आइएमई ग्रुपले कैलालीको चिसापानीमा केवलकार सहित अत्याधुनिक होटल बनाउने, आजै गरियो शिलान्यास

१३ पुष २०८१, शनिबार १८:२३

काठमाडौं । आईएमई ग्रुपले कैलाली जिल्लाको कर्णाली चिसापानीमा अत्याधुनिक होटल, क्यासिनोसहितको केवलकार बनाउने भएको छ । आज एक बिशेष समारोहका बीचमा परराष्ट्रमन्त्री आरजु देउवाले जालपादेवी केबलकारको शनिबार शिलान्यास गरेकी छिन् ।

परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले लम्की चुहाँ नगरपालिका वडा नं. ३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबलकारको आज आयोजित एक विशेष कार्यक्रम बिच शिलान्यास गरेको ग्रुपले जनाएको छ ।
परराष्ट्र मन्त्री डा. देउवाले आईएमई ग्रुपको केवलकार तथा होटल निर्माण शिलान्याय कार्यक्रममा भनिन्, “सुदूरपश्चिम पर्यटन, संस्कृति, परम्परा र जैविक विविधतामा धनी छ । प्राकृतिक स्रोत एवं सम्पदाहरुले यो भूगोल जति सम्पन्न छ त्यति नै यहाँका नागरिकमा सांस्कृतिक एकता र सद्भाव पनि छ । मुलुकको सुदूरपश्चिम क्षेत्रका समुदायहरु विकासप्रेमी पनि छन् । सुदूरपश्चिम प्रदेशमा बन्ने केबलकार, होटलसहितको भब्य पर्यटकीय पूर्वाधारले सुदूरपश्चिम र मुलुककै समृद्धिका लागि पनि धेरै ठूलो उपलब्धी हुनेछ ।”

कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले नयाँ निर्माण हुने केबलकार तथा होटल तथा क्यासिनोहरुले सुदूरपश्चिम प्रदेशको विकासमा उल्लेखनीय भूमिका खेल्ने बताए ।

उन नेपालको पश्चिम भेगमा भौतिक विकासका पूर्वाधार कम रहेको बताउँदै यस्ता पूर्वाधार विकासमा थप लगानी भित्र्याउन निजी क्षेत्रलाई आग्रह समेत गरे । शिलान्यास कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार कर्णाली चिसापानीमा निर्माण हुने केबलकार र रिसोर्टले शाहसिक, धार्मिक र मनोरञ्जन पर्यटनलाई बढवा दिने बताए ।

जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्र प्रसाद ढकालले पर्यटनले मात्र नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक मुलुकको कायापलट गर्न सम्भव रहेका बताउँदै केवलकारको औचित्यमाथि प्रष्ट पारेका थिए ।
नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष ढकालले भने, ‘पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्यअनुसार पर्यटक भित्र्याउन सकिन्छ । पर्यटकको बसाई लम्बाउन सकिन्छ । थप विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । थप रोजगारी सिर्जना गर्न सकिन्छ । थप राजश्व उठाउन सकिन्छ, र हामीले अपेक्षा गरेको आर्थिक विकास र सम्मृद्धि हासिल गर्न सकिन्छ ।’

अध्यक्ष ढकालले केवलकार पर्यटन सर्किट बनाउने आफ्नो लक्ष्यलाइ जालपादेवी केवलकार निर्माणको शिलान्यासले नयाँ उत्साह थपेको बताए । शिलान्यास र अवको निर्माणमा स्थानीय समुदाय, राजनीतिक दलहरु र नेपाल सरकारका निकायहरुको सहयोग अन्य केवकार निर्माण क्षेत्रका लागि उदाहरण बन्न पुगेको पनि अध्यक्ष ढकालले उल्लेख गरेका छन्।

लम्की चुहाँ नगरपालिका वडा नं. ३ को चिसापानीदेखि मोहन्याल गाउँपालिका वडा नं ७ राजकाँडासम्म पुग्ने ३.१ किलोमिटर लामो केबलकारमा ३४ वटा गोन्डोला हुनेछन् ।

कूल पाँच अर्ब रुपैयाँ लगानी हुने केबलकारको बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, ब्याक्वेट हल निर्माण हुनेछन् भने टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वक, वकिङ ट्रेल, रेष्टुरेन्ट तथा चिल्डे«न पार्कसहित अन्य पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधारहरु निर्माण हुने आर्ईएमई ग्रुपले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*