कर्णालीकै लाइनमा नारायणी डेभलपमेन्टः खराब कर्जा थप चुलिँदै, के ‘टेकओभर’ कै अवस्थामा छन् सूचक ?

१५ पुष २०८१, सोमबार १५:२३

काठमाडौं। नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा गरेसँगै नारायणी डेभलपमेन्ट बैंकको वित्तीय अवस्थाले हेरेर चर्चा सुरु भएको छ। वित्तीय सूचकमा दर्दनाक अवस्थामा रहेको नारायणीलाई लिएर पछिल्लो समय ‘टेकओभर’ विषय उठान भइरहेको हो।

हुनत क्षेत्रीयस्तरका विकास बैंक नै अहिले त्रसित छन्। कमजोर वित्तीय सूचकमा गुज्रिरहेका क्षेत्रीयस्तरका ९ विकास बैंकहरू केन्द्रीय बैंकले कर्णाली माथि चलाएको डन्डाले तरंगित बन्न पुगेका हुन्। विशेषगरी, नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा अनुपात ३४.८१ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको १४.७७ प्रतिशत, सिन्धु विकास बैंकको ११.२९ प्रतिशत र एक्सेल डेभलपमेन्ट बैंकको ११.७३ प्रतिशत पुगेको छ। यी चार बैंकको वित्तीय सूचक तनावग्रस्त अवस्थामा पुगेको हो।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ७.२७ प्रतिशत खराब कर्जा रहेको वित्तीय विवरण सार्वजनिक गर्ने कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले ४० प्रतिशत खराब कर्जा पुगेको भन्दै कारबाही गर्‍यो। बैंकमा आर्थिक हिनामिना र वित्तीय स्रोतको अपचलन भएको समेत केन्द्रीय बैंकले फेला पारेको हो। झुट्टा वित्तीय विवरण सार्वजनिक गरेर आम लगानीकर्तालाई गुमराहमा राख्ने कर्णालीको हर्कत अन्य क्षेत्रीय स्तरका विकास बैंकमा पनि हुन सक्ने बताउँदै सर्वसाधारण आफ्नो निक्षेप फिर्ता मागि रहेको अवस्था छ।

खराब कर्जा अनुपात ५ प्रतिशतभन्दा बढी देखिएमा राष्ट्र बैंकले कारबाहीस्वरूप निक्षेप तथा कर्जा प्रवाहमा न्यूनतम सीमा तोकिदिने, शाखा खोल्न, कर्मचारीहरूको पारिश्रमिक बढाउन, लाभांश वितरण गर्न रोक लगाउने व्यवस्था छ। तथापि, नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा अनुपात अझै बढिरहेको छ। तर, राष्ट्र बैंक मौन अवस्था रहेको छ।

अझ करिब ३५ प्रतिशत खराब कर्जा रहेको नारायणीको अवस्था हेरेर लगानीकर्ता आत्तिएका छन्। कर्णालीमा राष्ट्र बैंकले चलाएको डन्डाको प्रभाव नारायणीको शेयर मूल्यमा परिरहेको छ। नारायणी डेभलपमेन्ट पछिल्लो समय विकास बैंक मध्य सबैभन्दा धेरै शेयर मूल्य घट्ने सूचीको पहिलो नम्बरमा रहेको छ। २६ लाख २४ हजार ६७६ कित्ता शेयर रहेको कम्पनीको सर्वसाधारणमा ७ लाख ६१ हजार १५६ कित्ता रहेको छ।

राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागको गैरस्थलगत सुपरीवेक्षणका आधारमा पटक–पटक कारबाही गर्दै आइरहेको छ। अनिवार्य नगद मौज्दात अनुपात कायम नगरेको भन्दै केन्द्रीय बैंकले नारायणी माथि आठपटक नगदसहित कारबाही गरेको हो।

के नारायणी माथि टेकओभर होला ?

२०७० चैत २७ गते नारायणी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले समस्याग्रस्त संस्था घोषणा गरेको थियो। ७ वर्षपछि २०७७ सालमा उक्त घोषणा फुकुवा भए पनि हो। तर, पछिल्लो समय बैंकको वित्तीय सूचकले पुनः समस्याग्रस्त कै लाइनमा बैंक गइरहेको देखिन्छ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार बैंकले निक्षेपकर्ता, शेयरधनी, साहु वा सर्वसाधारणको हितविपरीत हुने गरी कुनै कार्य गरेमा, वित्तीय दायित्व पूरा नगरेमा वा गर्न नसक्ने अवस्थामा पुगेमा, दामासाहीमा परेमा वा आर्थिक कठिनाइ भोगिरहेको अवस्थामा, ऐनविपरीतका कार्य गरेमा, झुटा जालसाजी वा गलत कागजात वा तथ्य पेस गरी इजाजत पत्र प्राप्त गरेमा र न्यूनतम चुक्ता पुँजी कोष कायम नगरेमा समस्याग्रस्त घोषणा गर्ने व्यवस्था छ।

राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्नु पूर्व संस्था सबै गतिविधि नियालेर नियन्त्रणमा ल्याउने प्रयास गर्दछ। तर, स्थिति नियन्त्रण बाहिर गएको खण्डमा मात्र संस्थालाई राष्ट्र बैंकले टेकओभर गर्ने गरेको छ। नारायणीको अवस्था हेर्दा राष्ट्र बैंक सचेत हुनुपर्ने बेला आइसकेको जानकारहरू बताउँछन्। कम्पनीको खराब कर्जा थप चुलिँदै गएको देखिएको हो। एनपीएल सामान्यतया जब कुनै ऋणमा ९० दिन वा सोभन्दा बढी समयसम्म ब्याज वा मूल रकमको भुक्तानी बाँकी रहन्छ, त्यसलाई असफल ऋणको रूपमा वर्गीकृत गरिन्छ। खराब कर्जा बढ्नु भनेको बैंकका लागि ठूला भार हो। यसले नाफा र ऋण दिन सक्ने क्षमतालाई नकारात्मक असर पार्छ।

कम्पनीको अवस्था अझ बिग्रिँदै गएको बैंक स्रोतले बताएको छ। स्रोतले भन्यो, ‘बैंकको अवस्था कोभिड सकिएपछि अब राम्रो होला भने अझ बिग्रिँदै गएको छ। बाहिर देखिएको वित्तीय अवस्थाले मान्छे डराइरहेका छन्। अझ बैंकको वास्तविक अवस्था बाहिर ल्याउने हो भने भोलि आफ्नो पैसा फिर्ता माग्नेको भिड हुन्छ। हाम्रो मात्र होइन सबै क्षेत्रीयस्तरका विकास बैंकको हालत उस्तै छ।’

उनले भने, ‘बैंकको खराब कर्जा उठाउन अझै पनि निकै कठिन भइरहेको छ। वर्तमान अवस्थामा खराब कर्जा संकलनमा अपेक्षित प्रगति हुन सकेको छैन। खराब कर्जा संकलन गर्नु बैंकका लागि एक चुनौतीपूर्ण काम बनिरहेको छ। यो प्रक्रियामा थुप्रै समस्या र अवरोधहरू देखिएका छन्, जसले वित्तीय सूचकलाई थप कमजोर बनाउँदै लगेको छ।’

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नारायणीको खुद नाफा ४८ लाख ५० हजार ऋणात्मक रहेको थियो भने कर्णालीको १ करोड ९८ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

नारायणीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ४३ लाख ६६ हजार र ४८ लाख ५० हजार रुपैयाँ नोक्सानीमा रहेको छ। यता, कर्णालीको खुद ब्याज आम्दानी ९ लाख ९१ हजार रहेको छ भने सञ्चालन नाफा १ करोड ९८ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

स्रोतः कम्पनीले सार्वजनिक गरेका त्रैमासिक रिपोर्ट

चुक्तापूँजी नारायणीको २६ करोड २४ लाख रुपैयाँ छ भने कर्णालीको ५० करोड २८ लाख रुपैयाँ रहेको छ। त्यस्तै, जगेडा कोष नारायणीको १९ करोड छ भने कर्णालीको पनि १९ करोड नै रहेको छ। दुवै बैंकको प्रतिशेयर आम्दानी समेत ऋणात्मक छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*