बाढीपहिरोको क्षतिले बीमा कम्पनीमा पर्यो १३ अर्बको दावी, डेढ अर्ब भुक्तानीमा कुनले कति दिए ?(विवरणसहित)
काठमाडौं । बाढीपहिरोको कारण हाल नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीमा १२ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ बराबरको दाबी परेको छ । उक्त दावी नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार पुष ११ गतेसम्मको हो ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल कम्पनीहरूमा प्राप्त विवरणबाट तीन हजार ६७३ वटा दाबी परेका छन् । यो १४ वटा निर्जीवन बीमा र चार वटा लघुबीमाको विवरण हो ।
निर्जीवन बीमा कम्पनीहरुले पुष ११ गतेसम्मको अवधिमा एक अर्ब ५२ करोड १८ लाख रुपैयाँ बराबर एक हजार ७२० वटा दावी भुक्तानी गरेको छ । यस अवधिमा शिखर इन्स्योरेन्सले ३१ करोड ३८ लाख रुपैयाँसहित सर्वाधिक दावी भुक्तानी गरेको छ ।
यस अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा दुई अर्ब ६३ करोड रुपैयाँको दावी परेको छ । कम्पनीमा हालसम्म ५११ वटा दावी परेका छन् । जसमा कम्पनीले २४७ बीमादावी वापत ३० करोड ३५ लाख रुपैयाँको दावी भुक्तानी गरेको छ ।
त्यस्तै, दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा एक अर्ब ३७ करोड रुपैयाँ बढीको १८३ वटा दावी परेको छ । जसमा कम्पनीले पाँच करोड तीन लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ ।
साथै, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ४२५ वटा दावी वापत एक अर्ब ३७ करोड रुपैयाँको दावी परेको छ । जसमा कम्पनीले २० करोड ४३ लाख रुपैयाँको दावी भुक्तानी वितरण गरेको छ ।
बाढीपहिरोको क्षतिले शिखर इन्स्योरेन्समा ४५८ वटा दावी बराबरको एक अर्ब १४ करोड रुपैयाँको दावी भुक्तानी परेको छ । जसमा कम्पनीले ३१ करोड रुपैयाँको दावी भुक्तानी गरिसकेको छ ।
हिमालयन एभरेष्टमा २५३ वटा दावी बापत एक अर्ब रुपैयाँको दावी परेको छ । यस अवधिमा कम्पनीले १३ करोड ६२ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ ।
त्यस्तै, नेको इन्स्योरेन्समा ३०६ वटा बीमा दावी बापत एक अर्ब ८ करोड रुपैयाँको दावी परेको छ । यस अवधिमा कम्पनीले १० करोड ३४ लाख रुपैयाँको दावी भुक्तानी गरेको छ ।
त्यस्तै, युनाइटेड अजोड इन्स्योेरेन्समा ३३४ वटा दावी बापत ७४ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्समा ४८ करोड रुपैयाँ बराबरको दावी परेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा ४१ करोड रुपैयाँ, एजएलजी इन्स्योरेन्समा ७७ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्समा ४१ करोड रुपैयाँको दावी परेको छ ।
प्रभु इन्स्योरेन्समा २८ करोड रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा २० करोड रुपैयाँको बीमा दावी परेको छ । जसमा सरकारी कम्पनीको धाक लगाउँदै आएको राष्ट्रिय बीमा कम्पनीले कुनै पनि बीमा दावी भुक्तानी नदिदाँसमेत नियनकारी निकाय बीमा प्राधिकरण मौन रहेको छ ।
बीमा प्राधिकरणले बाढीपहिरोबाट प्रभावित बीमितहरुलाई आफूले बीमा गरेको सम्बन्धित कम्पनीमा सिधै फोन, इमेल वा कुनै पनि शाखा कार्यालयमा गएर बीमा दावी गर्न सकिने व्यवस्था मिलाइएको छ ।