काठमाडौँको भृकुटीमण्डपमा च्याउ महोत्सव, हेर्नुहोस् तस्बिरहरु
काठमाडौँ। च्याउ उत्पादक किसान संघ नेपालले आज भृकुटी मण्डपमा राष्ट्रिय च्याउ दिवसको अवसरमा च्याउ मेला तथा परिवार महोत्सव आयोजना गरेको छ। देशभरिका च्याउ किसानहरूलाई एकजुट गर्दै च्याउ किसानको जागरुकता, व्यवसायिक उत्पादनमा आत्मनिर्भरता भन्ने नारासहित महोत्सवको आयोजना गरिएको हो।
महोत्सवको उद्घाटन कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरे। महोत्सवमा विभिन्न प्रकारका च्याउका परिकारहरू राखिएका ४० वटा स्टलसहित च्याउ उत्पादन तथा यसको व्यवसायिक उपयोगितासम्बन्धी प्रदर्शनी आयोजना गरिएको थियो। गोभ्रे, कन्ये, किङ्ग व्यस्टर, र सिताके च्याउ उत्पादनका व्यावसायिक नमूनाहरू प्रदर्शित गरिएको महोत्सवले च्याउका परिकार र उत्पादनमा विविधता प्रदर्शन गरेको छ।
महोत्सवमा च्याउका परिकारहरूको विविधता प्रस्तुत गरिएको थियो। गोभ्रे, कन्ये, र सिताके च्याउका परिकारहरूका लागि छुट्टाछुट्टै स्टल राखिएको थियो। साथै, च्याउ खेतीका व्यावसायिक नमूनाहरू प्रदर्शन गरेर किसानहरूलाई नयाँ प्रविधि र अभ्यासबारे जानकारी गराइएको थियो। साँस्कृतिक कार्यक्रम र च्याउ सम्बन्धी प्राविधिक जानकारीसहितको छलफल पनि महोत्सवका आकर्षण बने।
नेपालमा हाल ७० जिल्लामा च्याउ खेती विस्तार भएको छ भने ४० जिल्लामा व्यवसायिक उत्पादन भइरहेको छ। च्याउ उत्पादनसँग करिब ३५ हजार किसान प्रत्यक्ष रूपमा आवद्ध छन्। संघका अध्यक्ष सन्तोष कार्कीका अनुसार नेपालको वार्षिक च्याउ उत्पादन र कारोबार लगभग १५ अर्ब रुपैयाँको हाराहारीमा रहेको छ। च्याउको बीउ उत्पादन गर्ने ल्याबहरूको संख्या ६७ रहेको छ। तर, नेपालमा आवश्यक परिमाणमा च्याउ उत्पादन गर्न नसक्दा भारतलगायत अन्य देशहरूबाट च्याउ आयात गर्ने गरिएको छ। नेपालले हाल ४ लाख २० हजारदेखि ९ करोड ६१ लाख रुपैयाँसम्मको विभिन्न प्रकारका च्याउ आयात गर्छ। आयात हुने च्याउमा मुख्य रूपमा गोभ्रे र गोभ्रे च्याउ क्यानिङ उत्पादन समावेश छन्।
च्याउ अत्यन्तै पोषिलो खाद्य वस्तु मानिन्छ। कार्कीका अनुसार च्याउमा मानव स्वास्थ्यलाई आवश्यक पर्ने प्रोटिन, भिटामिन, र खनिज पदार्थ भरपूर मात्रामा पाइन्छ। विश्व बजारमा च्याउको माग उच्च रहेको र नेपालले यस क्षेत्रमा आत्मनिर्भर बन्न सक्ने सम्भावना हुँदाहुँदै पनि यसतर्फ पर्याप्त सरकारी ध्यान पुगेको छैन। नेपालमा गोभ्रे, कन्ये, सिताके, दुघे, र राजा च्याउ जस्ता जातहरूको व्यावसायिक खेती भइरहेको छ। देशभर धेरै जातका च्याउ पाइने भए पनि यसको अध्ययन, अनुसन्धान, र विकासमा कमि रहेको कार्कीले बताए।
महोत्सवमा सहभागी व्यवसायीहरूले च्याउ खेतीलाई सरकारी प्राथमिकतामा नराखिएको गुनासो गरे। उनीहरूको भनाइमा, सरकारले च्याउ खेतीलाई प्रोत्साहन गरेमा नेपाल च्याउ उत्पादनमा आत्मनिर्भर बन्न सक्नेछ। व्यवसायीहरूले च्याउको व्यवसायिक विकासका लागि सरकारी सहयोग र लगानी आवश्यक रहेको बताउँदै राष्ट्रिय च्याउ दिवसलाई औपचारिक रूपमा मान्यता दिन सरकारसमक्ष आग्रह गरे।
नेपालमा च्याउ खेतीको सम्भावना अत्यधिक रहेको र बहुमूल्य जातका च्याउ उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकिने अवस्था रहेको छ। तर, सरकारीस्तरबाट च्याउको व्यवसायिक विकासमा पर्याप्त ध्यान दिनुपर्ने आवश्यकता रहेको व्यवसायीहरूको तर्क छ। महोत्सवले च्याउ खेतीको महत्वलाई प्रवर्द्धन गर्दै किसानहरूलाई थप प्रोत्साहित गर्ने विश्वास गरिएको छ।