लाभांश घोषणाको कुरा नेप्सेलाई पठाएको हो।
ढिलोगरी सूचना नेप्सेलाई पठाएको भन्दै नेप्सेले पुष ८ गते कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो। नेप्सेले कम्पनीको यस्तो ढिलासुस्तीलाई गम्भीर रूपमा लिँदै, धितोपत्र कारोबार रोक्का गर्ने कदम चाल्नुअघि इन्साइडर ट्रेडिङका कारण सर्वसाधारण लगानीकर्ताहरू मुनाफाबाट वञ्चित भएको सम्भावनालाई औंल्याएको थियो। तर, आत्मनिर्भर लघुवित्तले गल्ती स्वीकार्दै आगामी दिनमा यस्ता त्रुटि नदोहोऱ्याउने प्रतिबद्धता मात्र व्यक्त गर्दा नेप्सेले कुनै थप कारबाही नगरी कारोबार फुकुवा गरेको हो। नेप्सेको सूचीकरण विभागले भन्यो, ‘हामीले ढिला सूचना र कारोबार समयमा प्रकाशित गरेको भन्दै कारबाही गरेका हौं। स्पष्टिकरण दिएर गल्ती स्वीकार गर्दै नदोहोरिने कुरा प्रस्तुत गरेपछि कारोबार फुकुवा गरिएको हो।’
यो निर्णयले नेप्सेको नियमन क्षमतामा गम्भीर प्रश्न खडा गरेको छ। लगानीकर्ताहरूले कम्पनीलाई प्रावधानविपरीत काम गर्दा समेत स्पष्टिकरणका नाममा सजिलै उम्कन दिनु नेप्सेको कमजोरी भएको टिप्पणी गरेका छन्। कम्पनीको सञ्चालक समितिको लाभांशसम्बन्धी निर्णयलगत्तै सीमित लगानीकर्ताहरूले मात्र यसबारे जानकारी राख्दै शेयर कारोबार गरेका हुन् भन्ने आरोप उठेको छ। तर, यस्तो गम्भीर विषयलाई नेप्सेले कानूनी रूपमा व्याख्या गर्ने ठाउँमा सामान्य गल्तीका रूपमा बुझेर माफी दिनु नियामक निकायको निष्पक्षतामा प्रश्न उठाउन पर्याप्त छ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ ले धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना समयमै दिनुपर्ने स्पष्ट प्रावधान गरेको छ। नेप्सेले पनि कम्पनीलाई उक्त नियम उल्लङ्घन गरेको ठहर गर्दै ३ कार्य दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको थियो। यद्यपि, कम्पनीको सामान्य उत्तरलाई नै कारबाही फुकुवाको आधार बनाउनुले नेप्सेले आफ्नो नियामक भूमिकामा कठोरता देखाउन नसकेको तथ्य उजागर भएको छ।
वित्तीय अवस्था टाट पल्टिन लागेको आत्मनिर्भरको शेयर मूल्य भने माइक्रोफाइनान्समध्येकै उच्च रहेको छ। हाल कम्पनीको शेयर मूल्य ५ हजार ५४० रुपैयाँ रहेको छ। नाफा, प्रतिशेयर आम्दानी घट्दो क्रममा रहेको र खराब कर्जा थप चुलिँदै गएको कम्पनीको शेयर मूल्यमा आइरहेको सुधारले माफियाको रजगज भएको प्रष्ट भएको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले ४३ लाख ५३ हजार रुपैयाँ ऋणात्मक रहेको छ। कम्पनीको चुक्ता पुँजी ६ करोड ८५ लाख रुपैयाँ रहेको छ भने संस्थाको जगेडा कोषमा २० करोड ५ लाख रुपैयाँ छ। हाल कम्पनीको एनपीएल १४.४३ प्रतिशत पुगेको छ। जुन राष्ट्र बैंकको सीमा भन्दा अत्यधिक बढी हो। वित्तीय अवस्था नाजुक रहेको कम्पनीको शेयर मूल्य उचालिँदा कम्पनीका व्यवस्थापककै जोडबलमा चलखेल भइरहेको आरोप लाग्दै आइरहेको छ।