राष्ट्रिय बीमा कम्पनीद्वारा लङफङ अडिट रिपोर्ट समावेश नगरी लेखापरिक्षण प्रतिवेदन पास गर्न बीमा प्राधिकरणमा दबाव
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीभित्रको चरम बेथितीलाई हालै बीमा प्राधिकरणमा बित्तीय विवरण स्वीकृतिका लागि पेश गरेको कागजपत्रलाई हेरे पुग्छ । नेपाल सरकारले लागू गरेको मापदण्ड बिपरितका कागजपत्रहरु तयार पारी लेखापरिक्षण प्रतिवेदन भन्दै जतिसक्दो छिटो पास गराउन दबाव दिइरहेको तथ्य खुलेको छ ।
राष्ट्रिय बीमा कम्पनीले अर्थमन्त्रालयको पावर लगाउँदै गैर कानुनी रुपमा तयार पारिएको अडिट रिपोर्टलाई पारित गर्न दवाव दिइरहेको छ । अर्थमन्त्रालयले पनि भ्रष्टाचारजन्य कार्य भएको चित्र देखिने वित्तीय बिवरण पास गर्न बीमा प्राधिकरणलाई दवाव दिने कि छानविन गरेर अनियमितता गर्नेलाई कारवाही गर्ने भन्ने निर्णय गर्न असफल भएको छ ।
लेखापरिक्षण प्रतिवेदनमा अनिवार्य समावेश गर्नुपर्ने लङफम रिपोर्ट सभावेश नगरी खोस्टा कागजातहरु मात्रै पेश गरेर जबरजस्ती स्वीकृति गर्न राष्ट्रिय बीमा कम्पनीले प्रयास गरिरहेको भेटिएको छ । यसअघिको दुई वर्षको लेखा परिक्षणको क्रममा ७२ करोडको हिसाब किताब गोलमाल भेटिएको छ ।
२०७३ सालदेखि २०७५ सालसम्मको वित्तीय विवरणमा आर्थिक अनिमितता गरेको कैफियतको भारी भेटिएको बिषयले तनाव उत्पन्न भइरहेको बेला कम्पनीले पछिल्लो पटक पेश गरेको अडिट रिपोर्टमा लङफङ अडिट रिपोर्ट समावेश नगरी वित्तीय विवरण पास गर्न खोजेको देखिएको छ ।
लेखापरीक्षणलाई वित्तीय संस्थाहरुको पारदर्शिताको पहिलो खुड्किलो मानिन्छ । लेखापरीक्षण गराएर साधारणसभाबाट पारित भएपछि मात्र संस्थामा आर्थिक पारदर्शीता देखिन्छ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीलाई अर्थमन्त्रालय चार महिनामा अडिट सकाउन फितलो व्यवस्था गरिदिएसँगै प्राधिकरणको सामान्य मापदण्ड समेत पूरा नगरी अडिटको लागि रिर्पोट पठाउन थालेपछि प्राधिकरणकै कर्मचारी तीन छक पर्न थालेका छन् ।
राष्ट्रिय बीमा कम्पनीले बीमा प्राधिकरणको कुनै पनि निर्देशन नमान्ने र त्यहाँ नेपाल सरकारको मात्रै चल्छ भन्दै उल्टै प्राधिकरणका कर्मचारीहरुलाई थर्काउने प्रवृत्ति छ । यसअघि एक जना कर्मचारीलाई तीन महिनाको तलव नदिएको बिषय बीमा प्राधिकरण पुगेको थियो । सो क्रममा राष्ट्रिय बीमा कम्पनीबाट हुलका हुल उच्च तहकै कर्मचारी प्राधिकरण पुगेर थर्काउने प्रयास गरेका थिए ।
नेपाल बीमा प्राधिकरणमा राष्ट्रिय बीमा कम्पनीको आर्थिक बर्ष २०७८।७९ सम्मको लेखापरिक्षण रिर्पोट पुगेको छ । उक्त लेखापरिक्षण प्रतिवेदनमा लङ फर्म अडिट रिर्पोट समावेश नगरेकोले उक्त बित्तीय विवरण पारित हुनेमा शंका छ ।
बीमा प्राधिकरणका अनुसार लङ फर्म अडिट रिर्पोटमा सामान्यता लेखापरिक्षण फर्म र सदस्यहरुको स्वतन्त्रताको घोषणा, लेखापरिक्षक पालना गरेको लेखापरीक्षण मापदण्ड, लेखापरिक्षणको टोलीको संरचना र अडिट समय तालिका समावेश गरिएको हुनुपर्ने व्यवस्था छ ।
जसमा बीमा प्राधिकरणको ऐन बमोजिम र नेपाल धितोपत्र बोर्डको ऐनहरु पालना नभएको कारण र लेखापरिक्षकले राय दिनुपर्ने व्यवस्था छ । तर, स्वतन्त्र लेखापरिक्षक आफैले राय दिन नसक्ने भनेर लेखेर अडिट गरेको भन्दै हस्ताक्षर गरेको कागजात बीमा प्राधिकरण पुगेको छ । उक्त घटनाले राष्ट्रिय बीमा कम्पनीका अडिटरको समेत पेशा धरापमा पर्ने देखिएको छ ।
उता, बीमा प्राधिकरणले भने राष्ट्रिय बीमा कम्पनीलाई मापदण्ड बमोजिमको लेखापरिक्षण प्रतिवेदन पठाउनु पर्नेमा किन नपठाएको भन्दै पत्र काटेर स्पष्टिकरण सोधेको छ ।