बीमापोष्टमा प्रकाशित समाचारप्रति राष्ट्रिय बीमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत सुवास कोइरालाको खण्डन
राष्ट्रिय बीमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत सुवास कोइरालाले शुक्रबार इमेलमार्फत विभिन्न मितिमा बीमापोष्टमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको पत्र मार्फत जनाएका छन् । उनले पठाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरेको विषय र सो विषयमाथी बीमापोष्टको समेत भनाइ राखेर प्रकाशित गरिएको छ ।
मितिः २०८१।०९।१२
श्री सम्पादकज्यू,
बीमा पोष्ट डट कम,
पुतलीसडक, काठमाडौं ।
विषयः खण्डन सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा श्री राइनिसी मिडिया एण्ड रिसर्च सेन्टर प्रा. लि.द्वारा सञ्चालित त्यस बीमा पोष्ट डट कमको विभिन्न मिति तथा शिर्षकहरु राखी मेरो व्यक्तिगत नाम प्रयोग गरि प्रचार तथा प्रसार भएको समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको ब्यहोरा अवगत गराउन चाहन्छु ।
बीमा विषय आफैँमा निकै प्राविधिक विषय हो । यसका आफ्नै दायरा तथा नीति नियम रहेका छन् । बीमा ऐन २०७९, बीमा नियमावली २०४९, श्री नेपाल बीमा प्राधिकरणबाट विभिन्न समयमा जारी गरेका नीति, निर्देशन, कार्यविधिका आधारमा समग्र वीमा क्षेत्र चलायमान रहेको छ । यसै सन्दर्भमा यस कम्पनीका विभिन्न कार्यहरु समेत उल्लेखित नीति नियम तथा कानून बमोजिम नै गरिंदै आइरहेको छ ।
उल्लेखित समाचारमा उठाइएका विषयहरु दावी भूक्तानी, पूनर्वीमा, लेखा आदी विषयहरु श्री राष्ट्रिय वीमा कम्पनीबाट आफ्ना ग्राहकहरुको सेवा, दावी भुक्तानी, पूनर्वीमा, लेखा सम्बन्धी श्री नेपाल बीमा प्राधिकरणबाट जारी गरिएका विभिन्न मार्गनिर्देशन तथा निर्देशिकाहरु वमोजिम काम कार्वाही भएको विषय हो । यस विषयहरुमा व्यक्तिगत नाममा केन्द्रित भएर व्यक्तिगत चरित्रहत्या गर्ने खालको समाचार त्यस मिडियाबाट समाचार प्रशारण हुनु अत्यन्तै खेदजनक रहेको समेत जानकारी गराउन चाहन्छु । साथै, कार्यालयको विभिन्न कार्य गर्दा व्यक्तिगत निर्णय नभई समग्र संस्था तथा सो को आधिकारिक प्रकृया पूरा गरी समूहगत निर्णयद्वारा गरिएको कम्पनीको दैनिक प्रशासनिक कार्यमा व्यक्तिगत नाम अनर्गल रुपमा प्रसारण गर्दा व्यक्ति तथा समग्र संस्थाको ख्यातिमा नकरात्मक अशर पर्न जाने तर्फ ध्यानाकर्षण गराउंदै विभिन्न मितिहरुमा प्रकाशित समाचारमा मेरो व्यक्तिगत तर्फबाट खण्डन प्रकाशित गरिदिनुहुन समेत अनुरोध गर्दछु । साथै, यस्ता समाचार प्रकाशन गर्नुपूर्व त्यसको विश्वसनीयता समेत जानकारी लिई प्रकाशन गर्न हुन समेत अनुरोध गर्दछु ।
सुवास कोईराला
नायब प्रमुख कार्यकारी अधिकृत
राष्ट्रिय बीमा कम्पनी लिमिटेड,
रामशाहपथ, काठमाडौं ।
बोधार्थः
१. श्री प्रेस काउन्सिल नेपाल, सञ्चारग्राम, काठमाडौं ।
२. श्री नेपाल बीमा प्राधिकरण, कुपण्डोल, ललितपुर ।
३. श्री प्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय बीमा कम्पनी लिमिटेड, रामशाहपथ, काठमाडौं ।
बीमापोष्टको भनाईः समाचारमा उठाइएका विषय अस्वीकार नगरेकोले समाचार स्वतः पुष्टी भएको छ । बीमापोष्टले कसैको चरित्र हत्या गर्न समाचार प्रकाशित गरेको होइन । व्यक्तिगत कामको नभई नेपाल सरकारकै कम्पनीलाई क्षति पुग्ने गएको घटनासँग सम्बन्धित समाचार प्रकाशित गरिएको हो । सुशासनको पक्षमा प्रकाशित समाचारले चरित्र हत्या वा मान हानि हुनसक्दैन ।