काठमाडौंसहित नेपालका ६ सहर वायु प्रदूषणको चपेटामा, एक्युआई १५१ माथि
काठमाडौँ। देशका प्रमुख सहरहरूको वायु गुणस्तर निरन्तर खस्कँदै गएको छ। वातावरण विभागका पछिल्लो तथ्यांक अनुसार आइतबार काठमाडौं उपत्यकाका तीनवटै जिल्ला सहित धनुषाको जनकपुर, चितवनको भरतपुर, दाङको देउखुरी र धनकुटा प्रदूषित सहरहरूको सूचीमा परेका छन्।
यी सहरहरूको औसत ‘एयर क्वालिटी इन्डेक्स’ १५१ भन्दा माथि पुगेको छ। काठमाडौंको रत्नपार्क क्षेत्रमा एक्युआई १८७ नाघेको विभागले जनाएको छ, जुन सबैभन्दा खराब अवस्थामा रहेको हो।
विभागले दिएको जानकारी अनुसार काठमाडौंमा वायु प्रदूषणको स्तर दिनभरि बढ्दै गएको छ। साँझ ८ बजे काठमाडौंको वायुमा पीएमको मात्रा ६४।३१५ माइक्रोग्राम प्रतिघनमिटर पुग्ने अनुमान गरिएको छ।
विश्व स्वास्थ्य संगठनका मापदण्ड अनुसार, एक्युआई ५० भन्दा कम रहेको वायुलाई मात्र स्वस्थकर मानिन्छ। एक्युआई १५१ माथि पुगेको वायु ‘अस्वस्थकर’ मानिन्छ र यसले विशेषगरी बालबालिका, वृद्धवृद्धा र दीर्घरोगी व्यक्तिहरूको स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्छ।