च्याउ उत्पादकलाई कृषि मन्त्रीको ढाडसः व्यवसायलाई सरकारी तहबाट प्रोत्साहन गर्छाैं
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले च्याउ कृषकहरूलाई ढाडस दिएका छन्। च्याउ उत्पादक किसान संघले आज आयोजना गरेको छैठौं राष्ट्रिय च्याउ दिवसको अवसरमा बोल्दै मन्त्री अधिकारीले च्याउ व्यवसायीहरूका समस्या सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।
कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले च्याउ व्यवसायीहरूले उत्पादनदेखि बजारीकरणसम्ममै समस्या भोग्नुपरेको कुरालाई स्वीकार्दै यसको समाधानतर्फ अघि बढ्ने बताए।
मन्त्री अधिकारीले पहिले समाजमा च्याउ खान हुँदैन, च्याउ खाँदा जात जान्छ भन्ने व्याप्त मान्यतालाई चिर्न सफल भएकोमा च्याउ व्यवसायीहरूलाई बधाई समेत ज्ञापन गरे । कार्यक्रममा बोल्दै उनले अहिले प्रत्येक भान्सामा च्याउका परिकार बन्ने गरेको र यो अत्यन्तै पौष्टिकवर्धक खानेकुरा भएकाले च्याउ उत्पादलाई व्यवसायीकरण गर्न आफूले पूर्ण साथ दिने बताए।
पुस १५ गतेलाई औपचारिक रुपमा च्याउ दिवसको घोषणा गर्न माग गरेका किसानलाई सम्बोधन गर्दै उनले यसका लागि मन्त्रालयले गृहकार्य थालिसकेको बताए। काभ्रेको खोपासीमा च्याउ अनुसन्धान केन्द्रको स्थापना गरिएको र यसले च्याउको सम्भावनाहरूको खोज तथा अनुसन्धान गरी उत्पादनमा महत्वपूर्ण टेवा दिने बताए।
मन्त्री भण्डारीले च्याउ उत्पादनमा प्रविधिमैत्री वातावरणको विकास गरी विदेश जान लागेका युवा र विदेशबाट फर्किसकेका युवालाई यतै रोजगारीको अवसर स्थापना गर्न जोड दिने बताए । उनले आगामी आर्थिक वर्षमा च्याउ व्यवसायलाई प्राथमिकतामा राखिने समेत बताए।
च्याउको स्वदेशी खपत बढाउन समय समयमा सरकारी तहबाट प्रवर्धनात्मूलक कार्यक्रमहरूको आयोजना गरिने प्रतिवद्धता पनि व्यक्त गरे।