९३ दिनमा शेयर लगानीकर्ताले कमाए १ खर्ब २७ अर्ब नाफा, ९ अर्ब कर तिर्दा कुन महिनामा कति ?

१५ पुष २०८१, सोमबार ११:२९

काठमाडौँ । ९३ दिनमा शेयर बजारका लगानीकर्ताले १ खर्ब २७ अर्ब रुपैयाँ कमाएका छन् । सिडिएसका अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा शेयर बजारका लगानीकर्ताले ९ अर्ब २४ करोड ७ लाख २६ लाख रुपैयाँ पुँजीगत लाभकर तिरेपछि १ खर्ब २७ अर्ब १५ करोड ४१ लाख ४५ हजार रुपैयाँ नाफा आर्जन गरेको हुन् ।

यसअवधिमा दीर्घकालीन लगानीकर्ताले ४७ अर्ब ४४ करोड रुपैयाँ नाफा गर्दा २ अर्ब ४९ करोड रुपैयाँ कर तिरेका छन् भने अल्पकालीन लगानीकर्ताले ७० अर्ब ३५ करोड रुपैयाँ नाफा कमाउँदै ५ अर्ब ७० करोड रुपैयाँ कर बुझाएका छन् । संस्थागत लगानीकर्ताले ९ अर्ब २४ करोड रुपैयाँ नाफा गर्दा १ अर्ब २६ करोड रुपैयाँ लाभकर तिरेका छन् । स्टक डिलर कम्पनीहरूले १० करोड ७३ लाख रुपैयाँ नाफा गर्दा १ करोड १९ लाख रुपैयाँ कर बुझाएका छन् ।

पाँच महिनाको अवधिमा शेयर बजारको नेप्से सूचक २,३१० बाट बढेर ३,००० को नजिक पुगेको थियो । सूचकको उकालोका कारण कम्पनीहरूको शेयर मूल्यमा पनि उल्लेखनीय वृद्धि भएको देखिएको हो । जसले लगानीकर्तालाई राम्रो नाफा बुक गर्न अवसर प्रदान गरेको थियो ।

शेयर कारोबारमा पुँजीगत लाभकरका दरहरू पनि लगानी अवधिका आधारमा फरक छन् । व्यक्तिगत लगानीकर्ताले एक वर्षभन्दा बढी अवधिमा होल्ड गरेको सेयर बिक्री गर्दा नाफाको ५ प्रतिशत कर तिर्नुपर्छ भने एक वर्षभन्दा कम अवधिमा बेच्दा ७.५ प्रतिशत कर लाग्छ । संस्थागत लगानीकर्ताका लागि यो दर १० प्रतिशत निर्धारण गरिएको छ ।

सरकारले यस अवधिमा पुँजीगत लाभकरमार्फत उल्लेखनीय राजस्व संकलन गरेको छ। साउन महिनामा मात्र ४ अर्ब २७ करोड रुपैयाँ लाभकर उठाइएको थियो । भदौमा २ अर्ब ५७ करोड, असोजमा ५८ करोड, कात्तिकमा ७५ करोड र मंसिरमा १ अर्ब ४ करोड रुपैयाँ लाभकर संकलन भएको छ । नेप्से सूचक ३,००० को वरिपरि पुगेको समयदेखि कारोबार बढ्न थालेको र पुँजीगत लाभकर संकलन पनि उच्च भएको देखिन्छ ।

पुँजीगत लाभकर संकलनमा नेप्से सूचकको उतारचढावले ठुलो भूमिका खेलेको देखिन्छ । गत आर्थिक वर्षको अन्त्यमा नेप्से २,२४०.४१ विन्दुमा थियो । साउनमा यो ३,००० विन्दुमा पुगेपछि कारोबारमा उल्लेखनीय वृद्धि भएको थियो । भदौदेखि कात्तिकसम्म सूचकले उतारचढाव गर्दा लगानीकर्ताको चासो उच्च देखियो ।

सरकारले सेयर बजारमा भएको नाफाबाट पुँजीगत लाभकर उठाएर राजस्व संकलनमा योगदान पु¥याएको छ । व्यक्तिगत र संस्थागत लगानीकर्ताले बजारमा भएका अवसरको उपयोग गर्दै नाफा आर्जन गरेका छन् । तर, पछिल्ला महिनामा सूचक घट्दै जाँदा कारोबार पनि घटेको देखिन्छ ।

नियामक निकाय सक्रिय भइरहेको र शेयर बजारका लागि आवश्यक सूचक सबै सकारात्मक रहेको हुँदा आगामी महिनामा पुनः सुधार हुने अपेक्षा गरिएको छ । शेयर बजारमा रौनक आउँदा राज्यलाई समेत कर मार्फत ठुलो सहयोग हुँदै आएको छ ।

लगानीकर्ता भने सरकारका नीति बाधक नभएको भए पुँजीगत लाभकर निकै ठुलो परिणम प्राप्त हुने बताउँछन् । मौद्रिक नीतिको कसिलो नीति, राजनीतिक अस्थिरता र धितोपत्र बोर्डले लगानीमैत्री नीति ल्याउन नसक्दा बजारले अपेक्षा अनुसार गति लिन नसकेको हुँदा पुँजीगत लाभकर पनि सोच अनुसार उठन नसकेको लगानीकर्ता सुबास श्रेष्ठले बताए । ‘अघिल्लो वर्षको भन्दा त सुधार हुनु स्वाभाविक नै हो किन भने शेयर बजारप्रति आम लगानीकर्ताको चासो बढेको छ । शेयर बजारको ज्ञान सबै तिर पुगेको छ । सोहि कारण पनि पुँजीगत लाभकर बढेको हो’ श्रेष्ठले भने, ‘तर सरकारका केहि नीति र राजनीति अस्थिरता नहुने हो भने राज्यले प्राप्त गर्ने पुँजीगत लाभकर यो भन्दा दोब्बर बढी हुने थियो ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*