२ अर्बको ब्रोकरलाई अर्बौं क्रेडिट लिमिट, के हेर्दै छ नियामक ?
काठमाडौँ । ब्रोकर कम्पनीहरूले लगानीकर्तालाई असिमित क्रेडिट लिमिट दिने प्रवृत्तिले नेपालको शेयर बजारमा गम्भीर अराजकता निम्त्याएको छ । २ अर्ब रुपैयाँ चुक्तापूँजी भएका ब्रोकर कम्पनीहरूले आफ्ना चिनजानका व्यक्ति, आफन्त र ठूला लगानीकर्तालाई अर्बौं रुपैयाँ बराबरको क्रेडिट लिमिट बिना कुनै ठोस आधार दिने गरेका छन् ।
विशेषगरी, बजार वृद्धि भइरहेका समयमा ब्रोकरहरूले लगानीकर्तालाई क्रेडिटको खोलो बगाउने गरेका छन् । एउटा फोन वा एसएमएसकै भरमा क्रेडिट उपलब्ध गराउने प्रवृत्तिले बजारमा जोखिम बढाएको विश्लेषकहरू बताउँछन् । तर, बजार घट्न थालेपछि यस्तै लगानीकर्ताहरूलाई गम्भीर नोक्सानीको सामना गर्नुपरेको छ ।
ब्रोकर कम्पनीहरूको कमिशनको लोभले गर्दा असिमित क्रेडिट लिमिट दिने प्रवृत्ति लामो समयदेखि चल्दै आएको छ । यो क्रम अर्थमन्त्री विष्णु पौडेलको कार्यकालमा थप प्रस्ट रूपमा उजागर भएको थियो । पौडेलको नियुक्तिपछि शेयर बजारमा अचानक उछाल आएको देखिएको थियो ।तर, पछिल्लो तीन महिनामा बजारको कारोबार रकम २५–३० अर्बबाट घटेर दैनिक ४–५ अर्बमा झरेको छ ।
क्लब हाउस र सामाजिक सञ्जालमा यो कम्पनीको शेयर बढ्छ भन्ने हल्लाको भरमा लगानी गर्ने प्रवृत्तिले पनि बजारलाई अस्थिर बनाएको छ । कतिपय लगानीकर्ताले सानो पूँजी लिएर ब्रोकरसँग ठूला क्रेडिट लिमिट मागेर आफ्नो पोर्टफोलियो धेरै गुणा बढाएका छन् ।
ब्रोकरहरूले आफ्ना चिनजानका मानिसहरूलाई प्राथमिकता दिँदै ठूलो क्रेडिट लिमिट उपलब्ध गराएको पाइएको छ । कतिपय लगानीकर्ताले ब्रोकरसँग “मलाई क्रेडिट लिमिट दिन नसक्ने भए म अर्को ब्रोकरकहाँ जान्छु“ भनेर वार्गेनिङ गर्ने गरेका छन् । यसरी ब्रोकरहरू बाध्य भएर सीमाभन्दा बढी लिमिट दिने गरेको उदाहरण प्रशस्तै छन् ।
तर, बजार घट्न थालेपछि ब्रोकरहरूले क्रेडिट लिमिट दिन बन्द गरेका कारण लगानीकर्ताले नाफा बुक गर्न थाल्दा कारोबार रकम खहरे खोलाझैं सुक्न पुगेको छ ।
ब्रोकरहरूले दिन लागेको क्रेडिट लिमिटबारे नियामक निकायहरू नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मुकदर्शक बनेका छन् । नेपाल राष्ट्र बैंकले एक रुपैयाँ कर्जा दिन पनि धितो माग्ने कडा नियम लागू गरेको छ, तर २ अर्ब पूँजी भएका ब्रोकर कम्पनीहरूले अर्बौं रुपैयाँको क्रेडिट दिनसक्ने सीमा के हो भन्ने स्पष्ट छैन ।
ब्रोकरहरूले आफन्त र चिनजानका व्यक्तिहरूलाई असिमित क्रेडिट दिन थालेपछि बजारमा अराजकता थप बढेको छ । यो समस्यालाई समाधान गर्न नियामक निकायहरूले कडा कदम चाल्नुपर्ने आवाज उठिरहेको छ ।
विश्लेषकहरूका अनुसार बजार घट्नु पर्ने ठोस कारणहरू अहिले छैनन् । ब्रोकरहरूको असिमित क्रेडिट प्रवृत्तिलाई नियमन गर्न सकेमा बजारले दिगो सुधार गर्ने र लगानीकर्तालाई सुरक्षित वातावरण मिल्ने अपेक्षा गरिएको छ । तर, नियामक निकायको चुप्पीले समस्या थप गहिरिएको छ ।