राताम्य पुँजी बजारः २५ सयको लाइनमा परिसूचक, डुबे फाइनान्स र विकास बैंकका लगानीकर्ता

१६ पुष २०८१, मंगलवार १५:०६

काठमाडौँ । शेयर बजारमा लगानीकर्ताहरूको मनोबल खस्किँदै गएको छ । नेप्से सूचक लगातार घटेर २५ सयको स्तरमा झरेपछि लगानीकर्ताहरू अझै अन्योलमा देखिएका छन् । यस्तो अवस्थामा बजारले सकारात्मक दिशा लिन नसक्दा अल्पकालीन कारोबार गर्ने व्यापारीहरूको सक्रियता बढेको छ भने दीर्घकालीन लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा पुगेका छन् ।

बजारमा आएको गिरावटको प्रमुख कारण नियामक निकायहरूको कडा कदमलाई मानिएको छ । हालै नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकमाथि कारबाही गरेपछि लगानीकर्ताहरू थप सतर्क भएका छन् । फाइनान्स समूहमा देखिएको ठूलो गिरावटले पनि लगानीकर्ताहरूको मनोबलमा प्रत्यक्ष प्रभाव पारेको छ । यो घटनालाई बजार विश्लेषकहरूले अन्य फाइनान्स कम्पनीहरूसँग जोडेर हेरेका छन्, जसले बजारको समग्र अवस्थालाई थप कमजोर बनाएको छ ।

नेप्से सूचकले २६ सयको मनोवैज्ञानिक स्तर तोडेर २५ सयको स्तरमा झर्दा धेरै लगानीकर्ताले किनबेचमा स्पष्ट निर्णय लिन सकेका छैनन् । बजारमा लगातारको उतार–चढावका कारण दैनिक कारोबार रकम पनि औसतमा कम देखिएको छ । यस्तै अवस्थामा थोरै वृद्धि हुने बित्तिकै अल्पकालीन कारोबारीहरूको चापले सूचकलाई दबाबमा राखेको छ ।

हालको अवस्था दीर्घकालीन लगानीकर्ताहरूका लागि अवसर बन्न सक्ने अनुमान गरिएको छ । लामो समयसम्म बजार घट्दा धेरै कम्पनीका सेयर मूल्यहरू सस्तो भएका छन्। विशेषगरी वाणिज्य बैंकहरूको सेयर मूल्य निकै कम भएकोले यस क्षेत्रमा लगानीकर्ताहरूको ध्यान केन्द्रित हुने देखिन्छ । साधारण सभाहरू सम्पन्न भइसकेपछि कम्पनीहरूले लाभांश वितरण सुरु गर्ने सम्भावना रहेकोले बजारले गति लिन सक्ने विज्ञहरूको धारणा छ ।

शेयर बजारको हालको परिस्थितिले जोखिमप्रति सचेत रहन र दीर्घकालीन दृष्टिकोणका साथ रणनीतिक लगानी गर्न लगानीकर्ताहरूलाई सन्देश दिएको छ। बजारले गति लिन समय लाग्न सक्ने भए पनि बलियो कम्पनीमा लगानी गर्नेहरूको लागि यो अवसर बन्न सक्ने विश्लेषकहरूले बताएका छन्।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.०८ अकंले घटेर २५७६.५० बिन्दुमा आइपुगेको छ । आज ३०८ कम्पनीको १ करोड ३१ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६७ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन विकास बैंक र फाइनान्स कम्पनीको शेयर मूल्यमा सर्वाधिक गिरावट देखिएको छ । खराब कर्जा उच्च रहेको यो सेक्टरको शेयर मूल्य ओरालो लागेको छ । आज विकास बैंक समूहको २.७७ प्रतिशत र फाइनान्स समूहको ५.१९ प्रतिशतले शेयर मूल्य घटेको छ ।

त्यसबाहेक अन्य १० उपसूचक समेत राताम्य रहेको छ । यसदिन २८ कम्पनीको शेयर मूल्य बढ्दा २१३ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*