विजय लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम देशैभरी संचालन, घोराहीमा पनि सम्पन्न
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको घोराही शाखाले पुस १५ गते वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। वित्तीय प्रणालीप्रति विश्वास बढाउन, आर्थिक गतिविधिलाई औपचारिक प्रणालीमा समेट्न र समुदायमा वित्तीय सचेतना जगाउन कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा अनुगमन अधिकृत तथा क्लस्टर नं. १५ का प्रमुख कुमबहादुर थापाले बचत, कर्जा, बिमा, विप्रेषण, वित्तीय अनुशासन, विद्युतीय वित्तीय सेवा लगायतका विषयमा जानकारी दिएका थिए। कर्जाको कारोबार गर्दा व्यवसायिक योजना बनाएर मात्र अघि बढ्नुपर्ने र कर्जाको किस्ता समयमा नतिरे कालोसूचीमा पर्ने जस्ता जोखिमहरूबारे सचेत गराइएको थियो।
घोराही उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मधुसूदन शर्मा (मुनाल घिमिरे)ले कार्यक्रममा सदस्य र वित्तीय संस्थाबीचको आपसी विश्वासलाई बलियो बनाउनुपर्नेमा जोड दिए। उनले लिएको कर्जा समयमा तिर्न र अनावश्यक रूपमा मिनाहाको हल्लाको पछि नलाग्न सुझाव दिएका थिए।
५० भन्दा बढी सहभागी रहेको कार्यक्रममा स्वागत मन्तव्य शाखा प्रमुख किरण घिमिरेले दिएका थिए भने सहजीकरण कर्मचारी प्रतीक गोराथोकीले गरेका थिए