नारायणी डेभलपमेन्ट बैंकको भविष्य संकटमा, कानुनको धज्जी उड्दा समेत मुकदर्शक राष्ट्र बैंक
काठमाडौँ। नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गर्दै व्यवस्थापन टेकओभर गरेपछि क्षेत्रीयस्तरका विकास बैंकहरूमा त्रास उत्पन्न भएको छ। अझ वित्तीय सूचकमा दर्दनाक अवस्था रहेका र खराब कर्जा चुलिँदै गएका बैंक तथा फाइनान्स कम्पनी तरङ्गित भैरहेका छन्। बैंकिङ क्षेत्रको यो निर्णयले खराब कर्जा बढ्दै गएका अन्य क्षेत्रीय विकास बैंकहरूलाई थप दबाबमा पु¥याएको छ। कर्णाली बैंकको खराब कर्जा अनुपात ४० प्रतिशत पुगेको तथ्य बाहिरिएसँगै क्षेत्रीय विकास बैंकहरूको अवस्था थप जोखिमपूर्ण देखिएको छ।
नेपालमा सञ्चालनमा रहेका ९ क्षेत्रीय विकास बैंकमध्ये ८ वटाको औसत निष्कृय कर्जा (एनपीएल) अनुपात ११.४१ प्रतिशत छ। नारायणी डेभलपमेन्ट बैंकको एनपीएल सबैभन्दा उच्च ३४.८१ प्रतिशत पुगेको छ, जुन बैंकको कर्जा प्रवाह र वित्तीय स्थायित्वका लागि गम्भीर समस्या हो। निष्कृय कर्जा अनुपात उच्च हुनाले बैंकको कर्जा प्रवाहमा असुविधा उत्पन्न भएको छ। खराब कर्जा अनुपातमा बढोत्तरीले बैंकलाई थप दबाबमा पु¥याएको छ।
एनपीएल सामान्यतया जब कुनै ऋणमा ९० दिन वा सोभन्दा बढी समयसम्म ब्याज वा मूल रकमको भुक्तानी बाँकी रहन्छ, त्यसलाई असफल ऋणको रूपमा वर्गीकृत गरिन्छ। बैंकिङ क्षेत्रका लागि एनपीएल चिन्ताको विषय हो। यो बैंकको जोखिम बढाउने प्रमुख कारण हो, जसले तरलता, नाफा र ऋण दिन सक्ने क्षमतालाई नकारात्मक असर पार्छ।
खराब कर्जा अनुपात ५ प्रतिशतभन्दा बढी देखिएमा राष्ट्र बैंकले कारबाहीस्वरूप निक्षेप तथा कर्जा प्रवाहमा न्यूनतम सीमा तोकिदिने, शाखा खोल्न, कर्मचारीहरूको पारिश्रमिक बढाउन, लाभांश वितरण गर्न रोक लगाउने व्यवस्था छ। तथापि, नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा अनुपात अझै बढिरहेको छ। तर, राष्ट्र बैंक आफ्नै व्यवस्थाको धज्जी उड्दा समेत मौन भएर बसेको छ। नारायणीसहित अहिले ११ वटा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा निकै उच्च रहेको छ। आँखा अगाडि नै राष्ट्र बैंकको व्यवस्था कुल्चिँदा समेत केन्द्रीय बैंकका अधिकारीहरू टुलुटुलु हेर्ने मात्र व्यस्त छन्।
केन्द्रीय बैंकलाई बैंकिङ क्षेत्रको नियामक निकायको रूपमा धेरै जिम्मेवारीहरू प्राप्त छन्। यी जिम्मेवारीहरूमा बैंकहरूको वित्तीय सुरक्षा, निक्षेपकर्ताको हित संरक्षण, र बैंकहरूको स्थायित्व सुनिश्चित गर्नु पर्छ। तथापि, राष्ट्र बैंकका नियामक कदमहरू प्रायः ढिलाइ र कमजोर कार्यान्वयनका कारण विफल भएको देखिन्छ। यसबाट बैंकिङ क्षेत्रमा विकृति र अस्थिरता उत्पन्न भइरहेको छ। राष्ट्र बैंकले यस्ता बैंकहरूको नियन्त्रण गर्नमा कुनै ठोस कदम चाल्न सकेको छैन। यसको कारणले, यी बैंकहरूका ग्राहक र समग्र बैंकिङ प्रणालीमा नकारात्मक प्रभाव पर्न थालेको छ। नियामक निकायको ढिलाइले वित्तीय संस्थाहरूको पारदर्शिता र प्रभावकारिता नष्ट भएको छ र यसले आर्थिक स्थायित्वमा गम्भीर खतरा उत्पन्न गरेको छ।
साथै, राष्ट्र बैंकको नियमन प्रक्रिया पनि विफल भइरहेको छ। बैंकहरूको खराब कर्जा अनुपात बढी हुनेबित्तिकै राष्ट्र बैंकले कारबाहीको प्रक्रिया सुरु गर्ने भनिएको छ। यद्यपि, यो प्रक्रिया प्रायः ढिलाइमा रहने गरेको छ, जसका कारण संकटग्रस्त बैंकहरूको अवस्था अझै जटिल बनिरहेको छ।
नारायणी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको असोजसम्म १ करोड २१ लाख रुपैयाँ घाटा व्यहोरेको छ। चुक्ता पुँजी २६ करोड २४ लाख रहेको यस बैंकको रिजर्भ एन्ड सरप्लस १८ करोड ५० लाख रुपैयाँले ऋणात्मक छ। यसको जगेडा कोषमा १२ करोड ९९ लाख रुपैयाँ जम्मा रहेको छ। यस बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ५३ पैसा नोक्सानीमा छ। प्रतिसेयर नेटवर्थ भने २९ रुपैयाँ ४९ पैसा छ।
यसअघि राष्ट्र बैंकले नारायणी बैंकलाई २०७० चैत २७ गते समस्याग्रस्त संस्था घोषणा गरेको थियो। २०७७ सालमा उक्त घोषणा फुकुवा भएपनि पुनः बैंक समस्याग्रस्तकै लाइनमा आइपुगेको छ। नारायणीले राष्ट्र बैंकले जुन बेला पनि टेकओभर गर्न सक्ने जोखिम समेत बढ्दो रहेको छ।
एक जना बैंकिङ क्षेत्रका जानकारले क्षेत्रीयस्तरका विकास बैंकहरूको एनपीएल पछिल्ला वर्षदेखि नै धेरै रहेको बताए। उनले भने, ‘क्षेत्रीयस्तरका बैंकहरूलाई कर्जा परिचालन गर्न पनि गाह्रो छ। किनकि, सीमित ग्राहकहरू छन्। मन्दी आउँदा सुरुमा साना(साना व्यापारीहरूबाट देखिने हो। त्यसैले क्षेत्रीय स्तरका बैंकहरूमा यस्तो समस्या अझ बढी देखिएको हो। क्षेत्रीय स्तरमा साना-साना रिटेल लोन छ। अहिले मन्दी छ। व्यापार राम्रोसँग चलेको छैन। साना व्यापारीहरूको पैसा फसेको छ। माग नै कम छ। राष्ट्रिय स्तरका विकास बैंकहरूको पनि लोनको साइज सानै हुन्छ। तर, यिनीहरूले धेरै ग्राहकलाई लोन दिएका हुन्छन्।’
केही बैंकहरूले आफ्ना वास्तविक वित्तीय विवरण लुकाएर शेयर लगानीकर्तालाई भ्रममा पारिरहेको आरोप छ। कर्णाली डेभलपमेन्ट बैंकले वित्तीय विवरणमा कम एनपीएल देखाए पनि राष्ट्र बैंकको अनुसन्धानले विपरीत तथ्य फेला पारेको हो। वित्तीय विवरण नै लुकाएर अहिले केही विकास बैंकले शेयर लगानीकर्तालाई झुक्काइरहेको आरोप रहेको छ। स्रोतले भन्यो, ‘क्षेत्रीयस्तरका विकास बैंकका देखाउने र चपाउने दाँत फरक–फरक छन्। वित्तीय अवस्थामा टाट पल्टिने अवस्थामा रहेका बैंकहरूले सही वित्तीय विवरण सार्वजनिक गर्ने हो भने सबै चकित हुनेछन्।’ वित्तीय विवरण लुकाएर शेयर बजारमा उच्च शेयर मूल्य रहेको विकास बैंकमा लगानी कुनै न कुनै दिन बालुवामा पानी झैँ हुने प्रष्ट छ।
चार वटा बैंकहरुको अवस्था संकटग्रस्त, राष्ट्र बैंकद्वारा टेकओभरमा ढिलाई