समस्याग्रस्त नेपाल शेयर मार्केट्सको व्यवस्थापनका लागि चार नाम स्वीकृत
काठमाडौँ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन तथा सञ्चालनका लागि चार जनाको नाम स्वीकृत गरेको छ। बैंकले मङ्सिर १२ गते सदस्यका लागि आवेदन मागेकोमा प्रकाश घिमिरे, कुमार अधिकारी, राम प्रताब यादव र राजेन्द्र प्रसाद तिम्सिनाको आवेदन स्वीकृत भएको जनाएको छ।
राष्ट्र बैंकले यी चार जनालाई पुस २१ देखि पुस २४ गतेसम्म कार्ययोजना प्रस्तुतीकरण गर्न बोलाएको छ। प्रस्तुतीकरण साँझ ४ः१५ बजे हुनेछ। यो प्रक्रिया पूरा भएपछि एक जनालाई व्यवस्थापन र सञ्चालनको जिम्मेवारी दिइनेछ।
व्यवस्थापनका लागि उम्मेदवारले स्नातक उपाधि तथा लेखा सम्बन्धी १० वर्षको अनुभव, वा चार्टर्ड एकाउन्टेन्सी पास गरी पाँच वर्षको अनुभव आवश्यक पर्ने मापदण्ड तोकिएको थियो।
चयन गरिएका व्यक्तिले मासिक पारिश्रमिकको रूपमा कर कटौतीपछि १,०३,६०० प्राप्त गर्नेछन्। साथै, दशैं खर्च र १२ दिनको वार्षिक भैपरिआउने बिदा दिइनेछ। अन्य कुनै भत्ता भने उपलब्ध हुने छैन। उनीहरूले रामशाहपथस्थित कार्यालयमा काम गर्नु पर्नेछ।