सिटिजन्स बैंकद्वारा सुदूरपश्चिमका विद्यार्थीलाई न्यानो कपडा वितरण
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत बाजुराको हिमाली गाउँपालिका–१ स्थित श्री विच्छयाँ माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेको छ।
विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी विपन्न परिवारका भएका र जाडोमा न्यानो कपडा खरिद गर्न कठिनाइ हुने भएकाले २११ विद्यार्थीलाई बैंकले स्वेटर वितरण गरेको हो। ई.सी.डी देखि कक्षा १० सम्मका विद्यार्थीलाई न्यानो स्वेटर उपलब्ध गराइँदा उनीहरूको पढाइमा सहजता हुने विश्वास बैंकले व्यक्त गरेको छ।
सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ।सिटिजन्स बैंकले हालै विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गरेको छ। साथै नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ।
देशभर १९७ शाखा, १६२ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइमार्फत १८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको यस बैंकले मोबाइल एपमार्फत शेयर आवेदन र सीआरएन नम्बर सेवा पनि शुरू गरेको छ।